एजेन्सी । दक्षिण कोरियामा कोरोनाबाट एकैदिनमा मार्च महिनापछि कै सबैभन्दा धेरै संक्रमित भएका छन् । अधिकारीहरुले दिएको जानकारी अनुसार गत मार्चदेखि अहिलेसम्ममा दैनिक संक्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा संक्रमितको संख्या सबैभन्दा धेरै देखिएको छ ।
उनीहरुका अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा २ सय ७९ जना नयाँ संक्रमित भेटिएका छन् । योसँगै दक्षिण कोरियामा कोरोनाबाट संक्रमित भएकाको कुल संख्या १५ हजार ३ सय ८१ पुगेको छ । कोरियाली रोग नियन्त्रण केन्द्रले आइतबार सार्वजनिक गरेको विवरण अनुसार दक्षिण कोरियामा कोरोनाका कारण अहिलेसम्म ३ सय ५ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार गत मार्च ८ मा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै ३ सय ६७ जना संक्रमित भएका थिए ।
कोरोनाबाट संक्रमित भएकाको संख्या बढेकाले दक्षिण कोरियामा उच्च स्वास्थ्य सतर्कता अपनाइएको छ भने कतिपय प्रतिबन्धात्मक व्यवस्था लागु गरिएको छ । पछिल्लो समयमा भेटिएका नयाँ संक्रमितमध्ये २ सय ५३ जना राजधानी सोलका मात्रै रहेको रोग नियन्त्रण केन्द्रले जनाएको छ । संक्रमण फैलिन नदिनका लागि सरकारी तथा स्वास्थ्य अधिकारीहरुले चर्च, नर्सिङ होम, विद्यालय, रेष्टुरेन्टलगायतमा विषेश ध्यान दिएका छन् ।
देशका अन्य मुख्य सहर बुसन, डेगुलगायतमा पनि संक्रमण फैलिएका विवरण आइरहेका छन् । ती ठाउँमा गत फेब्रुअरी र मार्चमा कोरोनाको संक्रमणका केन्द्रविन्दु भएका थिए । जहाँ दैनिक सयौं नयाँ नयाँ संक्रमित भेटिने गरेका थिए । संक्रमितको संख्याका आधारमा दक्षिण कोरियाली सरकारले आम नागरिकका गतिविधिमा कहिले कडाई गर्ने र कहिले खुकुलो पार्ने कार्य गरिरहेको छ । रासस