बायोग्यास प्लान्ट पुनस्र्थापना कार्य सुरु

पोखरा, १३ असोज /नेपाल बायोग्यास प्रवद्र्धन संघ, पोखरा क्षेत्रीय कार्यालयले कास्की, तनहुँ, स्याङ्जा र लमजुङमा बायोग्यास प्लान्ट पुनस्र्थापना कार्य सुरु गरेको छ । संघले आइतबार कास्कीको आर्वा गाविसस्थित गोपाल बरालको घरबाट प्लान्ट पुनस्र्थापना तथा क्षमता अभिवृद्धि कार्यको औपचारिक सुरुवात गरेको हो । प्लान्ट पुनस्र्थापना तथा क्षमता अभिवृद्धि परियोजना (प्राइप) अन्तर्गत चार जिल्लाका २२ हजार ४०८ बायोग्यास प्लान्टको पुनस्र्थापना तथा क्षमता अभिवृद्धि गरिने बताइएको छ ।कार्यक्रममा घरधनी गोपाल बरालका पिता रामप्रसाद बराललाई प्रमुख अतिथि बनाइएको थियो । कार्यक्रममा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका बायोग्यास कम्पोनेन्ट म्यानेजर सुरज रेग्मी, संघका प्रथम उपाध्यक्ष लेखनाथ तिवारी, पोखरा क्षेत्रीय कार्यालयका निवर्तमान संयोजक विष्णुप्रसाद शर्मा, सल्लाहकार सोमनाथ बाँस्तोला, प्राइप परियोजनाका संयोजक यज्ञप्रसाद गुरुङ, मनकामना गोबर ग्यास कम्पनीका प्रबन्धक फणिनारायण भट्टराईले बोल्नुभएको थियो । संघका क्षेत्रीय संयोजक प्रकाशचन्द सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत पुष्पराज कोइरालाले गर्नुभएको थियो ।
नेपालका ९ जिल्ला रहेका ४१ हजार ३२ वटा बायोग्यास प्लान्टको पुनस्र्थापना तथा क्षमता अभिवृद्धि गरिदैछ । प्राइप परियोजा अन्तर्गत २०६१ साल अघि निर्मित बायोग्यास प्लान्टहरुको मर्मतसंभार गरिने भएको हो । उक्त परियोजना लागु हुने जिल्लाहरु कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, पाल्पा, नवलपरासी, चितवन, रुपन्देही र कपिलबस्तु रहेका छन् । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र जर्मन विकास बैंकको सहयोगमा निर्मित परियोजनाको सञ्चालन नेपाल बायोग्यास प्रवद्र्धन संघले गरेको हो ।

हाल कास्कीका ७८ सय २७, स्याङ्जाका २९ सय ७, तनहुँका ७४ सय ९४ र लमजुङका ४१ सय ८० गरी जम्मा २२ हजार ४०८ बायोग्यास प्लान्ट पुनस्र्थापना तथा क्षमता अभिवृद्धि गर्न लागिएको हो । यस क्षेत्रमा १७ बायोग्यास कम्पनीका ४२ वटा शाखाले उक्त सेवा दिनेछन् । परियोजनाबाट उपभोक्ताले प्रति प्लान्ट एउटा प्रेसर मिटर र जडान सामग्री निःशुल्क प्राप्त गर्नेछन् । चुहावट मर्मत समेत कम्पनीहरुले निःशुल्क मर्मत गर्नेछन् । हार्डवयर र सिभिल पार्ट फेर्नुपरेको खण्डमा भने उपभोक्ताले पैसा तिर्नुपर्ने संघका निवर्तमान क्षेत्रीय संयोजक विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

यसअघि प्राइप परियोजना अन्तर्गत लेखनाथ नगरपालिकाका ९ सय ७७ वटा बायोग्यास प्लान्ट मर्मतसंभार भइसकेका छन् । संघको पोखरा क्षेत्रले गण्डकी र धौलागिरी अञ्चलका जिल्लामा बायोग्यास प्लान्ट निर्माण गर्दै आएको छ । संघका कार्यक्रम अधिकृत पुष्पराज कोइरालाले डिसेम्बर महिनाभित्र बायोग्यास प्लान्टहरुको पुनस्र्थापना तथा क्षमता अभिवृद्धि कार्यक्रम सक्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...