जापानमा कोरोना संक्रमितको संख्यामा निरन्तर वृद्धि

पोखरा, साउन १८ ।

जापानमा कोभिड–१९ संक्रमितको संख्या पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३० ले वृद्धि भएको स्वास्थ्य मन्त्रालय तथा स्थानीय प्रशासनद्वारा उपलब्ध गराइएको तथ्यांकमा उल्लेख छ ।

जापानमा पछिल्लो ५ दिनदेखि संक्रमितको संख्या १ हजारभन्दा बढी रहँदै आएको छ । यद्यपि शुक्रबारभन्दा आइतबार संक्रमितको संख्यामा कमी देखिएको सरकारी अधिकारीहरूले बताएका छन् ।

जापानले सुरूमा कोरोना संक्रमितको संख्या नियन्त्रण गर्न सफल भएको देखिएको भएपनि दोस्रो श्रृंखलामा संक्रमितको संख्या ह्वात्तै बढेको छ । जापानको सबैभन्दा बढी प्रभावित शहर राजधानी टोकियोमा अहिलेसम्म संक्रमितको संख्या १३ हजार ४ सय ५५ पुगेको छ भने ओसाका, फुकुओका, कानागावा लगायतका स्थानमा संक्रमण बढिरहेको अधिकारीले जनाएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार जापानमा संक्रमितमध्ये २६ हजार ५ सय ६५ जना निको भई घर फर्किएका छन् । त्यस्तै संक्रमणको कारण गम्भीर स्वास्थ्य समस्या भएका विरामीको संख्या मात्रै ८३ रहेको बताइएको छ ।

जापान संक्रमितको उपचारमा सफल देखिएको तथ्यांकले देखाउँछ । तर पछिल्ला दिनमा संक्रमितको संख्या बढ्न थालेपछि बढी संक्रमण देखिएका स्थानमा नियन्त्रणका उपाय स्थानीय स्तरमा नै गरिएको तर देशभर लकडाउन वा अन्य कठिन प्रतिवन्धात्मक उपायको अवलम्बन नगरिएको सरकारले बताएको छ ।

सरकारले अति आवश्यक बाहेक नागरिकलाई अनावश्यक हिँडडुल नगर्न आग्रह गरेको छ । रासस

कमेन्टहरु
Loading...