पोखरा ,२४ साउन | राष्ट्रिय सहकारी बैंक लिमिटेडको पोखरा शाखाले उपत्यका बाहिरका शाखाहरु मध्ये सबै भन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७६÷०७७ को कारोबार अन्तर्गत पोखरा शाखाले उपत्यका बाहिरका शाखाहरु मध्ये सबै भन्दा धेरै मुनाफा आर्जन गरेको हो ।
शाखाले आर्थिक वर्ष २०७६÷०७७ मा ४ करोड ३५ लाख ३ हजार ७ सय ११ रुपैया मुनाफा आर्जन गरेको छ ।
राष्ट्रिय सहकारी बैंक पोखरा शाखाले शुक्रवार आयोजना गरेको वार्षिक समिक्षा वैठकमा शाखा प्रमुख सन्तोष घिमिरेले आउट अफ भ्यालीका शाखा मध्ये पोखरा शाखाले सबै भन्दा बढी मुनाफा आर्जन गरेको जानकारी गराउनु भएको हो ।
पोखरा शाखामा गत आर्थिक वर्षको अन्त्यसम्म ३ सय २५ वटा संस्था शेयर सदस्य रहेका छन् । सदस्य संस्थाहरुको १३ करोड ८९ लाख ६ हजार शेयर रकम, २ अर्ब ३१ करोड ९१ लाख ३ हजार ४ सय ५१ निक्षेप र ९५ करोड ७८ लाख ९९ हजार ३ सय २२ रुपैया कर्जा लगानी रहेको शाखा प्रमुख घिमिरेले जानकारी दिनुभयो ।
देशभरका शाखा मध्ये पोखरा शाखा छैठौ स्थानमा रहेको छ । बैंकको ललितपुरस्थित लगनखेल शाखाले सबै भन्दा बढी १४ करोड ९५ लाख ५१ हजार मुनाफा कमाएको छ । काठमाडौंको न्यूरोड शाखाले ९ करोड ६७ लाख ६९ हजार, नयाँ बानेश्वर शाखाले ७ करोड ४० लाख ८ हजार, गोगंवु शाखाले ६ करोड ३६ लाख ५ हजार र ललितपुरको कुपण्डोलस्थित मुख्य शाखा कार्यालयले ५ करोड ३७ लाख ५८ हजार मुनाफा आर्जन गरेको बैंकले जनाएको छ ।