गण्डकी प्रदेशमा बाढी पहिरो : उद्धार र राहतमा व्यवस्थापन प्रभावकारी बन्न सकेन

गण्डकी प्रदेशका म्याग्दी , लमजुङ, कास्की लगायतका जिल्लामा पहिरोको कारण जनधनको क्षती भएको छ ।

कास्की पोखरा महानगरपालिका वडा नं.१८ सराङकोट स्थित गोठादीमा वर्ष ५० वर्षीय टंक बहादुर थापाको घर पहिरोले पुरिदाँ उनिसहीत ५ जनाको मृत्यु भएको थियो । यस्तै कास्की माछापुछ्रे गाउँपालिका वडानं ८ खोरामुखमा प्रेमराज बि.क.को घर पुरिदाँ ३ जनाको मृत्यु भयो । पोखरा मनपा २६ पैतेडाँडामा पहिरोले घर पुरिदा स्थानीय दुर्गाबहादुर सुनारको मृत्यु भयो । पोखरा मनपा वडा नं २५ मा ७० वर्षीय बृद्धको पहिरोले घर पुरिदाँ मृत्यु भएको छ । पोखरा मनपा वडा नं १७ छोरेपाटनको सिमुलटुडा मा ६० वर्षीय चन्द्रबहादुर घर पनि पहिरोले पुरिदा चन्द्रबहादुरसहित उनका श्रीमती शान्ति मगर र छोरा सुशान मगर घाइते भए ।

लमजुङ मर्सयाङ्दी गाउँपालिका वडा नं ३ का पल्लाटारीको पहिरोमा परि ८ जना घाइते भएका थिए । ८० घरका ४ सय जना विस्थापित भएका छन । १८ घर पुरै नष्ट भएको छ भने ६२ घरहरु अहिले बसोबास गर्न लायकको छैन । त्यस्तै खहरे खोलामा पहिरो कारण ३ जना घाइते भएका थिए ।

विस्थापित हरुलाई नजिकैको सामुदायिक भवन र विधालयमा अस्थायीरुपमा बस्नको व्यवस्था गरिएको गाउँपालिकका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो । स्थायी रुपमा पुनःस्थापनाको लागि उपयुक्त जग्गाको खोजी कार्य भइरहेको गुरुङको भनाई छ ।

म्याग्दीमा बाढि पहिरोमा परि ३१ जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् । जिल्ला प्रशासन कार्यालयसँग जिल्लाका सबै स्थानिय तहमा कति पीडित् भए क्षती कति भयो भन्ने तथ्यांक छैन । न त लैंगिक विवरण नै छ ।

म्याग्दीमा गएको पहिरोबाट पिडीतहरुको उद्धारका लागी कुनै पनि निकायले प्रभावकारी भुमिका निर्वाह गर्न सकेनन् । पहिरो पिडीतका लागि सङ्कलित राहत सामग्री सदरमुकाम बेनीमा थन्किएको थियो ।  पहिरो गएको एक हप्तासम्म पनि पर्याप्त राहत सामग्री ढुवानी हुन नसक्दा पहिरो पीडितको दैनिकी कष्टकर बन्न पुगेको थियो ।  पिडीतहरुले समयमा उद्धार र राहतको व्यवस्थापन हुन नसकेको गुनासो गरेका छन् । पहिरो पिडीतहरुलाई राखिएको अस्थायी शिविरमा खाद्यान्न, लत्ताकपडा, सरसफाइ र खानेपानीको अभावका कारण अवस्था दयनिय बनेको छ । पहिरोबाट पीडितको तथ्याङ्क सङ्कलन, वर्गीकरण र बसोबास व्यवस्थापनमा ढिलाइ भएको छ ।

स्थानिय सरकारहरुमा उद्धार र राहतका लागि आवश्यक स्रोत र साधनको अभावले तत्कालै व्यबस्थापनमा समस्या देखिएको छ । जिम्मेवारी धेरै तर स्रोत र साधनको अभाव हुदाँ काम गर्न नसकिएको गुनासो स्थानिय प्रतिनिधीको छ।

साउन ५ गते गण्डकी प्रदेश सभामा बोल्दै कास्की क्षेत्रनं १(१) सांसद दीपक कोइरालाले बाढी पहिरोबाट हुने स-साना समस्या र क्षतिमा तत्कालै राहत र व्यबस्थापन गर्न नसकिएको भन्दै प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा कम्तिमा २५ लाखको कोष स्थापनाको माग गरेका थिए ।

थोरै रकम खर्च गरेर ठुलो धनजन जोगाउन सकिने ठाउँमा पनि सरकारबाट काम हुन नसकेको उनको भनाई थियो।

कमेन्टहरु
Loading...