रेमिट्यान्स परिवारको पिडा महिलाको

प्रकटकुमार शिशिर 

दुखी भयो जिन्दगी विदेशै जानाले
छोरी अपाङ भयो सासुको पिटाइ खानाले
सुनसरीको भरुल गाविसको वडा नं. ३ मा पुग्दा शोभा घिमिरे हातमा अपाङगता भएकी बच्चा समातेर करेसाबारीमा गीत गाइरहेकी थिइन् । पुरानो कच्ची घर, वरिपरी मानवबस्ती पनि कम रहेको गाउँमा शोभा ४ बर्षमा पाइला टेकेकी बच्चासँग मात्र बस्छिन् ।

byapar-ghataचार बर्षअघि बैदेशिक रोजगारीको लागी साउदी अरब र कुवेत पुगेकी शोभा यतिखेर आफन्त र समाजबाट नै टाढा छिन् । कुवेतमा बलात्करको शिकार भएकी शोभालाई त्यसपछि आफन्त र समाजले दुरदुर गर्न थालेका हुन् । घरायसी सल्लाहले पहिला साउदी अरब पुगेकी उनले पैसा कमाउन थालेपछि घरमा सबैको वाहवाही पाएकी थिइन् । श्रीमान् पनि बैदेशिक रोजगारीमा रहेकाले सासुको सल्लाहले विदेशमा काम गर्न गएकी उनी जब नेपाल आएर पुन कुवेत पुगिन त्यहाँ बलात्करमा परिन् ।

बलात्कारबाट गर्भवती भएकी शोभाले आफ्नो घटना श्रीमान र सासुससुरालाई भनिन कतारमा रहेका श्रीमानले केही हुन्न तिमी नआत्तिए म त्यहाँ आएको र गर्भवती भएको भनौला भनेपछि ढुक्क भएर नेपाल फर्किएकी उनी यतिखेर श्रीमान्ले पनि छाडेको र सासुले पनि स्विकार नगरेको अवस्थामा छिन् । विदेश जानुअघिको उनको पहिलो छोरा श्रीमानले नै राखेका छन् । अहिले उनी कुवेतमा गर्भवती भएपछि जन्मेर अपाङता भएकी ४ बर्षिया छोरी रोजिनासग बस्छिन् । सम्पतीबाट पनि बञ्चित रहेकी शोभा कानुनी लडाइमा छिन् ।

बैदेशिक रोजगारीमा जाने पुरुषको संख्यासँगै महिलाहरुको संख्या पनि बढ्दै गएको छ । विभिन्न मुलुकमा आकर्षक तलब र महिला कामदारको मागले नेपाली महिला कामदारको पहँुच विभिन्न मुलुकमा बढ्दै गएको छ । महिला कामदारले पनि रेमिट्यान्सको हिस्सामा ठूलो योगदान पुराइरहेका छन् । तर, अझै पनि विदेशमा काम गर्न जाने महिलालाई सम्मानजनक आँखाले हेरेको पाइदैन । झन शोभाको जस्तो घटना भएपछि आफन्तबाट नै हेपिन बाध्य हुनुपर्छ । जब कमाएर घर व्यवहार चलाउँछन त्यतिखेर सबैको वाहवाही हुन्छ तर कुनै घटना हुँदा एक्लै हुन्छन् ।

नेपाली महिला कामदार । बैदेशिक रोजगारी महिलाको लागि चुनौती र जोखिम रहेको यूएन वुमनकी कार्यक्रम विज्ञ सरु जोशी श्रेष्ठ बताउँछिन् । भनिन ‘सरकारले विदेशमा रहने र फर्केका महिला कामदारका विषयमा ठोस नीति नै बनाएको छैन, उनीहरुले पठाएको रेमिट्यान्सले कुल रेमिट्यान्समा योगदानको हिस्सा बढाएको छ तर उनीहरुको चुनौती र जोखिम न्यूनिकरणका लागि पहलकदमी भूमिका निर्वाह भएको जस्तो देखिदैन । ’  विदेशमा महिला कामदार तुलनात्मक रुपमा जोखिममा नै हुन्छन् कामको कारण र व्यक्तिगत सुरक्षाको कारण पनि ।remantes

केही महिना अघि कतारको दोहास्थित नेपाली दुतावासको परिसरमा भेटिएकी चितवनकी गितादेवी पण्डित पनि कामको जोखिमकै कारण काम गर्ने ठाउँ छोडी दुतावासको शरणमा आइपुगेकी थिइन् । काम गर्ने ठाउँमा बढि काम लगाउने र समयमा तलब नदिएपछि उनी भागेर दुतावास आएकी हुन् । पण्डित भन्छिन्, ‘नेपाली महिला कामदार खाडी मुलुकमा आउने सपना पनि नदेखे हुन्छ, सामान्य घरव्यवहार चलाउनका लागि नेपाल नै ठिक छ ।’ उनले भनिन् । हुन पनि खाडी मुलुक पुरुष कामदारका लागि पनि उस्तै जोखिम र चुनौती रहेको छ ।

खाडी मुलुकमा काम गर्ने अधिकाँश कामदार सन्तुष्ट छैनन् । बाध्य भएर आफ्नो पौरख र परिश्रम पोखेका छन् । त्यही ठाउँमा महिलाको अवस्था सन्तोषजनक हुने कुरै भएन । बैदेशिक रोजगार विभागका अनुसार खाडी मुलुकमा मात्र ६० हजार महिला कामदार छन् । कतारको दोहामा काम गर्ने चितवनकी शोभा खाती परियारले कतारमा फिलिपिन्सलगायत अन्य मुलुकका महिला कामदारको भन्दा नेपाली महिला कामदारको तलब ज्यादै न्यून रहेको बताउँछिन् । ‘यहाँ आएपछिको कतिपय सुरक्षा हाम्रै हुन्छ तर सरकारले पहल गरेर अरु देश बराबरको तलब समान त गराउन सक्छ नि ।’ उनले भनिन् ।

जति चुनौती र जोखिम भएपनि मध्यपूर्वका कुवेत, युएर्य, जोर्डन, बहराइन, ओमन, कतार, साउदी अरब महिला कामदारका लागि आकर्षक गन्तव्य नै देखिन्छन् । सधै बहस र छलफल हुने मध्यपूर्वका देशमा चुनौती र अवसर दुबै भएपनि थोरैले अवसरको लाभ लिएको पाइन्छ भने धेरैले चुनौती भोगिरहेका छन् । ६ महिनाअघि मात्र अन्र्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को प्रतिवेदनले नेपाललगायतका विभिन्न देशका कामदारहरुले मानव तस्करको ट्रिक्ड र ट्रयाप्ड मा धेरैले पीडा भोगिरहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । ”ट्«िक्ड एन्ड ट्रयाप्ड ह्युमन ट्राफिकिङ इन द मिडिल इस्ट” नामक सो प्रतिवेदनमा महिला कामदारलाई खाडी मुलुकमा जबर्जस्ती काम लगाइने गरेको उल्लेख छ ।

नेपाल, बंगलादेश, इथोपिया, श्रीलंका, फिलिपिन्स, केन्या, क्यामरुन, मादागास्कर, सेनेगल लगायतका देशको ३ सय ५४ आप्रवासी कामदारसँग सोधिएको प्रश्नमा २ सय ६६ जनाले आफुहरुलाई जबर्जस्ती काममा लगाउने गरेको बताएका थिए । त्यस्तै नक्कली करारपत्र दिने, सिमित मात्र स्वतन्त्रता दिने गरेको, तलब समयमा नदिने, परिपत्र बनाउँदा समस्या हुने गरेको पनि बताएका छन् । आइएलओको प्रतिवेदनअनुसार मध्यपूर्वमा ६ लाख आप्रवासी कामदारलाई जबर्जस्ती काममा लगाइएको छ । घरेलु कामदार र मनोरञ्जन क्षेत्रमा काम गर्न महिला कामदार यौनहिंसामा समेत पर्ने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार मध्यपूर्वमा कार्यरत घरेलु महिला कामदारमाथि मनोवैज्ञानिक, भौतिक र यौन गरी तीनथरी हिंसा हुने गरेको छ ।

बैदेशिक रोजगारीमा जाने महिला नेपालबाट नै जाँदा धेरै कुरा बुझेर जानुपर्ने अंगुलिया काम गरेर फर्किएकी काठमाडौं महाराजगञ्जकी सिता रुपाकोटी बताउँछिन् । जानुअघि त्यो देश कस्तो हो ? कुन देशमा आफु जाँदा राम्रो हुन्छ ? तलब, सम्झौता पत्र सबै हेरेर र बुझेर जानुपर्ने उनको सुझाव छ । अंगुलियामा पहिलो नेपाली महिला कामदारको रुपमा प्रवेश गरेकी रुपाकोटी भन्छिन्, बैदेशिक रोजगार महिलाका लागि चुनौती र जोखिम छ मात्र भनियो भने नेपाली महिला कामदारको आत्मविश्वास कहिल्यै बढ्दैन । काम गर्नका लागि त जोखिम र चुनौती नेपालमा पनि छ तर विदेशमा जाँदा अझ बढि बुझ्नुपर्ने बताउँछिन् ।

श्रमविज्ञ डा. गणेश गुरुङ । भन्छन्, ‘कामदारको सुरक्षाको विषयमा धेरै पटक सवाल उठिरहेका छन् झन महिला कामदारले पाउने गरेको पीडा र सास्ती बढी छ, यो विषयमा समस्या पहिल्याउँदै काम गर्नुपर्ने हुन्छ, नत्र बहसमा मात्र सिमित हुन्छ ।’ बैदेशकि रोजगारीमा जाने महिलामा पछिल्लो पटक आत्मविश्वास बढेको छ, नेपालमा सिमित रुपमा बसेका महिलाले एकैचोटी विदेशमा पुगेर धेरै कुरा सिकेका पनि छन्, काम पनि गरेका छन र कमाएका पनि छन् तर सोही अनुसार उनीहरुको सुरक्षा र चुनौती पनि सम्बोधन गर्ने सकियो भने राम्रो हुन्छ ।
सञ्चारिका फिचरसेवा पश्चिमाञ्चल
(प्रकट नागरीक राष्ट्रिय दैनिकमा आवद्ध छन्) तस्वीर ः गुगल

कमेन्टहरु
Loading...