पोखरा, ११ पुष /पोखरामा एक दर्जन महोत्सव हुन्छन वर्षमा । तर ठोस काम भने एकादुई महोत्सवले मात्रै गरेका छन् । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसँगै स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्य राखिदैं महोत्सव आयोजना हुदै आएको छ । दर्जन महोत्सव भित्र आफनै पहिचान बनाएको छ पोखरा महोत्सवले । उद्देश्य पनि ठूलै छ चिडियाखाना निर्माण ।
महोत्सवको बचत रकमको केही रकम वर्षेनी चिडियाखाना निर्माणको लागि छुट्टाउँदै आएको छ । प्रस्तावित चिडियाखानाको अवधारणा अनुसार काम गरिएपनि अहिले वन्यजन्तु उद्दार केन्द्रको रुपमा विकास गरिएको छ । भविष्यमा उद्दार केन्द्रलाई चिडियाखानामा परिणत गरिने लक्ष्य राखिएको छ ।
शहरदेखि केही परको सामुदायिक बनलाई वन्यजन्तु उद्दार केन्द्रको रुपमा विकास गर्ने गरी काम गरिएको छ । पोखरा ३०, ३१ र ३२ वडामा पर्ने पचभैया, चापापानी, चिसाकुना र चैनपुर सामुदायिक बनमा वन्यजन्यु उद्दार केन्द्र निर्माण कार्यलाई तिब्रता पोखरा महोत्सव आयोजक युनाईटेड क्लब पोखराले दिएको छ । क्लबकै अगुवाईमा तीन वर्ष अघि १३४ हेक्टर क्षेत्रफलमा निर्माण शुरु गरिएको चिडियाखानालाई गण्डकी प्रदेश सरकारले एक करोड ५० लाख रुपैयाँ छुट्टाएको छ ।
क्लबले ४८ लाख ८५ हजार रुपैयाँ खर्च गरिसकेको छ । पोखरा महानगरपालिकाले ३५ लाखरुपैयँ उपलब्ध गरईसकेको छ । चिडियाखानाको लागि हालसम्म साढे दुई करोड रुपैयाँ खर्च गरिसकिएको छ । बन्यजन्तु उद्दार केन्द्र निर्माण गरिएको छ । ‘मृगस्थली, बाघ राख्ने खोर निर्माण भईसकेको छ ।’ युनाईटेड क्लबका अध्यक्ष लालकाजी गुरुङले भने–‘पाँच वटा पशुपंक्षी राख्ने खोर निर्माण गरिरहेका छौं ।’ उनका अनुसार प्रति गेट टिकटको १ रुपैयँ सेती नदी संरक्षणको अभियान चलाईराखिएको छ ।
सामुदायिक बन रुपातालसँगै जोडिएको छ । वन्यजन्तु उद्दार केन्द्रलाई साकार रुप दिए चिडियाखानाको अवधारणा पुरा हुने छ । चिडियाखाना निर्माण गरेपछि आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन हुने विश्वास महोत्सव आयोजक पोखरा युनाईटेड क्लबले लिएको छ । अध्ययन केन्द्रको रुपमा समेत विकास गर्न सकिने क्लबका अध्यक्ष गुरुङको भनाई थियो ।
प्रदेश सरकारले छुट्टाएको बजेटले खोरहरु निर्माण गरिने चिडियाखानाका अवधारणाकर्ता एवं क्लबका संस्थापक अध्यक्ष हिमाल बखे्रलले जानकारी दिए । उनले वन्यजन्तु उद्दार केन्द्रमा अहिले घाईते जनावारलाई उद्दार गरी राखिएको छ । ‘वन्यजन्तु उद्दार केन्द्रको रुपमा विकास गरिरहेका छौं ।’ उनले भने–‘घाईते जनावरको उपचारको लागि प्राथमिकत उपचार केन्द्र समेत निर्माण गर्ने योजना छ ।’
चिडियाखानाको अवधारणा अघि सारिएपनि अहिले वन्यजन्तु उद्दार केन्द्रको रुपमा विकास हुदैं गएको छ । उद्दार गरिएको जनावरलाई व्यवस्थापन गर्दै चिडियाखानाको अवधारणा पुरा गर्ने सोच रहेको बताए । ‘प्रदेश सरकारले छुट्टाएको बजेटलाई गुरुयोजना बनाई खर्च गर्नुपर्ने छ ।’ उनले भने–‘खोरहरु बनाउन लागत इष्टिमेट गरेर काम गर्छौ ।’
प्रदेश सरकारले दिएको बजेट क्षेत्रीय बन निर्देशनालयको खातामा आईसकेको छ । निर्देशनालयको सुपरीवेक्षणमा क्लबले काम गर्ने उनको भनाई थियो । बजेट अनुसार मयुर, मृग,हिमालयन थार, र भालुको ठूलो खोर बनाईने उनले जनकारी दिए । वन्य जन्तुको लागि खानेपानी ट्यांकी निर्माण, घाईते वन्यजन्तु उपचार कक्ष, घाईते जनावर बोक्ने इलेक्ट्रिक स्ट्रेचर लगायतका पुर्वाधार व्यवस्था गरिने उनले सुनाए । एउटा खोरदेखि अर्को खोरसम्म पुग्ने सिढींयुक्त बाटो र मुल प्रवेश गेट बनाइने छ ।
क्षेत्रीय बन निर्देशनालयका उपनिर्देशक माधव बरालका अनुसार विज्ञहरुको सुझावसँगै पुर्वाधारको इष्टिमेट पास भएपछि बजेट उपलब्ध गराईने छ । ‘८/१० वटा संरचना निर्माण गर्ने सोंच छ । त्यही अनुसार लागत इष्टिमेट गरेर उहाँहरुले पठाउनुहुने छ । विज्ञहरुको सुझावसहितको संरचना निर्माण गर्ने छन् । इष्टिमेट पास भएपछि बजेट पठाउँछौं ।’ उपनिर्देशक बरालको भनाई थियो ।
चिडियाखानामा अहिल निल गाई, मृग, हुचिल, लाटोकोसेरो, गिद्ध, स्याल, सिवेट क्याट लगायतका घरपालुवा तथा वन्यजन्तु छन् । ५ वर्ष भित्रमा सम्पन्न गराईने लक्ष्य राखिएको छ । रुपातालसंगै जोडिएको सामुदायिक बनहरुमा चितुवा, मृग, अजिंगर लगायत विभिन्न प्रजातिका चराचुरुङगी सहित १ सय ३४ प्रजातिका जीवजन्तु र ३ सय ३६ प्रजातिका बनस्पतिहरुका साथै सीता गुफा समेत रहेको छ । प्रस्तावित चिडियाखानाले पूर्णता पाउँदा ११ करोड खर्च हुने अनुमान गरिएको छ ।
दुई वर्षअघि पोखराको बजार पसेका चितुवाहरु नियन्त्रणमा लिईएको थियो । त्यस्ता चितुवालाई चिडियाखानामा राख्न सकिने बताइएको छ । दुई वर्षको अवघिमा पोखराको बजारबाट २० वटा चितुवाहरु नियन्त्रणमा लिएको थियो । वन जंगलमा वन्यजन्तुको लागि आवश्यक खाद्य बस्तु सुरक्षाको अभाव भएका कारण वन्यजन्तु शहरमा आउन थालेको हुन् । नियन्त्रणमा लिइएका वन्यजन्तुलाई निर्माणाधिन चिडिया खानामा राख्न सकिए पर्यटकहरुको बसाई समेत लम्वाउन सकिने विश्वास लिइएको छ ।