एजेन्सी ।
लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटनमा परी १ सय भन्दा बढीको ज्यान गएको छ । करिब २ हजार ७ सय ५० टन ‘एमोनियम नाइटे«ट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको १ गोदाम घरमा भएको यस विस्फोटमा परी ४ हजार भन्दा बढी घाइते भएका छन् । यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइटे«ट’ भण्डारण गरिएको थियो । सो विस्फोट निकै टाढासम्म सुुनिएको यहाँका स्थानीयवासीले जनाएका छन् । अहिले पनि सो विस्फोटपछि धुवाँ उडेका तस्बिर यहाँका सञ्चारमाध्यमले दिइरहेका छन् ।
ती तस्बिर हेर्दा अवस्था निकै क्षतविक्षत देखिएको छ । विस्फोटपछिका अनलाइनमा राखिएका भिडिओमा धुवाँको विशाल मुस्लो देखिएको छ र यहाँ धेरै क्षति भएका भौतिक संरचनाको अवस्था पनि देखिएको छ । त्यस गोदाममा कुनै बाह्य आक्रमण भएका कारण यो विस्फोट भयो कि आफैं विस्फोट हुन पुगेको हो भन्ने कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ ।
लेबनानका गृहमन्त्री मोहम्मद फाहमीले सो गोदाममा राखिएको एमोनियम नाइट्रेट राखिएकाले त्यो विस्फोट शक्तिशाली हुन पुगेको र यसले ठूलो क्षति पुर्याएको बताएका छन् । लेबनानका प्रधानमन्त्री हासान डीयाबले यस विस्फोटलाई देशको ठूलो विपत्ति भएको बताएका छन् । उनले यस विषयको अनुसन्धान सुरु भइसकेको र दोषीलाई जबाफदेही बनाइनुपर्ने बताएका छन् । उनले १ टेलिभिजनमा सम्बोधन गर्दै यस घटनामा संलग्नलाई कडा कारबाही गरिने र उनीहरुलाई उम्किन नदिइने समेत प्रतिवद्धता गरेका छन् ।
गोदाममा राखिएको एमोनियम नाइट्रेटको अवस्था बारेमा जाँचबुझ गरी ५ महिना अघि नै लेबनान सरकारलाई प्रतिबेदन बुझाइएको पनि संचारमाध्यमले जनाएका छन् । प्रतिबेदनमा एमोनियम नाइट्रेटको भण्डारमा सुरक्षा सतर्कता अति जरुरी रहेको औंल्याइएको थियो ।
सो विस्फोटप्रति राष्ट्रपति ट्रम्पसहित विश्वका नेताद्वारा दुःख व्यक्त
लेबनानमा भएको विस्फोटबाट कैयौं नागरिकको ज्यान गएको घटनाको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गरेका छन् । उनले सो घटनालाई १ डरलाग्दो घटना भनेका छन् । ह्वाइट हाउसमा आयोजना गरिएको प्रेस भेटघाटमा सम्वाददातासँग उनले सो कुरा बताएका हुन् । त्यसैगरी अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसस् र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि उक्त विस्फोटप्रति दुःख व्यक्त गरेका छन् । उनीहरुले यस्तो अवस्थामा जेजस्तो प्रकारको सहयोग गर्नु परे पनि आफूहरु तयार रहेको जानकारी लेबनान सरकारलाई गराएका छन् । रासस