पोखरा, साउन १४ ।
रिना थापा
समुदायमा कोरोनाको संक्रमण देखिन थालेको भन्दै अत्यावश्यक सेवाबाहेक स्याङ्जा जिल्ला बन्द गरिएको छ । पुतलीबजार नगरपालिकामा संक्रमितको संख्या बढेपछि जिल्ला बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिएका छन् । मंगलबार कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले १० दिनका लागि जिल्ला बन्द गर्ने निर्णय गरेको क्षेत्रीले बताए ।
अत्यावश्यक काम परिहाले सामाजिक, भौतिक दूरी कायम राख्नुपर्ने, मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने र एक स्थानमा ५ जनाभन्दा बढी भेला नहुन सूचित गराइएको छ । ‘बिना काम डुल्नेलाई कारवाही गरिहाल्छौं ।’ उनले भने । यदि अनावश्यक रुपमा हिडेको पाइए नियन्त्रणमा लिएर कारवाही गर्ने उनको भनाइ छ ।
स्याङ्जामा हालसम्म २ सय ५९ जना कोरोना संक्रमित छन् । जसमध्ये १ सय ९१ जना निको भएर घर फर्किसकेका छन् । अहिले जिल्लामा ५६ जना कोरोना संक्रमितको एक्टिभ केस छ । जिल्ला २ सय १ जना क्वारेन्टिनमा रहेको जिल्ला स्वास्थ्य महाशाखाका सुचना अधिकार विष्णु प्रसाद सुवेदीले जानकारी दिएका छन् ।
यस्तै जिल्लामा बुधबार बिहान पनि १ जना प्रहरीमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित प्रहरी कर्मचारीको संख्या ३८ पुगेको छ । उनीहरु सबैलाई कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको छ ।
यसरी जिल्ला भित्र मात्र एकैपटक सुरक्षाकर्मीलाई कोरोना संक्रमित भएपछि जिल्लामा शान्ति सुरक्षामा असर परेकाले सुरक्षा व्यवस्थापनको लागि प्रहरीका साथै नेपाली सेना र शशस्त्र प्रहरी बललाई जिल्लामा परिचालन गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवत्ता राजेन्द्र अधिकारीले बताएका छन् । ‘सिल नै भनेर जिल्ला सिल भएको छैन, यसको अर्को अर्थ पनि लाग्छ ।’ उनले भने, ‘हामी आवश्यक बाहेक अन्य काममा हिडेका छैनौ । सुरक्षाको हिसाबले कार्यालय भित्र रहेका कर्मचारी बाहिर सञ्चार सम्पर्क मार्फत सुरक्षा हेरिरहेका छौं ।’
शान्ति सुरक्षा कायम राख्न इमेलमार्फत् वा मातहतका अन्य प्रहरी कार्यालयमा उजुरी दिन सर्वसाधारणलाई आग्रह गरेको पनि उनले जानकारी दिए । ‘राजमार्गको सुरक्षाका लागि वालिङ, गल्याङ, फेदीखोला र सेतीदोभान प्रहरी कार्यालयलाई जिम्मेवारी दिएका छौं ।’ उनले भने । अन्य स्थान तथा भित्री युनिटको सुरक्षाका लागि नजिकका प्रहरी कार्यालयले नै समस्या समाधान गर्ने गरी परिचालन गरेको उनले बताए ।
स्याङ्जामा हाल ३१ प्रहरी युनिट छ । स्याङ्जामा थप सजगता तथा सतर्कता अपनाउन अत्यावश्यक बाहेक जिल्ला बन्दको घोषणा गरेको जनाउँदै अत्यावश्यकबाहेकका बस्तु र सेवा प्रवाह नगर्न नगराउन प्रजिअ क्षेत्रीको आग्रह गरेका छन् । जिल्ला सुरक्षा समितिको बैठकले पनि योभन्दा अगाडि जारी गरेको निशेधाज्ञा अर्को आदेश नभएसम्म यथावत राख्ने निर्णय गरेको छ । स्याङ्जाका उपचारका क्रममा २ कोरोना संक्रमितको यस अघि मृत्यु भएको छ ।