बुधबारदेखि पोखरामा एट ए साईड भेट्रान्स फुटवल सुरु

उद्घाटन खेलमा आयोजक बगर भाई खलकको विजयी सुरुआत

पोखरा, १६, असोज /बगर भाई खलक पोखराको आयोजनामा बुधबारदेखि पोखरामा तेश्रो एस.ओ.एस. ग्रुप बगर भाई खलक एट ए साईड फुटवल प्रतियोगिता सुरु भएको छ । आयोजक बगर भाईखलक एको समुहले उद्घाटन खेलमा विजयी सुरुआत गरेको हो । पुरानो टुडिखेल मैदानमा भएको उद्घाटन खेलमा आयोजकले हेमजा भेट्रान्सलाई ४–१ को गोल अन्तरले पराजित गर्यो । आयोजकको जितमा सन्तोस गुरुङ, बाबुराम पौडेल, कुमार गुरुङ र नारायण गुरुङले एक÷एक गोल गरे । हेमजाको तर्फबाट माधवशरण पौडेलले शान्त्वना एक गोल गरे । आयोजकका कुमार गुरुङ खेलमा म्यान अफ दी म्याच घोषित भए ।

म्यान अफ दी म्याच घोषित आनन्द रन्जितको ह्याट्रिकको मद्धतले दोश्रो खेलमा ईन्द्रेणी एकिकृत विकास केन्द्रले सामुदायिक सेवा केन्द्र बैदामलाई ५–० को अन्तरले पराजित गरेको छ । इन्द्रेणीको तर्फबाट टेण्डुप लामा र राजकुमार गुरुङले एक÷एक गोल गरेका हुन । विहिबार ४ खेल हुने भएको सदस्य चन्द्र गुरुङले बताए ।

असोज १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन लक्ष्मी ग्रुपका अध्यक्ष एवम उद्योगपति गणेशबहादुर श्रेष्ठले रेफ्रि शुसिल केसीलाई वल हस्तान्तरण गरी गरेका हुन । कार्यक्रममा बोल्दै श्रेष्ठले पर्यटकीय नगरी पोखराका खेलकुदका धेरै गतिविधिहरु भईरहेकोले यसलाई अझ व्यवसायीकरण गर्न लक्ष्मी ग्रुपको उत्पादन सफल दुधले सफल पोखरा कपलाई प्रायोजन गर्दै आएको बताए । पोखराको खेलकुदको संरक्षण गर्न सके आर्थिक उन्नती हुने दाबी गरेका श्रेष्ठले व्यवसायीहरुले खेलकुदमा समेत सक्दो सहयोग गर्नूपर्ने बताए ।

स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष एवम बरिष्ठ पत्रकार कृष्णप्रसाद बाँस्तोलाले खेलकुदले स्वास्थ्य रहन मात्र नभई व्यक्तिलाई सामाजिक एकता, सामाजिक सद्भावना कायम गर्न तथा प्रतिष्पर्धाको लागि आवश्यक भएको बताए ।

प्रतियोगितमा १३ टिमको सहभागिता रहेको बगर भाईखलकका महासचिव यामबहादुर गुरुङले बताए । प्रतियोगितमा विजेता टोलीले ३३ हजार ३ सय ३३, उपविजेताले २२ हजार २ सय २२ साथमा ट्रफि मेडल प्रमाण पत्र पाउने भएको बगर भाई खलका अध्यक्ष एवम संयोजक दिलबहादुर गुरुङले बताए । प्रतियोगितामा ४० बर्षदेखि ६० बर्ष उमेरका पुर्व राष्ट्रिय तथा अन्तराष्ट्रिय एवम स्थानीय खेलाडीहरुको सहभागि हुदै छन ।

उक्त अवसरमा पुर्व राष्ट्रिय फुटवल खेलाडी केशव रन्जित (आनन्द) लाई सम्मान गरीएको छ । उनलाई उद्योगपति श्रेष्ठले ताम्रपत्रको साथमा दोसला ओढाएर सम्मान गरेका हुन । पोखरा १ भिमकालीपाटन घर भएका रन्जितले जिल्ला, क्षेत्र हुदै राष्ट्रिय अन्तराष्ट्रिय फुटवल प्रतियोगितामा सहभागि भएका थिए । उनीलाई सहारा क्लब पोखरा, बाटेलेचौर तिजे मेला, भिमकालीपाटन क्लब लगायतले समेत सम्मान गरेको छ । नेपाल पुलिस, एनआरटि, आसीटी लगायतका क्लबबाट रन्जितले खेलेका थिए । उनी २०५७ देखि २०६३ सम्म कास्की जिल्ला फुटवल संघको अध्यक्षको पदभार समेत सम्हालेका थिए । २०१० जेष्ट २९ गते जन्मेका रन्जित सम्मानित भएको स्थल पुरानो टुडिखेलबाटै आफ्नो फुटवलको यात्रा सुरु गरेका हुन । युवा अबस्थामा नेपाली फुटवल खेलको विकासमा उल्लेखनीय योगदान पुराएको भन्दै बगर भाई खलकले सम्मान गरेको उपाध्यक्ष तेजबहादुर गुरुङले बताए ।

एस.एस ग्रुप काठमाण्डौको मुख्य प्रायोजनमा “स्वास्थ्यका लागि खेलकुद, पुर्व खेलाडी कल्याण कोषको लागि सहयोग” भन्ने नाराका साथ आयोजना भएको प्रतियोगिताले पुर्व खेलाडीहरुलाई सम्मान तथा नयाँ खेलाडीहरुलाई प्रोत्साहन गर्ने भएको आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...