भारतमा ७४ प्रतिशत कोरोना संक्रमित निको भए

एजेन्सी । भारतका कोरोनाभाइरसबाट संक्रमित भएकाहरुमध्ये ७४ प्रतिशतभन्दा बढी संक्रमणमुक्त भएको पाइएको छ । भारतमा अहिलेसम्म कुल २९ लाखभन्दा बढी संक्रमित भएका छन् । तीमध्ये झण्डै ६७ हजार जना पछिल्लो २४ घण्टामा थपिएका हुन् । कुल संक्रमितमध्ये २१ लाख ५८ हजार ९ सय ४६ जना संक्रमणमुक्त भएका छन् । शुक्रबारसम्मको तथ्यांक अनुसार कुल संक्रमणमुक्त भएकाहरुको अनुपात ७४ प्रतिशत रहेको छ ।

भारतमा कोरोनाबाट संक्रमित भएकामध्ये अहिलेसम्म ५४ हजार ८ सय ७९ जनाको मृत्यु भएको छ । तीमध्ये ९ सय ८३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मृत्यु भएकाहरुको अनुपात १.८९ रहेका बेला संक्रमणमुक्त भएकाहरुको अनुपात भने ७४.३० रहेको छ । भारतमा अहिले ६ लाख ९२ हजार २६ जना संक्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । भारतको चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म ३ करोड ३४ लाख ६७ हजार २ सय ३७ जनाको कोरोना परीक्षण गरिएको छ । रासस

कमेन्टहरु
Loading...