पोखरा, २१ चैत / गण्डकी प्रदेशबाट कोरोना भाइरस (कोभिड–१९) का ५६ जनाको नमुना संकलन भएको छ । अहिले सम्म ५६ नमुना संकलन गरीएकोमा ४३ वटाको रिर्पोट आएको छ ।
जसमा ४१ जनाको नेगेटिभ, २ को पोजेटिभ आएको छ भने १३ जनाको रिर्पोट आउन बाँकी छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबै भन्दा बढि कास्कीमा २६ जनाको नुमना संकलन भएको छ ।
मनाङ, मुस्ताङ र नवलपुरमा अहिले सम्म कुनै संकास्पद नभेटिए पछि नमुना संकलन गर्न नपरेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए ।
अहिले सम्म बागलुङका १४ जना, स्याङजाका ५ जना, पर्वत र लम्जुङका ४/४ जना, तनहुँ, गोरखा, म्याग्दीका एक/एक जनाको स्वाब परीक्षणका गरिएको छ । पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पछिल्लो दिनमा नमुना परीक्षण र उपचारका लागि विरामीहरु आउन थालेका छन् ।
पोजेटिभ दुई जना नै बागलुङका रहेका छन् । उनीहरुको धौलागिरी अञ्चल अस्पतालको आइसोलेजनमा उपचार भईरहेको छ । उनीहरु बेल्जियमबाट ४ चैतमा कतारको दोहा हुँदै काठमाडौं पोखरा हुदै बागलुङ पुगेका थिए ।
कतार एयरको त्यही फ्लाइटमा आएकी काठमाडौंकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि उनीहरुको पनि नमुना परीक्षण गरिएको थियो, जसमा पोजेटिभ रिपोर्ट आएको थियो ।