पोखरा, १३ पुस/संयुक्त राष्ट्रसंघको जेनेभास्थित नेपाली दूतावासका स्थायी प्रतिनिधी मीना अर्यालले तुलनात्मक लाभका निर्यातयोग्य बस्तुको उत्पादनमा निजी क्षेत्र अगाडि बढ्नु पर्नेमा जोड दिनुभएको छ । उहाँले नेपालको व्यापार घाटा बढ्दै गएको सन्दर्भमा अति कम विकसित राष्ट्रको रुपमा नेपालले पाउँदै आएको सहुलियत प्रयोगमा बढावा दिनु सार्वजनिक निजी साझेदारी कार्यक्रम प्रभावकारी बनाउनुपर्ने सुझाव समेत दिनुभएको छ । पोखरा उद्योग वाणिज्य संघमा बिहीबार भएको छलफल कार्यक्रममा बोल्दै अर्यालले तदर्थवादको संस्कारले गर्दा भएका निजीगत निर्णयहरु समेत कार्यान्वयन हुन नसक्दा नेपालको निर्यात व्यापार खस्केकोमा उहाँ सहमत पनि देखिनुभएको छ । उहाँले यहाँका हस्तकलालगायतका उत्पादनहरुको अन्तर्राष्ट्रिय बजार पहुँचको लागि आफूले सहयोग गर्ने वचनवद्धता पनि व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले हस्तकलाका सामानमा समेत मूल्य अभिवृद्धि कर थोपरिँदा यहाँका उत्पादनले विश्व बजारमा प्रतिष्पर्धा गर्न नसकेको गुनासे गर्नुभयो । उहाँले साना उद्यमीबाट उत्पादित सामानहरु निर्यातको लागि सरकारले नै पहल गर्नुपर्नेमा पनि जोड दिनुभएको छ । संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले अदुवा निकासीमा पनि समस्यम झेल्न बाध्य नेपाली किसानहरुको समस्या राज्यबाटै संवोधन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली सामानको उपभोग गर्ने बानीको विकास देशभित्र पनि आवश्यक रहेको औंल्याउनुभयो । संघका महासचिव अर्जुन पोखरेलले हाम्रा उत्पादनहरुको गुणस्तर मापन र प्रमाणिकरणको लागि राज्यले धायन दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै रेम्बो हेण्डिक्राफ्टकी गोमा ढकालले आधुनिक मेसिनको अभावमा यहाँको हस्तकलाले विश्व बजारमा प्रतिष्पर्धा गर्न नसकेको गुनासो गर्नुभयो । लागत कम गर्ने खालका प्रविधी राज्यबाट अनुदानमार्फत उपलब्ध हुनुपर्नेमा उहाँको जोड थियो । आमा मिलन केन्द्रकी ईन्दिरा बरालले सरकारी निकायहरुमा रहेको महिला उद्यमशीलताप्रतिको नकारात्मक सोचले उद्यमशीलता मौलाउन नसकेको गुनासो गर्नुभयो । यसैगरी हस्तकला क्षेत्रमा काम गर्दै आउनु भएका पूर्णबहादुर तामाङले गुणस्तरीय कच्चा पदार्थको अभावमा हस्तकलाले सोचेजस्तो विश्व बजार नपाएको बताउनुभयो ।