रामेछाप, २५ माघ/मन्थली मेयर कप रामेछाप सिभिल च्याम्पियनसिप चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा गण्डकी प्रदेश र नमूना दीप युवा क्लब पुगेका छन् ।
शुक्रबार भएको सेमीफाइनलमा खेलमा दुवै टिमले जित निकाल्दै फाइनल यात्रा तय रहेका हुन् । सेमीफाइनलको पहिलो खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर १ लाई २५–२१, २५–९ र २५–२० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
दोस्रो सेमीफाइनल खेलमा नमूना दीप युवा क्लबले शान्तिदीप युवा क्लबलाई २५–१८, २१–२५, २६–२४ र २५–१३ (३–१ कोे सेट) को अन्तरमा पराजित गर्दै फाइनल पुगेको हो । प्रतियोगितामा तेस्रो स्थानमा लागि प्रदेश नम्बर १ विरुद्ध शान्तिदीप युवा क्लब प्रतिस्पर्धा गर्नेछन् ।
रामेछाप सिभिल च्याम्पियनसिप प्रतियोगितामा ९ टिमले सहभागिता जनाएका थिए। मन्थली नगरपालिका सहआयोजक रहेको प्रतियोगिताको विजेता टोलीले ३ लाख, दोस्रोले २ लाख, तेस्रोले १ लाख र चौथोले ५० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार नगद पुरस्कार पाउने छन् । व्यक्तिगत विधातर्फ सर्बर, ब्लकर, स्पाइकर, डिफेन्डर, सेटर र प्रशिक्षकले १०÷१० हजार नगद पाउने छन् ।