बढ्दै पारिवारीक यौन हिंसा

महेशकुमार खाती
पोखराकी टिना (नाम परिवर्तन)को बिहे भएको १८ बर्ष पुग्यो । उनका छोराछोरी १५ बर्ष कटे । बिहेपछिका केहि बर्ष सुःखद रहे । उनका श्रीमानले छोराछोरी जन्मनुअघि राम्रै व्यवहार गर्थे । उनको उमेर ढल्काईसंगै उनका श्रीमानको व्यवहार पनि बदलिँदै गयो । छोरा÷छोरीको बिहे गरेर नातीनातीना खेलाएर खुसिका साथ दिन काट्ने बेलामा उनले अहिले न्याय खोज्न भौंतारिनु परेको छ । बिहे भएको केहि बर्षदेखि श्रीमानले गर्ने दुव्र्यवहारले आजीत भएपछि डेढ बर्ष अघि न्यायको ढोका ढक्ढक्याउन पुगेकी हुन् । उनका श्रीमानले यौन सन्तुष्टि दिन नसकेको भन्दै उनलाई ‘घर छाडेर जान’ समेत भन्न पछि परेनन् । दिनहुँको यस्तो दुव्र्यवहार उनको लागि असामान्य भएपछि उनले न्यायको बाटो रोजिन । घरमै मिलेर बस्ने प्रयास गर्दा पनि केहि सिप नलागेपछि अदालत पुगेकी उनले जिल्ला अदालतबाट केहि महिनाअघि न्याय पाएकी छिन् । violence-against-woman
हाल पुनरावेदन अदालतमा उनको मुद्दा बिचाराधिन छ । पारिवारिक यौन हिंसाकै कारण उनले यस्तो दुःख भोग्नुपरेको हो । करिव ३ बर्षअघि बिहे भएकी जस्मिन पनि श्रीमानबाटै पीडित भएर अदालतसम्म पुगेकी छिन् । १ बर्ष प्रेम भएर बिहे भएकी उनले श्रीमानले गर्ने यौनहिंसाकै कारण अंश सहितको सम्बन्ध बिच्छेदको मुद्दा न्यायलयमा दर्ता गरेकी छिन् । भनिन ‘के गर्ने अति नै भएपछि न्यायलय पुगेकी हुँ, पहिला जस्तो ब्यवहार गरेनन्, यस्तो र उस्तो भने अनि न्याय माग्न आएँ ।’ पछिल्लो समयमा पारिवारीक यौन हिंसाका घटनाहरु बढ्दै गएका छन् । संवन्धविच्छेदका धेरै घटनामा यौन कारण जोडिए पनी पिडित र पिडक दुवैले यस्लाई लुकाउने गरेका छन् । अहिले केहि घटना सार्वजनिक हुन थालेका छन् ।
श्रीमानलाई यौन सन्तुष्टी दिन नसकेको जर्वरजस्ती यौनसम्पर्क राख्न खोज्ने लगायतका कारणले श्रीमतीले दुब्र्यबहार सहनु परेको छ । दिनहुँको झगडा, कुटपीट, यातना महिलाले सहनै नसकेपछि न्यायको लागि अदालत पुग्ने क्रम बढेको हो । ‘पारिवारीक यौन हिंसाका घटना बढ्दै गएका छन्’ अधिवक्ता जुनाकुमारी गुरुङले भनिन्–‘महिला यौनहिंसाका कारण शारीरिक मानसिक तनाव भोग्न बाध्य छन् ।’ गुरुङको अनुभवमा महिलाका मुद्दा मध्ये करिव ८० प्रतिशत भन्दा बढि यौन हिंसासंग सम्बन्धित घटना छन तर ति सिधै भनिदैनन ।
बिहे गरेको केहि बर्षपछि पुरुषले रुप राम्रो नभएको र यौन सन्तुष्टि पूर्णरुपमा दिन नसकेको भन्दै महिलालाई कुटपीट गर्ने, यातना दिने, अन्य महिलासंग हिड्ने, घरको वास्ता नगर्ने खालका घटना बढ्दै गएका छन् । सिधै यौन हिंसा भन्दै महिला अदालत जान नसकेपछि सम्बन्ध बिच्छेद, अंश, नाता कायम, माना चामाल लगायतका विभिन्न शिर्षकमा जाने गर्छन् । गुरुङको सातबर्षे वकालतको यात्रामा हालसम्म करिव पाँच सय बढि महिलामाथी हुने यौन हिंसा सम्बन्धी मुद्दा छन् । ‘यस्ता किसिमका घटनाहरु दिनदिनै बढ्दै छन् । उनले भनिन्–‘यौन हिंसाकै कारण धेरै दिदीबहिनी पीडित छन्, न्याय माग्न जति पुग्नुपर्ने हो त्यति अझै आएका छैनन् ।’ sex
जिल्ला अदालत कास्कीमा आब २०६९÷०७० मा सम्बन्ध बिच्छेद सम्बन्धि ४ सय ७४ मुद्दा दर्ता भएकोमा ३ सय ९९ वटाको फैसला भएको छ । अघिल्लो बर्षभन्दा अहिले ३० वटा बढि परेका हुन् । यौन संवेदनशिलताका कारण पीडित समाजमा खुल्न सक्दैनन् । पारिवारीक यौन हिंसा भनेर मुद्दा चलाउन सक्ने अवस्थामा छैनन् । बैवाहिक बलात्कारको विषयमा कानुन बनेपनि त्यसमा सिधै मुद्दा भने परेका छैनन् । पिडित घुमाउरो बाटो न्याय खोज्न जान थालेका छन् ।
पश्चिमाञ्चल विकास क्षेत्रमा आर्थिक बर्षमा २०६९÷०७० मा प्रहरी अन्तर्गतको महिला तथा बालबालिका बिरुद्ध भएका घरेलु हिंसा सम्बन्धि उजुरी १ हजार ३ सय ७२ परे । जसमध्ये १ हजार २० वटा मिलापत्र भए भने अदालतमा ५४ वटा पुगे । अघिल्लो बर्षको तुलनामा २ सय २७ बढि हो । अघिल्लो आब ०६८÷०६९ मा १ हजार १ सय ४५ उजुरी परेकामध्ये ८ सय ६४ को मिलापत्र भएका थिए भने अदालतमा ४४ गए । आब २०६९÷०७० मा सबैभन्दा धेरै कास्की जिल्लामा ३ सय ४३ वटा उजुरी परे जसमध्ये २ सय ४३ वटाको मिलापत्र भएको र ९ वटा अदालतमा गए । केन्द्र र महिला तथा बालबालिका कार्यालयमा आब २०६९÷०७० मा कास्कीमा ६ सय ५६ निवेदन महिला हिंसा सम्बन्धका निवेदन थिए ।
श्रीमानले हेला गरेको, कुटपीट गरेको, खान लाउन नदिएका, दुब्र्यवहार गरेको भन्ने खालका मुद्दाहरु अधिकांश पर्ने गरेका छन् । ‘श्रीमानले पिट्यो, राम्रो ब्यवहार गरेन, केटीसंग हिड्यो भन्ने खालका घटनाका पीडित महिलाले श्रीमान बिरुद्ध निवेदन दिने गरेका छन, धेरैजसो मिलाएर पठाउने गरेका छौ ।’ महिला तथा बालबालिका सेवा केन्द्र कास्कीका हवल्दार टिकाकुमारी के.सीले भनिन्–‘श्रीमान–श्रीमती बिचका झगडा, पारिवारीक यौन हिंसा भयो भन्ने धेरै सुन्नुपरेको छ अहिले ।’
केहिबर्षदेखि महिला हिंसामा परेका घटना बाहिर आईरहेका छन् । पश्चिमाञ्चल क्षेत्रमा बिगत बर्षको तुलनामा बढ्दै गएको छ । ‘बिशेष गरी महिला पीडित छन्, न्याय माग्न जति आउनुपर्ने हो त्यति आएका छैनन्’ महिला तथा बालबालिका कार्यालय कास्कीका निमित्त कार्यालय प्रमुख बेलकुमारी गुरुङले भनिन्–‘घटना पहिले नभएका होईनन, हुन्थे, अहिले बढ्दै छन्, महिलाले सहनै नसकेपछि न्याय खोज्न थालेका हुन ?’ यस्ता घटनाहरु सार्वजनिक हुन थालेपछि पीडामा परेका अन्य महिला पनि न्याय माग्न बाहिर आउने गरेका छन् ।‘महिलामाथी हुने विभिन्न खालका घटनाहरु प्रहरीकोमा आउने क्रम बढ्दै छन्, यसलाई हामिले राम्रो पनि मानेछौं ।’ पश्चिम क्षेत्रिय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक सुरेन्द्रबहादुर शाहले भने–‘हामिले दोषिलाई कारवाहि र पीडितलाई न्याय दिन्छौं ।’
नेपाली समाज पुरुषप्रधान सोँचले ग्रस्त रहेको र पुरुषसंग महिला आश्रित हुनुपरेकाले महिला हिंसाका घट्ना बढ्ेको पृथ्विनारायण क्याम्पस पोखरा समाजशास्त्र तथा मानवशास्त्र बिभागकी प्रमुख उप–प्राध्यापक शान्ति पोख्रेल भुषालले बताइन । भनिन्–‘महिलालाई जे गरेपनि हुन्छ भन्ने पुरुषबादी सोँचले गर्दा महिला पीडित हुनुपरेको हो, जति बाहिर आउनुपर्ने थियो त्यति आएका छैनन् ।’ भुषालको अनुभवमा समाजमा चेतना बढेको भएपनि यस्ता खालका घटनामा कमि नआउनुको मुख्य कारण दोषिलाई उचित कारवाहि नहुनु हो ।
सञ्चारिका फिचरसेवा पश्चिमाञ्चल
(महेश पोखरा पत्र दैनिकमा आबद्ध पत्रकार हुन्)
तस्वीर ः गुगल

कमेन्टहरु
Loading...