लकडाउनपछिको नेपाली सिनेमा क्षेत्र

सुशन घिमिरे 
कोरोना महामारीले संकटमा परेको नेपाली फिल्म क्षेत्रलाई कसरी उठाउन सकिन्छ भन्ने बहसले सिनेमा  क्षेत्र तातिरहेको छ । सरकारले निश्चित मापदण्ड बनाएर हल संचालनमा ल्याउनुपर्ने धेरैको मत छ । तर हल तत्काल खोल्ने गरि मापदण्ड ल्याउने तयारीमा सरकार देखिदैन ।

मिडटाउन सिनेमाज् पोखराका संचालक उत्तम द्धा सरकारले निश्चित मापदण्ड बनाएर हल खोल्न प्रयास गर्नुपर्ने बताउछन् । ३० देखी ४० प्रतिशत अकुपेन्सी सम्म हल खोल्न सकिने उनको भनाइ छ ।
लामो समयसम्म हल बन्द हुँदा फिल्म क्षेत्र सकंटको अवस्थामा पुग्ने देखिन्छ । फिल्म हलमा चलाउँदा निर्माताहरु आफ्नो लगानी सुरक्षाको ग्यारेन्टी खोजिरहेका छन् । हल खुलेपनी फिल्म दिने कि नदिने वा कसरी दिने भन्ने बारे बहस अझ चर्कन सक्ने देखिन्छ । हल संचालक खुलिहालेपनि दर्शक आउँछन् भन्ने कुरामा विश्वस्त हुन सकिरहेका छैनन् । न त फिल्मकर्मी नै विश्वस्त छन् ।

निर्मात्री तथा नायिका रेखा थापा साधारणतया मानिसको दैनिकी नै पहिलो प्राथमिकता बन्ने हुँदा तत्काल मनोरन्जनको क्षेत्र दर्शकहरुको रोजाइमा पर्दैन की भन्ने तर्क गर्छिन् ।
‘अहिले मानिसको दिमाग दैनिकी कसरी चलाउने भन्नेमा केन्द्रित छ यो समय लम्बिन पनि सक्छ यसकारण तत्काल मनोरन्जनलाई मानिसहरुले प्राथमिकतामा नराख्न सक्छन् , राखेपनि कोलाहल भन्दा एकान्त वा घरमै बसेर मनोरन्जन लिने अवस्था बन्छ सक्छ ’ रेखा भन्छिन् ।

रेखा यति बेला शारीरिक फिटनेसमा व्यस्त छिन् । उनि कोरोना महामारी पछिको नेपाली फिल्मको अवस्था कस्तो हुन्छ भन्ने पर्खिएर मात्रै नयाँ प्रोजेक्ट बारे सोच्ने बताउँछिन् ।

‘फिल्म छायांकन गरेर पनि कहाँ ल्याउने , म तयारी गरेर बस्छु तत्काल केही सोच छैन , अवस्था सहज भएपछि भने केही नयाँ पक्कै गर्नेछु’, रेखा भन्छिन् ।

आफु हल खुलेर पहिलेको जस्तै हलमा दर्शक आउने वातावरणको पर्खाइमा रहेको बताउँछिन् ।

‘हामीलाई यो स्थानमा पुर्याउने दर्शक हुन् । नेताले चुनावमा भोट पाएर जिते जस्तै हामीलाई हलसम्म पुगेर टिकट काटेर यो स्थानमा दर्शकले पुर्याएका हुन् । अबको पुस्ताले त्यो अबसर पाउँछ कि पाउँदैन भन्ने हो ’,उनि भन्छिन् ।

त्यसो त डिजिटल प्लाटफर्ममा दर्शकहरुको संख्या तुलनात्मक रुपमा बढ्दै गएको देखिन्छ । यद्यपी यसको संख्या उति ठूलो छैन । लकडाउनमै समयमा थुप्रै कलाकर्मीहरुले डिजिटल प्लाटफर्मको लागी कसरत गरिरहेका छन् ।
अब डिजिटल प्लाटफर्मका कारण प्रविधीमा पनि फरकपन आउन सक्न रेखाको अनुमान छ ।

‘मनोविज्ञान फेरिदैं छ, एकान्तमा बसेर मनोरन्जन लिनेकोे संख्या बढ्दैछ यसकारण पनि डिजिटल प्लाटफर्म अबको प्राथमिकता बन्न सक्नेपनि सम्भावना पनि उत्तिकै छ’उनि भन्छिन् ।

लकडाउन कै समयमा पनि सिरिजको छायांकन गरिरहेका निर्देशक घनश्याम लामिछाने अबको समय डिजिटल प्लाटफर्म रहेको बताउँछन् ।

‘इच्छाले होइन अवस्थाले डिजिटल प्लाटफर्ममा जानुपर्ने बनायो’,उनि भन्छन् ।

दर्शकको संख्या त्यती ठूलो नभएपनि विस्तारै थुप्रै फिल्मकर्मीहरुले डिजिटल प्लाटफर्म मार्फत अगाडी बढ्ने सम्भवना उनले देखेका छन् ।

प्रज्ञा जोशीको निर्माणमा फ्यामिली ड्रामा सिरिज आधा खुशीको निर्देशनमा लामिछाने व्यस्त छन् ।

‘हेर्दै जानुहोला कोरोना महामारीपछि थुप्रै कलाकार,निर्देशकहरुले डिजिटल प्लाटफर्मबाट आफुलाई दर्शकमाझ पुर्याउने छन्’,उनले भने ।

ठूला फिल्महरु वनिहालेपनि ठूलो लगानीमा बन्न सक्ने सम्भवना नरहेको उनि बताउँछन् ।

‘हलमा चल्ने फिल्मको संख्या न्युन रहन्छ , लगानीपनि ठूलो रहंदैन्’, लामिछाने भन्छन् ।

पुराना निर्देशक शोभित बस्नेत भने कोरोना पछिको एक वर्ष फिल्म क्षेत्र शुन्य रहने बताउँछन् । डिजिटल फिल्म बनाउनेहरुकै कारण फिल्म क्षेत्र डुब्ने उनको भनाइ छ ।

‘पहिलो कुरा देखाउने कहाँ , दोस्रो कुरा यति धेरै फिल्म बन्दैछन् कि यसले नै नेपाली फिल्म लाइनलाई सखाफ पार्छ’,उनले भने ।

शोभित डिजिटल फिल्मका लगानीकर्ताहरु कै लगानी सुरक्षीत नभएको तर्क गर्छन् ।

‘५० साल तिर बनेका भिडियो फिल्म र अहिलको बनिरहेका डिजिटल सिरिज , फिल्महरु अवस्था एउटै हो’। बस्नेत त्यो बेलालार्ई सम्झदैं भन्छन् ।

२०५० सालतिर भिडियो फिल्म बन्ने ट्रेण्ड नै चलेको थियो । त्यसबेला भिडियो फिल्म देखाउने ठाउँ भृकुटीमण्डम थियो ।

देखाउने ठाउँको कमी , दर्शकको पहुँचमा कमी रहेकै कारण पनि डिजिटल प्लाटफर्ममा बनेका फिल्म ,सिरिजहरु डुब्ने उनको तर्क छ ।

लकडाउन कै बिचमा घरमै एक करोडको लगानीमा फिल्म स्टुडियो बनाएका उनी तत्काल फिल्म बनाउने मुडमा छैनन् ।

‘फिल्म बनाएर के गर्नु ? काम नै छैन , म कुल खानदान भन्ने सिरियल मै व्यस्त छु त्यसलाई नै निरन्तरता दिन्छु अरु सोच्दिन’,बस्नेत भन्छन् ।

डिजिटल प्लाटफर्मबाट विश्वभर नेपाली कलालाई फैलाउन सकिने भएतापनि त्यो त्यती सहज देखिदैन । विश्व बजारसंग कडा प्रतिस्पर्धा गर्नुपर्ने चुनौती फिल्मकर्मीे माझ छ । कति नेपाली दर्शक अहिले डिजिटल प्लाटर्फम भित्र छन् भन्ने यकिन तथ्यांक छैन । डिजिटल प्लाटफर्ममा अनेकौं रोजाइका बीचमा नेपाली कन्टेन्ट रोजाइमा पर्न सक्नुपर्ने चुनौती पनि उत्तिकै छ ।

कमेन्टहरु
Loading...