पोखरा, ३० फागुन / राष्ट्रिय वाणिज्य बैंकले इम्पावरमेन्ट एकेडेमीको चौथो चरणको कार्यक्रम शुरु गरेको छ ।
बैंकिङ क्षेत्रमा प्रबेश गर्ने चाहने युवालाई लक्षित गरी एकेडेमीले चौथो चरणको कार्यक्रम शुरु गरेको नायव प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद लम्सालले शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको लम्सालले बताए । प्रदेश १ र ३ यो कार्यक्रम सम्पन्न भइसकेको छ । चौथौ चरणको कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशमा इम्पावरमेन्ट एकेडेमीमार्फत युवालाई लक्षित गरी कार्यक्रम गर्न लागिएको लम्सालले जानकारी दिए ।
बैंकिङ करिअरमा आउन चाहने युवाहरुलाई ३ दिनका लागि तालिम सञ्चालन गरिनेछ ।
स्नातक उत्तीर्ण गरेका तथा स्नातक अन्तिम वर्ष अध्ययन गरेर वषेका म्यानेजमेन्टका विद्यार्थीले इम्पावरमेन्ट एकेडेमीमा सहभागी हुन आवेदन दिन सक्नेछन् । आवेदन दिनेहरु २८ वर्ष ननाघेको हुनुपर्नेछ । शुक्रबार साँझबाटै आवेदन खुल्ला रहने लम्सालले जानकारी दिए । ‘१० दिनभित्र आवेदन दिइसक्नुपर्नेछ,’ उनले भने ।
आवेदन पश्चात ५० जना छनोट गरी चैत १३ देखि १५ गतेसम्म पोखरामा तालिम सञ्चालन गरिने राष्ट्रिय वाणिज्य बैंकका गण्डकी प्रदेश प्रमुख ऋषिराम ढकालले जानकारी दिए । निःशुल्क आवेदन दिन सक्ने गरी वित्तीय क्षेत्रमा रोजगारी पाउन तिन दिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ्ग विषयगत तयारी कक्षा २०७६ चैत्र १४ देखि चैत्र १६ गते सम्म पोखरामा संचालन गर्ने उनले बताए ।
‘बैंकिङ करियरमा आउन चाहनेहरुलाई इम्पावर एकेडेमी कार्यक्रम बढी प्रभावकारी हुनेछ,’ उनले भने । ‘तालिम पश्चात २ महिनाको पेड इन्र्टसिपको सुविधा पनि उपलब्ध छ,’ उनले भने । यही कार्यक्रमलाई बैंकले वीरगञ्जमा आगामी साता सञ्चालन गर्नेछ ।
बैंकको अफिसियल वेबसाईट http://www.rbb.com.np मा लग इन गरी वा बैंकको फेसबुक पेजबाट विस्तृत जानकारी प्राप्त गर्न सकिने उनले बताए ।