एजेन्सी । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या ७० हजारसम्म पुग्न लागेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ६५२ जना संक्रमित भेटिएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या २८ लाख भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो विवरण अनुसार भारतमा अहिलेसम्म २८ लाख ३६ हजार ९ सय २६ संक्रमित भएका हुन् ।
तीमध्ये ६ लाख ८६ हजार ३ सय ९५ जना अझै पनि संक्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । त्यसैगरी भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ५३ हजार ८ सय ६६ पुगेको छ । तीमध्ये ९ सय ७७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
भारतमा कुल संक्रमितमध्ये २० लाख ९६ हजार ६ सय ६५ जना संक्रमणमुक्त भएका छन् । यो संख्या सन्तोषजनक रहेको अधिकारीहरुले बताएका छन् । प्रदेश अनुसार हेर्दा भारतमा सबैभन्दा धेरै महाराष्ट्र राज्य प्रभावित भएको छ । त्यसपछि तमिलनाडु, कर्नाटक, दिल्ली लगायतका प्रदेशहरु बढी प्रभावित भएका छन् । रासस