- ऋषिकान्त पौडेल
चौधौ महाधिवेशनको नेतृत्वका लागि केन्द्रमा कांग्रेस नेताहरुको दावी झल्किरहँदा कास्की कांग्रेसका नेताहरुमासमेत चुनावी रन्को लागेको छ । यसपटक सतहमा नदेखिए पनि मौनरुपमा कास्कीका ‘हेभिवेट’सहित अन्य आकांक्षी लबिङमा लाग्न थालिसकेका छन् । कोभिड १९ का कारण केन्द्रीय निर्वाचन तालिका हेरफेर हुन सक्ने सम्भावना यथावत् छ, तर पनि वडा–वडामा क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण प्रक्रियामा उनीहरुले देखाएको चासोले जिल्लास्तरमा पनि महाधिवेशन र नेतृत्वको आकांक्षा देखिएको हो ।
अघिल्लो अधिवेशनमा कास्कीमा ७ सय १० जना जिल्ला प्रतिनिधि थिए । उनीहरु १२ हजार क्रियाशील सदस्यबाट चुनिएर जिल्लाको नेतृत्वका लागि मतदानमा सहभागी भए । कम प्रतिनिधिभित्र चुनावमा जाँदा जति सजिलो थियो यसपटक भने त्यो अवस्था छैन । कारण कांग्रेसको केन्द्रले नै ५० प्रतिशत क्रियाशील सदस्यता थप्ने र अझै पदाधिकारी बैठकले त शतप्रतिशतसम्म थप्न पाउने गरी निर्णय गरेको छ । परिणामस्वरुप कास्कीमा कम्तीमा १८ हजारदेखि २० हजारसम्म क्रियाशील सदस्य पुग्नेछन् । तीमध्येबाट जिल्ला प्रतिनिधिका रुपमा २ हजारभन्दा बढी कांग्रेस सदस्य चुनिने छन् ।
कांग्रेसको पछिल्लो अवस्था अनुसार जिल्ला प्रतिनिधिका लागि गाउँपालिकाका प्रत्येक वडाबाट कम्तीमा १६ जना र नगरपालिकाका वडाहरुबाट ७६ जनासम्म आउन सक्ने प्रावधान छ । यसरी हेर्दा पनि यसपटकको अधिवेशनमा नगरपालिकाका वडाबाट मात्रै २ हजार जना जिल्ला प्रतिनिधि आउन सक्ने सम्भावना छ । अघिल्ला अधिवेशनमा जिल्ला र क्षेत्रको नेतृत्व लिन चाहनेहरुले क्रियाशील सदस्यता थप्दा र नवीकरण गर्दा आफ्ना मान्छेलाई बढी जोड दिने गरेका थिए । तर यसपटक त्यो सम्भावना नै छैन । किनकी सयौंको संख्यामा थपिने नयाँ सदस्यहरुसँग नेताहरुको पहुँच पुग्नै गा¥हो छ ।
‘ठूलो संख्याको मतादाताकाबीच चुनावी प्रतिस्पर्धामा जादाँ नेतृत्वको दाबेदारहरुलाई अप्ठेरो छ । यसअघि आफु सुरक्षित रुपमा प्रतिनिधि चुनिएर आउन पनि क्रियाशील सदस्यता थप्दा आफ्नालाई ल्याउने परिपाटी बनेको थियो । तर यसपटक त्यो अवस्था रहेन’ कास्की कांग्रेसका एक नेताले गन्थनसँग भने । पहिले राजनीतिक योगदानका आधारमा प्रतिनिधि छानिने परम्परा थियो । तर अहिले समानुपातिक समावेशिताका आधारमा ठूलो संङख्यामा प्रतिनिधि छानिने हुँदा राजनीतिको चुरो नबुझ्नेहरु पनि जिल्ला प्रतिनिधि र नेतृत्वका लागि प्रतिस्पर्धामा आउन सक्ने सम्भावना छ । यदि यस्तो प्रतिनिधिको समूह हावी भएमा पछिल्लो स्थानीय र आमचुनावमा नमिठो पराजय भोगेको कास्की कांग्रेसको नेतृत्व सक्षम र बलियो नहुने खतरा उस्तै रहेको ती नेताले औंल्याए ।
हुनत, बाहिरी रुपमा कास्की कांग्रेसको जिल्ला नेतृत्वका लागि अहिलेसम्म कसैले पनि सार्वजनिक अभिव्यक्ति दिएका छैनन् । विगतमा जस्तो कम्तीमा २ गुटबीच प्रतिस्पर्धा हुन सक्ने सम्भावनालाई कसैले नकार्दैन । तर पनि आन्तरिक रुपमा कास्की कांग्रेसका मजबुत खम्बा मानिएका नेताहरुसँग आफ्नो पक्षमा माहोल मिलाइदिन कसरत गरिरहेको भने बुझिएको छ । कथंकदाचित कोभिड वा कुनै बहानामा आगामी पुष दोस्रो साता हुने जिल्ला अधिवेशन नसारिएमा करिब १ दर्जन जिल्ला नेता नेतृत्वको आकांक्षीका रुपमा देखिनेछन् ।
को को हुन सक्छन् जिल्ला नेतृत्वकाे दाबीमा ?
अघिल्लो निर्वाचनमा दोस्रो पटक नउठ्ने घोषणासहित कांग्रेस कास्कीका शक्तिशाली नेता शुक्रराज शर्मालाई पराजित गरेका वर्तमान सभापति कृष्ण केसीले पुरानो घोषणा उल्ट्याएमा उनी नै फेरी एक पटकलाई जिल्ला सभापतिको बलियो उम्मेदवारका रुपमा देखिने छन् ।
यद्यपि, हालसम्म उनी दोस्रो पटक सभापति उठ्ने की नउठ्ने भन्नेमा मौन छन् । त्यस्तै वर्तमान उपसभापति आइबहादुर गुरुङ, सचिव सुदिपमोहन भट्टराई, देवेन्द्र रानाभाट क्षेत्रीय सभापति पोषनाथ शर्मा, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर, तरुण दलका सभापति मनोज गुरुङ, प्रभावशाली नेता देवराज चालिसे, किशोरदत्त बराल, वीरेन्द्रनारायण बिजुक्छे, पूर्व जिल्ला सभापति शोभियतबहादुर अधिकारी, महिला नेतृ लक्ष्मी पाण्डेय, कोपिला रानाभाट, तारा अधिकारी पनि आगामी नेतृत्वका दाबेदार रहन सक्नेछन् । यीबाहेक कैयौं युवा नेताहरुले पनि जिल्ला नेतृत्वको दावी प्रस्तुत गर्ने छन् ।
त्यस्तै, नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष गुरू बराल र युवा नेता रामबाबु भन्डारीसमेत सभापतिका दाबेदार उम्मेदवार हुन् ।
यस्तै, पत्रकारिताको राजनीतिमा केन्द्रसम्म नेतृत्व हाँकेका पत्रकार गंगाधर पराजुली पनि कास्की कांग्रेसको नेतृत्वको आकांक्षीकारुपमा देखिन सक्ने सम्भावना रहेको कांग्रेसी वृत्तमा चर्चा छ । १२ औं महाधिवेशनमा वर्तमान सभापति कृष्ण केसीसँग सचिव पदमा पराजित पराजुली १३ औं महाधिवेशनमा कृष्ण केसीलाई सघाउँदै कास्की कांग्रेसको राजनीतिमा आफ्नो निरन्तरता देखाएका थिए ।