हतारको काम लतारः फेवा सिरानको सिल्टेसन ड्याम भत्कियो

पाेखरा, १५ साउनः पोखरा महानगरपालिका २३ स्थित ठूलाखेत अंधेरीखोलामा बनाइएको सिल्टेशन ड्याम हस्तान्तरणपूर्वनै भत्किएको छ । करिब डेढ महिनाअघि निर्माण सम्पन्न भएको ड्याम उद्घाटन गर्ने तयारीमा रहेकाबेला अविरल वर्षाकाकारण बढेको भेलपानीले क्षतिग्रस्त भएको छ ।

पिके जेभी कन्स्ट्रक्सनले ठेक्का पाएर बनाएको ड्याम सम्पन्न हुनुपर्ने समय अझै ५ महिना बाँकी छ । वर्षाको भेलले ड्यामको पर्खाल र ढुंगा भरेको जाली बगाएको छ ।

स्थानीयवासी भरतराज भण्डारीले हतारमा काम सम्पन्न गर्दा ड्याममा क्षति पुगेको हुनसक्ने बताएका छन् । उनले भने, ‘वर्षाको समयमा काम हतारमा गरिएको थियो, यसबेला काम रोक्न गरिएको आग्रहलाई लत्याउँदा यस्तो परिणाम देखिएको हो ।’

निर्माणमा क्षेत्रमा व्यस्त रहने कन्स्ट्रक्सले एकैपटक विभिन्न क्षेत्रमा काम गरिरहेको छ । यसबारे प्रतिक्रिया माग्दा कन्स्ट्रक्सनका प्रोपाइटर प्रकास जिसीले निर्माण सम्पन्न गरी बुझाउन अझै केही समय बाँकी रहेकाले अवस्था हेरी मर्मत वा पुनर्निर्माण गर्ने जानकारी दिए । उक्त ठेक्का पिकेले ९ करोड ६ लाख रुपैयाँमा हात पारेको हो ।

पोखरा नगरक्षेत्रमा रहेका ४ वटा खोलामा सिल्टेसन ड्याम बनाउने ठेक्का पिकेले पाएको छ । महानगरसँग भएको सम्झौतामा पिकेले निर्माणअवधिभित्र भएको क्षतिको पुनर्निर्माणको जिम्मासमेत लिएको छ । सोही अनुरुप मर्मतसम्भार सुरु गरेको प्रोपाइटर जिसीले बताए ।

कमेन्टहरु
Loading...