मध्यरातमा बायर्नले बार्सिलोनालाई ८ गोल ठोक्यो

एजेन्सी

नेपाली समयअनुसार शुक्रबार राती १ बजे सुरु भएको युरोपियन च्याम्पियन्स लीगको क्वार्टरफाइनलमा फुटबलको स्पेनिस महारथी भनेर चिनिएको लियोनेल मेस्सी सम्मिलित टोली बार्सिलोनालाई लिस्बनको मैदानमा जर्मन टोली बायर्न म्युनिखले ८ गोल हानेको छ । यो जीतसँगै बायर्न सेमीफाइनलमा पुगेको छ भने बार्सिलोना लीगबाट बाहिरिएको छ ।

वायर्नले पहिलो र दोस्रो हाफमा समान ४-४ गोल गर्‍यो। जसमा थोमस मुलर र काउन्टिन्होले २-२ गोल गरे। बार्सिलोनाको युरोपियन प्रतियोगिता यो सबैभन्दा खराब प्रदर्शन हो।

वायर्नका लागि खेलको चौथो मिनेटमा थोमस मुलरले पहिलो गोल गरे। तर सातौं मिनेटमा वायर्नका अलाबाले आफ्नै पोस्टमा गोल गरेपछि बार्सिलोनालाई फाइदा पुग्यो।

२१ मिनेटमा पेरिसिकले वायर्नका लागि दोस्रो गोल गरे। २७ मिनेटमा जिनर्बिले तेस्रो गोल गर्दा मुलरले ३१ मिनेटमा चौथो गोल गरेका थिए। पहिलो हाफमा ४-१ ले पछि परेको बार्सिलोनाका लागि लुइस सुआरेजले ५७ मिनेटमा गोल गरे। त्यसपछि खेल ४-२ को अवस्थामा आयो।

तर त्यसको ६ मिनेटपछि वायर्नले पाँचौ गोल गर्‍यो। उसका लागि किमिचले ६३ मिनेटमा पाँचौ गोल गरे। वायर्न यतिमै रोकिएन। लेवान्डोस्कीले ८२ मिनेटमा छैटौ गोल गरे।

अन्तिम पाँच मिनेट बाँकी छँदा बार्सिलोनाबाट वायर्नमा लोनमा रहेका फिलिप काउटिन्होले दुई गोल गरे। काउटिन्होले ८५ र ८९ मिनेटमा गरी दुई गोल गरेपछि वायर्नले बार्सिलोनाको पोस्टमा ८ गोल छिरायो।

अब वायर्नले सेमिफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब लियोनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

कमेन्टहरु
Loading...