पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ६२ प्रतिशत काम सकियो

पोखरा, १३ साउन ।

रिना थापा ।

राष्ट्रिय गौरवको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको ६२ प्रतिशत काम सकिएको छ । सन् २०२१ जुलाई १० मा निर्माण कार्य सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता छ । विमानस्थलको आयोजना सम्पन्न हुन १ वर्ष समय बाँकी रहँदा आधाभन्दा बढी काम पूरा भएको हो ।

कोभिड १९ का कारण सरकारले लागू गरेको लकडाउनले विमानस्थल निमार्ण कार्य सुस्त बनेको थियो । तर निर्माणाधिन विमानस्थलको काम लकडाउन अन्त्यपछि धमाधम चलिरहेको छ । चिनियाँ निर्माण कम्पनी सिएमसिईले चीनको एक्जिम बैंकको करिब २२ अर्ब ऋणमा २०७४ असारदेखि निर्माण कार्य सुरु गरेको थियो ।

हालसम्म २ हजार ५ सय मिटर लामो धावनमार्ग (रनवे), आन्तरिक र बाह्य टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल भवनलगायतको काम सकिएको छ । विमानस्थलको विभिन्न १४ भवनको स्टिकचरको काम सबै सम्पन्न भइसकेको छ भने फिनिसिङको काम भने बाँकी छ । त्यसैगरी आइसोलेटेड पार्किङ, कार पार्किङ, ह्याङगर, एर्पोनको काम सम्पन्न भइसकेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीले बताए ।

त्यस्तै राजमार्गदेखि ट्रमिनल भवनसम्मको पहुँच मार्ग लगायतको काम सकिएको छ । ड्रेनेजको काम ९० प्रतिशतको हाराहारीमा सकिएको छ भने मार्बल कटान गर्ने काम ९८ प्रतिशत सकिएको मुनकर्मीले जानकारी दिएका छन् । कोरोना महामारीका बेला समेत सुरक्षात्मक उपाय अपनाउँदै विमानस्थलमा निमार्ण कार्य भइरहेको थियो ।

विमानस्थलमा कार्यरत कर्मचारी र मजदुर बाहिरी सम्पर्कमा नआइ विगत साढे ४ महिनादेखि भित्रै रहेर काम गरिरहेका छन् । तर कोरोना रोकथामका लागि गरिएको लकडाउनले निमार्ण कार्यमा असर पु¥याएको आयोजना प्रमुख मुनकर्मी बताउँछन् । ‘सरकारको पोर्टकल फलो गरेर काम गरिरहेका छौं, चाइनिज वा बाहिरबाट कामदार आउँदा पहिले चिकित्सकसँग सम्पर्कमा राखेर मात्र काम गर्न दिन्छौं । यहाँ बाहिरबाट आफैं लक भएर बसेकाले बाहिर सम्पर्कमा बसेका छैनौं । काम भने रोक्ने अवस्था छैन ।’

कोरोनाको त्रासले नेपालमा विमानस्थल र नाका बन्द भयो । लकडाउनले निर्माण सामाग्री ढुवानीमा पारेको समस्याले सामाग्री अभाव हुँदा भने जस्तो निर्माण कार्य हुन सकेको छैन । उनले भने, ‘हामीसँग पहिलेको केही स्टक सामान बाँकी थियो, त्यसैले काम गरिरह्यौं ।’  लकडाउन अघि निर्माणको गतिलाई प्रभाव पारे पनि लकडाउन खुकुलो भएसँगै निमार्णले तिव्रता पाएपछि तोकेको समयमा विमानस्थल हस्तान्तरण गर्नेमा मुनकर्मी विश्वस्त छन् ।

विमानस्थलको कामलाई गतिमा लैजान व्यवसायीलाई कामदारको संख्यामा वृद्धि गर्न र सामान ल्याउने व्यवस्था मिलाउन आग्रह गरिएको मुनकर्मीले जानकारी दिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा हाल नेपाली कामदारको संख्या १ सय छ भने चाइनाका २ सय ४४ कामदार खटिएका छन् ।

मुनकर्मीका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा न्यारोबडी जहाजमात्र अवतरण गर्न सक्ने छन् । विमानस्थलमा १ सय ६० सिट देखि १ सय ९० सिट सम्मका हवाइजहाज मात्र अवतरण गर्न सक्ने उनले बताए । अध्ययनअनुसार एयरबक्स ३ सय १९, एयरबक्स ३ सय २०, बोइङ ७ सय ५७ लगायतका जहाज अवतरण हुन सक्छन् ।

नेपालकै गौरवको आयोजनाका रुपमा परिचित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल धेरै पोखरेलीको भविष्य र सपनासंग जोडिएको छ । निर्माण भएका आयोजना अस्तव्यस्त हुने अवस्थाको सिकार पोखरा विमानस्थल पनि बन्छकी भन्ने धेरैको आशंका थियो । तर त्यी सबैलाई चिर्दै कोरोनाको महामारीबीच पनि तोकिएकै समय विमानस्थलको निर्माण सम्पन्न हुने आशा देखिएपछि धेरै पोखरेलीमा खुसी छाएको छ ।

कमेन्टहरु
Loading...