एजेन्सी । दक्षिण कोरियाले कोरोना भाइरसका कारण देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ । कोरोना संक्रमण थप फैलिन नदिन केही गतिविधिमा देशभरी निषेधाज्ञा जारी गरिएको अधिकारीहरुले जनाएका छन् ।
सरकारले भेला हुन, रात्रिकालिन गतिविधि गर्न, चर्च, खेलकुद तथा अन्य भिडभाड हुने ठाउँका गतिविधिमा रोक लगाइएको छ ।
स्वास्थ्य मन्त्री पार्क नेउङ हुले शनिबारदेखि यस्ता गतिविधिमा देशभरी नै रोक लगाइएको जानकारी दिएका हुन् । दक्षिण कोरियामा कोरोनाको संक्रमण शनिबार थप ३ सय ३२ जनामा देखिएको पनि उनले बताएका छन् । नयाँ थपिएका संक्रमित मध्ये अधिकांश राजधानी सोल महानगरपालिका भित्र नै देखिएको पाइएको छ । दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमितको संख्या पछिल्लो समय थप बढ्दै गएको पाइएको छ ।
संक्रमण राजधानी बाहेक देशका अन्य ठूला सहरमा पनि देखिएको स्वास्थ्य मन्त्री हुले जानकारी दिएका छन् । कतिपय प्रतिवन्धात्मक व्यवस्था भने सरकारले यसअघि पनि लागु गरिसकेको छ । अहिले त्यसमा केही थप प्रतिबन्ध लगाइएको हो । रासस