पोखरामा तरकारी सस्तियो

पोखरा, २२ जेठ / पोखरामा मंगलबार गोलभेंडाको मूल्य प्रतिकिलो १५० रुपैयाँ थियो । बुधबार त्यो मूल्य ६० रुपैयाँमा झरेको छ । त्यस्तै प्रतिकिलो एक सय रुपैयाँको सिमीको मूल्य घटेर ६० र घिरौंलाको मूल्य १२० बाट घटेर ५० रुपैयाँ कायम भएको छ।

त्यसैगरी किलोको १३० रुपैयाँ रहेको बोडी ८० मा झरेको छ । प्रतिकिलो एक सय रुपैयाँ रहेको भिन्डी र काउलीको मूल्य ६० रुपैयाँमा झरेको छ । आजको नागरिक दैनिकमा पोखराबाट सन्तोष पोखरेलले समाचार लेखेका छन् ।

तरकारीमा बिचौलिया कतिसम्म हाबी हुन्छन् भन्ने पोखरामा दुई दिन (मंगलबार र बुधबार) को मूल्यसूची हेरे थाहा हुन्छ । कोरोना महामारीबीच केही व्यवसायीले एकाधिकार कायम गर्दा आकाशिएको तरकारीको मूल्य खुलमखुला ओसारपसार गर्न दिनासाथ आधा सस्तो भएको छ ।
व्यापारीको मनोमानीमा आकाशिएको तरकारीको भाउ बजारमा सहज आपूर्ति सुरु हुनासाथ एकाएक आधामा झरेको हो ।

दुई दिनको अन्तरमा तरकारीको मूल्य आधा सस्तिएपछि उपभोक्ताले राहत महसुस गरेका छन् । विभिन्न जिल्लाबाट भित्रिएका तरकारीबाट कोरोना संक्रमण फैलिने भन्दै केही व्यवसायी, स्थानीय बासिन्दा र स्थानीय तहका पदाधिकारीले ओसारपसारमा रोक लगाएका थिए ।

मनलाग्दी तरिकाले भाउ बढाउने मनसायले यहाँका केही व्यवसायी नै बाहिरबाट तरकारी ल्याउन नदिन अग्रसर भएका थिए। बाहिरबाट ल्याउन नदिने र आफूसँगको तरकारी महंगोमा बेच्ने योजना ती व्यवसायीले बनाएका थिए । त्यहीबेला स्थानीय तहले पनि बाहिरी उत्पादन भित्रायाउन रोक लगाउँदा ती व्यवसायीलाई मूल्य बढाउन झनै सहज भएको थियो। स्थानीय उत्पादन पनि महंगोमा बेच्ने गरिएको थियो ।

उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइराला भन्छन्, ‘मूल्यवृद्धि र कालोबजारी रोक्नुुपर्नेमा कोरोना महामारीका बेला झनै बढाउने वातावरण सिर्जना गरिएको थियो। सबैतिरको दबाबमा अहिले एकाधिकार रोकिएको छ।’ उनका अनुसार केही व्यवसायीको मिलोमतोमा तरकारीको भाउ एकाएक बढाइएको हो ।

‘कोरोना संक्रमण फैलिने त्रास देखाएर व्यवसायी आफैंले बाहिरबाट तरकारी ल्याउन हुँदैन भनेर आयात रोक्न लगाए । बाहिरबाट आयात नभएको मौका पारेर स्टक तरकारी महंगोमा बेचे,’ उनले भने, ‘आफ्नो स्टक सकिएपछि बल्ल बाहिरबाट आयात गर्नुपर्छ भनेर उनै व्यवसायी कुर्लन थाले।’ त्यस्ता व्यवसायीकोे एकाधिकार कायम गर्ने योजनामा स्थानीय तहले पनि साथ दिँदा मूल्य बढाउन सहज भएको उनले बताए ।

व्यवसायीले मात्र तरकारी आयात रोकेनन्, पोखरा महानगरपालिकाले पनि बाहिरबाट आयातमा रोक लगायो। त्यसले गर्दा केही व्यवसायीलाई तरकारीको मूल्य बढाउन झनै सहज भएको कोइरालाले बताए। संक्रमणको त्रास बढेको भन्दै छिमेकी जिल्लामा उत्पादित वस्तुसमेत भित्रियाउन रोक लगाइएको थियो । भित्रिएको तरकारी पनि खोसेर खाडलमा पुरिएको थियो।

ठाउँठाउँमा तरकारी पुर्न थालेपछि व्यापक आलोचना भयो। पोखरा महानगरपालिकाले पनि बाहिरबाट तरकारी आयात गर्न रोक लगाएको थियो। महानगरले लगाएको रोक अहिले खुला गरेको छ ।
महानगरपालिकाले रोक लगाएपछि पोखरा–१५ का वडा पदाधिकारीकै रोहवरमा तरकारी गाडिएको थियो। त्यस्तै तनहुँको शुक्लागण्डकी दुलेगौंडामा पनि व्यवसायीको तरकारी खोसेर पुरिएको थियो।

तरकारी व्यवसायी बिचौलिया हाबी बन्दा मूल्य आकाशिएको बताउँछन्। ‘पछिल्लो दुई दिनमा तरकारीको मूल्य आधा सस्तो भएको छ,’ तरकारीका थोक तथा खुद्रा व्यापारी दीपक श्रेष्ठ भन्छन्, ‘सबैतिरबाट आयात हुनासाथ मूल्य एकाएक घटेको छ। मंगलबारसम्म महंगो रहेको तरकारी बुधबार सस्तो भइसक्यो।’ श्रेष्ठका अनुसार धादिङ, चितवन, मकवानपु र तनहुँको तरकारी किसानकै बारीमा रोकिएको थियो। किसानको खेतबारीमा तरकारी कुहिने अवस्थाम पुग्न थालेको थियो ।

कमेन्टहरु
Loading...