भारतमा एकैदिनमा ६१ हजार ५ सयभन्दा बढी संक्रमित

एजेन्सी ।

भारतमा कोरोना भाइरसबाट एकैदिनमा ६१ हजार ५ सय भन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार ५ सय ३७ जना कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।

त्यसैगरी सोही अवधिमा मात्रै कोरोनाका कारण ९ सय ३३ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै शनिबारसम्ममा भारतमा कुल संक्रमितको संख्या २० लाख ८८ हजार ६ सय १२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

त्यसैगरी भारतमा कोरोना भाइरसका कारण मृत्यु भएकाको कुल संख्या ४२ हजार ५ सय १८ पुगेको पनि मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयले भारतमा अहिले पनि ६ लाख १९ हजार ८८ जना संक्रमित अवस्थामै रहेको स्पष्ट पारेको छ । त्यसैगरी १४ लाख २७ हजार ६ जनालाई भने निको भइसकेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित रहेको महाराष्ट्र प्रदेशमा अहिलेसम्म १ लाख ४५ हजार ८ सय ८९ जना अहिले पनि संक्रमित छन् । त्यहाँ कुल संक्रमित मध्ये ३ लाख २७ हजार २८१ जना संक्रमणमुक्त भइसकेका छन् । महाराष्ट्रमा मात्रै कोरोनाका कारण अहिलेसम्म १७ हजार ९२ जनाको मृत्यु भएको छ । रासस

कमेन्टहरु
Loading...