एजेन्सी । महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरसबाट संक्रमित भएका मानिसको संख्या २ करोड २२ लाखभन्दा बढी भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दिएको जानकारी अनुसार विश्वभरीको कुल संक्रमित संख्या २ करोड २२ लाख ५६ हजार २ सय २० पुगेको छ । ती मध्ये २ लाख ६३ हजार ६ सय १ जना पछिल्लो २४ घण्टामा थपिएको पनि स्वास्थ्य संगठनले जनाएको छ ।
सोही अवधिमा अरु ६ हजार ५ सय ५४ जनाको कोरोनाकै कारण मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै अहिलेसम्म विश्वभरी कोरोनाका कारण मृत्यु भएकाको संख्या ७ लाख ८२ हजार ४ सय ५६ पुगेको छ ।
विश्व स्वास्थ्य संगठनले गत मार्च ११ देखि विश्वभरी कोरोना भाइरसको महामारी फैलिएको घोषणा गरेको थियो । भाइरसको संक्रमण फैलिन नदिनका लागि सबैजसो देशले लकडाउन समेतका अनेक उपायहरु अपनाए पनि प्रामाणिक औषधिको अभावमा संक्रमित र मृत्यु भएकाको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गएको छ । रासस