धान कृषकलाई मलको चिन्ता, कृषि सामाग्री संस्थान भन्छ, असोजसम्म मल आउँदैन

रिना थापा

पोखरा । यसवर्ष मनसुन छिटै सुरु भयो । पोखराका किसानले रोपाई अलि अगाडि नै गरे । यस बाहेक लकडाउनको सदुपयोग गर्दै बाँझो रहेको जमिनमा पनि खेती लगाए । समयमै पानी परेको र किसानले समयमै धान रोपेकाले यस वर्ष खेती गरेको क्षेत्रफल बढ्यो । जस कारण यस वर्ष धान उत्पादन बढ्छ कि भनेर सबै किसानसँगै कृषि प्राविधिक उत्साही थिए । तर त्यो उत्साह मल अभावले २ महिना पनि टिक्न पाएन । मल पाउन विभिन्न स्थान डुले पनि मल पाउन नसकेको किसानले दुखेसो पोखेका छन् । पोखरा महतगौंडाका किसान प्रेम गिरी यति बेला चिन्तित छन् । उनी गत वर्षमात्र भारतीय आर्मीबाट रिटाएर भएर नेपाल फर्केका थिए ।

यो वर्षदेखि नेपालमै बसेर केही गरौं भन्ने हेतुले उनले १७ रोपनी जग्गामा धान खेती गरे । खर्च गरेर लगाएको बालीमा उत्पादन कम पो हुने हो कि उनको अहिलेको रातदिनको चिन्ता यही छ । ‘कृषि गरौं भनेको पहिलो वर्ष नै मल अभाव व्यहोर्नुप¥यो, यसले प्रोत्साहनभन्दा निराशापन थपेको छ ।’ खेतमा लगाएको बाली निराशापूर्वक हेर्दै उनी भन्छन्, ‘आफ्नै गाउँ–ठाँउ केही गरौं भनेर लागेको तर केही नहुने रहेछ, लगाएको बालीको खर्च नि आउँदैन जस्तो लाग्यो उनी भन्छन् । यतिबेला यो समस्या गिरीको मात्र होइन । कृषिमै निर्भर रहेका कतिपय कृषक यति बेला मल अभावको चिन्ताले दिनरात पिरोलिएका छन् ।

त्यस्तै महतगौंडाका दिपक थापाको खेतमा पनि मनसुनको वर्षातले खेतमा पानी भरियो । उत्साहजनक ढंगले धान रोपे । ११ दिन भयो धान गोडेको । धान गोडेको २ दिनपछि खेतमा युरिया मल छर्नु पर्छ । तर मल अभावले गिरीले हाल्न पाएका छैनन् । मल छर्न नपाएर उत्पादन घट्ने चिन्ताले उनलाई पिरोल्न थालेको छ । गत वर्ष उनले ८ रोपनी खेतबाट २० मुरी धान फलाएका थिए । यो वर्ष रोपेको खेतलाई आवश्यक मल छर्न नपाएर उब्जनी हुन्न भन्ने अनुमान लगाइसकेका छन् ।

‘अरु मल राखेर नहुने यसरी बर्सेनी मलको समस्या भोगिरहनु पर्दा त मलाई सरकार देखेर निराशा लाग्छ ।’ उनी भन्छन्, ‘कृषकलाई प्रोत्साहन गर्ने भनेको सुन्छु, तर सँधै मल अभावको समस्या खेपिरहनुपर्छ ।’

गिरी र थापा जस्तै अन्य कृषलाई पनि यति बेला मलको समस्या छ । उनीहरु दिनहुँ कृषि सहकारी धाउँछन्, कति पोखरा महानगरको कृषि महाशाखामा पुग्छन् । फोन गरेर मल कहिले आउँछ, कहाँ पाइन्छ सोध्छन् । तर, पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडोरियाले अहिले मल आएको छैन, गाईवस्तुको मल प्रयोग गर्नुस् भनेर फर्काउन बाध्य हुन्छन् ।

धानको लागि मल हाल्ने सबैभन्दा महत्वपूर्ण समय यही हो । धान रोप्ने बेलाभन्दा गोड्ने बेला मल अनिवार्य हाल्नुपर्ने हुन्छ । तर मलको अभावले यस वर्षको धान उत्पादनमा नै प्रभाव पार्ने पोखरा महानगरका कृषि प्रमुख कडोरिया बताउँछन् । ‘यो अलिकति क्रिटिकल समय हो, यसबेला धानलाई मल प्रदान गर्न सकिए उब्जनी राम्रो हुन्छ, तर यस वर्षको स्थिति देख्दा उब्जनी घट्छ कि शंका लागेको छ ।’ उनले भने, ‘यसवर्ष मानिसहरुले लकडाउनका कारण बाँझो रहेको जमिनमा खेती गरेका थिए, हामीहरु उत्साहित थियौं उब्जनी बढ्ने भयो भनेर । तर मल अभावले ११ प्रतिशत धान उत्पादनमा असर पु¥याउँछ कि जस्तो छ ।’

पोखरामा मलको विक्री वितरण कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले गर्छ । यी २ संस्थाले मल ल्याएर सहकारीमार्फत् किसानलाई मल विक्री वितरण गरिरहेका छन् । सरकारले मल ल्याउन गत आर्थिक वर्षमा मात्र १० अर्ब रूपैयाँ बजेट छुट्याएका थियो । आगामी वर्षका लागि मल ल्याउन ११ अर्ब रूपैयाँ बजेट छुट्याएको कृषि साम्रागी कम्पनी लिमिटेडका निमत्त प्रमुख मुरली मोहन रेग्मीले जानकारी दिए । ‘अहिलेसम्म आइपुग्ने मल यसपटक लकडाउनका कारण आएन ।’ उनले भने, ‘असोज अघि आउने सम्भावना छैन ।’ कोरोना भाइरसले गर्दा नेपालको मुख्य नाका लगायतका स्थानमा लकडाउन भएकाले मल आउन पाएको छैन । असोजसम्म मल आउने सम्भावना भए पनि त्यो समयमा धेरै ढिलो भएर उब्जनीमा असर गर्ने उनी बताउँछन् ।

कृषि सामाग्री कम्पनी प्रा.लिको प्रादेशिक कार्यालयले कास्की जिल्लामा आ.वा ७५/७६ मा ९ सय ४४ टन युरिया मल, ५ सय २८ टन डिएपी मल र ६१ टन पोटास विक्री गरेको थियो । त्यस्तै ५६/७७ मा १ हजार १ सय २३ टन युरिया मल, ५ सय ४५ टन डिएपी र ५७ टन पोटास मल विक्री गरेको थियो ।
सबैभन्दा बढी विक्री वितरण हुने लेखनाथको सिशुवा रहेको छ ।

पोखरा महानगरभरी ११ हजार २ सय हेक्टर जमिनमा धान खेती गरिन्छ । जसमा करिब १० प्रतिशत बढी जमिनमा यस वर्ष धान रोपिएको छ । यस हिसाबले पोखरामा अघिल्लो वर्षभन्दा बढी मल आवश्यक छ भनेर अनुमान लगाउन सकिन्छ । नेपाल सरकारले यतिबेला ३२ हजार मेट्रिक टन मल ल्याउन लागेको छ ।
नेपालको कुल ग्राहस्थ उत्पादनमा महत्वपूर्ण स्थान ओगटेको धान नेपालीको मुख्य खाद्यान्न हो । उत्पादन घट्दा कुल ग्राहस्थ उत्पादनमै असर पर्छ ।

कमेन्टहरु
Loading...