तनहुँ ।
तनहुँको भिमाद नगरपालिका ९ स्थित पाथार्दी बोर जातको बाख्रापालनको क्षेत्रको रुपमा विकास हुँदै गएको छ । उक्त क्षेत्रमा रहेका ६० घरपरिवारले व्यावसायिकरुपमा बाख्रापालन गर्न थालेपछि सो क्षेत्र बाख्रापालनको केन्द्र बन्दै गएको हो । विसं २०७० मा नेपाल सरकारले पाथार्दी बोर बाख्रा स्रोत केन्द्र बनाउने योजना अनुरुप कृषकलाई खोरगोठको नमूना, समूह गठन, पाथार्दीबोर बाख्रा स्रोत विकास केन्द्र नामकरण गरेर उत्प्रेरणा गराउनुको साथै प्राविधिक सहयोग गरेको थियो ।
त्यसैगरी विसं २०७१ मा हेफर इन्टरनेशलन र नेपाल एकीकृत ग्रामीण विकास केन्द्रले खोर निर्माण गर्ने, महिलालाई संगठित गर्ने आन्तरिक पूँजी परिचालन गर्न सिकाउने, व्यक्तित्व विकास गर्ने र पशु व्यवस्थापन लगायतका कार्य गर्न थालेपछि यहाँका कृषक आकर्षित भएर लागेका हुन् । विश्व खाद्य सुरक्षा परियोजनाले उक्त केन्द्रलाई जमेको वीर्य प्रदान गरेपछि बाख्रा अनुसन्धान केन्द्र बन्दीपुरको प्राविधिक सहयोगमा बाख्रामा कृत्रिम गर्भाधान गराएको पाथार्दी बोर बाख्रा स्रोत केन्द्रका अध्यक्ष खेमबहादुर थापाले जानकारी दिएका छन् । ‘म आफूले पनि ४० वटा बाख्रा पालेको छु ।’ उनले भने, ‘वार्षिक १० देखि ११ लाखसम्म सजिलै कमाउन सकिएको छ ।’
उक्त गाउँमा सुरुमा विसं २०६८ देखि बोर बाख्रा पाल्न सुरु गरेका शिवकुमार आलेले वार्षिक लाखौं कमाइ गर्दै आएका छन् । उनले अष्टे«लिया र अफ्रिकाबाट ल्याएर बाख्रा पाल्न सुरुआत गरेपछि स्थानीयवासीले समेत चासो देखाएका हुन् । उनको खोरमा अहिले ७० भन्दा बढी बाख्रा छन् । बाख्रामा कति प्रतिशत बोर क्रस भएको छ सोअनुरुप मूल्य निर्धारण गरी बिक्री गर्ने गरिएको छ ।
बाख्रा ब्याउनु अघिदेखि नै पाठापाठीको लागि कृषक भन्न आउँछन् । उनले भने, ‘करिब ३ महिना पालेपछि छुट्टाएर बिक्री गर्ने गरिन्छ ।’ ३ महिनाको पाठापाठीको तौल २५ देखि ३० किलोग्रामसम्म हुन्छ । स्थानीय जातका बाख्रा पाल्दा १ वर्षको अवधिमा त्यति छिटो बढ्दैनन् । उनले भने, ‘छिटो बढ्ने कारणले पनि बोर जातका बाख्रा मासुको लागि राम्रो मानिन थालेको छ ।’
व्यावसायिकरुपमा बाख्रा पाल्न थालेपछि स्थानीयवासी आत्मनिर्भर बन्दै गएका छन् । उक्त क्षेत्रबाट वार्षिक करिब २ करोड बराबरको खसी बोका बिक्री हुने गरेको बताइएको छ । बाख्रापालन क्षेत्रमा सामुदायिकस्तरमा यति धेरै समुदायलाई एकमुष्ट आर्थिक क्षेत्रमा समावेश गराएको नेपालकै नमूना भएको दाबी गरिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रको पहलमा ७ वटा बोका अष्टे«लियाबाट ल्याएर शतप्रतिशत अनुदानमा त्यसक्षेत्रका कृषकलाई प्रदान गर्न लागिएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिएका छन् । जिल्लाको भिमाद नगरपालिकाको पाथार्दी र भानु नगरपालिकाको बरभञ्ज्याङ गरी २ स्थानमा बोर जातको बाख्रापालन हुँदै आएको छ ।
बोर बोका नश्ल सुधारको लागि प्रदान गरिँदै आए पनि पछिल्लो समय मासुको लागि प्रभावकारी बन्दै गएको उनले बताए । भिमादको पाथार्दीमा बाख्रा विकास कार्यक्रम अन्तर्गत छुट्टै बच्चा उत्पादन गर्ने योजना रहेको छ । बाख्रामा कति प्रतिशत क्रस भएको छ त्यसको अनुसन्धान गर्दै लैजाने लक्ष्य रहेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँले जनाएको छ ।
पाथार्दी बोर बाख्रा स्रोत केन्द्र स्थापना गरेपछि त्यस केन्द्रमा आबद्ध ६० जना बाख्रापालन कृषकले बाख्रापालन गर्दा नाफा घाटा आ–आफ्नै ब्योर्होने गरी व्यवस्था गरेका छन् । बाख्राको खोर व्यवस्थापनदेखि उपचारसम्म स्वयंले खर्च गर्ने गरिएको छ ।
नश्ल सुधार तथा पाठापाठी सङ्कलन कार्यमा भने सामूहिकरुपमा गर्ने गरिएको बताइएको छ । उक्त क्षेत्रमा बाख्रापालन कृषकले खुसियाली कोष स्थापना गरेका छन् । प्रत्येक कृषकले बाख्राले पाठापाठी पाएमा ५ का दरले र खसीबोका बिक्री हुँदा प्रतिकिलो १० का दरले खुसियाली कोषमा जम्मा गर्ने गरिएको छ । यसरी जम्मा गरिएको रकम व्यक्तिगत खातामा जम्मा हुने पाथार्दी बोर बाख्रा स्रोत केन्द्रका सदस्य एवं सिर्जनशील बाख्रा फार्मका अध्यक्ष शिवकुमार आलेले जानकारी दिएका छन् । रासस