स्याङजामा कोरोनाः जुवाडे, प्रहरी कार्यालय हुँदै समुदायमा !

रिना थापा, स्याङजा

यही साउन ४ गते स्याङजा पुतलीबजार नगरपालिका १३ लाम्पाटामा म्यारिज खेलिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय स्याङजाको टोलीले ६ जनालाई नियन्त्रणमा लिई हिरासत कक्षमा थुन्यो । उनीहरुलाई ३ दिनपछि अर्थात् ७ गते कानुनी प्रक्रिया पु¥याई जनही ५ हजार जरिवानासहित प्रहरीले थुनामुक्त ग¥यो । उनीहरुलाई घरमै क्वारेन्टाइनमा बस्नसमेत प्रहरीले निर्देशन दिएको थियो । तर थुनामुक्त भएपछि उनीहरुले पार्टी आयोजना गरी रमाइलो गरे । उक्त पार्टीमा करिब २५ जना सहभागी थिए ।

यतिबेलासम्म स्याङजा प्रहरीका ३ जनामा कोरोना पुष्टी भइसकेको थियो । जुवाडेहरु थुनामा भएकाबेला उनीहरुसँगै बाल विवाहमा मुद्दामा ल्याइएका ४ जना पनि थिए । यसपछि थुनामुक्त जुवाडेहरुको परीक्षण गर्दा १ जनामा संक्रमण भेटियो । लगत्तै उनको परिवारमा परीक्षण गर्दा थप ४ संक्रमित भेटिए । उनीहरुको सम्पर्कमा आएका ३ जनामासमेत परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको छ ।

उनीहरुलाई क्वारेन्टाइनमा बस्न भनिए पनि वडामा क्वारेन्टाइनस्थन नहुँदा घरमै बस्न आग्रह गरियो । तर, उनीहरु घरमा छुट्टै बस्नुको साटो गाउँ चाहर्दै हिँडेको स्थानीय बताउँछन् । विश्वस्त स्रोतकाअनुसार वडा अध्यक्षले थुनामुक्त उनीहरुलाई क्वारेन्टाइनमा राख्न वा उनीहरुलाई निगरानी गर्नेसम्बन्धी कुनै पनि चासो देखाएका थिएनन् । केही स्थानीयले वडामा कोराेना संक्रमण देखिनु उनै जुवाडे र वडाध्यक्षको लापरवाही रहेको सुनाए । यता, वडा अध्यक्ष ख्यामनारायण अधिकारी भने उनीहरुलाई क्वारेन्टाइनमै राखिएको तर भागेर हिँडेको दाबी गर्दै आएका छन् । ‘म गैरजिम्मेवार हुने वा मैले लापरवाही गर्ने भन्ने कुरै आउँदैन’ उनले भने ‘क्वारेन्टाइनमा नबस्ने, पार्टी गर्दै, गाउँ चाहार्दै हिँड्ने गर्दा यस्तो समस्या आएको हो ।’

कानूनतः संक्रामक राेग एेन २०२० का अनुसार यस्ताे गतिविधिमा लाग्नेलाइ १ महिना कैद र नगद जरिवानासमेतकाे कारवाही व्यवस्था गरिएकाे छ ।

प्रहरीहरु संक्रमित भेटिएकोबारे जिज्ञासा गर्दा स्याङजा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले समुदायबाट प्रहरी कार्यालयमा कोरोना आइपुगेको हुनसक्ने बताए । उनले भने, ‘हाम्रो टिम कोरोना रोकथामसम्बन्धी सूचना दिन समुदायमा गइरहनु पर्ने भएकाले उतैबाट सरेको हुनसक्ने अनुमान गरेका छौं ।’ प्रवक्ता अधिकारीले प्रहरी कार्यालयमा आउने सेवाग्राही र बाढी पहिरोलगायतको विपद्मा खटिनुपर्दा कोरोना संक्रमण प्रहरीमा सरेको हुनसक्ने उल्लेख गरे । यद्यपि, उक्त जुवाडेहरु र अन्य थुनुवामा कोरोना परीक्षण नगरिएको सन्दर्भमा अधिकारीले यसको जिम्मा जिल्ला प्रशासन कार्यालयले लिनुपर्ने टिप्पणी गरे । यस्तो प्रकृतिको मुद्दा प्रशासनले हेर्ने भन्दै उनले प्रहरीले परीक्षण गर्ने/गराउनेबारे चासो नलिएको बताए ।

जिल्ला स्वास्थ्य शाखाका सूचना अधिकारी विष्णुप्रसाद सु्वेदीले स्याङजामा कोरोना समुदायमा फैलन थालेको पुष्टी गर्दै भने, लकडाउन खुला गरेपछि स्थानीयले लापरवाही गरेका छन् । सामाजिक दूरी कायम नगर्ने, मास्कको उचित प्रयोग नर्गे र स्वास्थ्यमा ध्यान नदिने प्रमुख कमजोरी रहेको उनले उल्लेख गरे ।

जिल्लामा संक्रमण फैलिन थालेपछि जिल्ला प्रशासनले साउन १४ देखि २३ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । हालसम्म स्याङजामा कोरोना संक्रमितको कूल संख्या २ सय ७२ पुगेको छ । जसमध्ये जिल्ला प्रहरी कार्यालयमा मात्रै ३८ जनामा संक्रमण देखिएको छ । हाल आइसोलेशनमा ७४ जना छन् भने १ सय ३६ जना क्वारेन्टाइनमा छन् । त्यस्तै, २ जनाको मृत्यु भएको छ ।

कमेन्टहरु
Loading...