पोखरा, १९ असार/ताल नगरी पोखरामा चरा उत्सव शुरु भएको छ । पोखरा र आसपासमा पाइने चराको संरक्षण संगै चरा पर्यटनको विकास गर्ने उद्देश्यले पोखरा पंछी समाजको आयोजनामा नेपालमै पहिलो पटक चरा उत्सव आयोजना गरेको हो ।
२१ गते सम्म पोखरामा हुने चरा उत्सवमा नेपालका पर्यावरणको क्षेत्रमा काम गरेको बिभिन्न संघ संस्था, पर्यावरण बिज्ञ, चरा र पर्यटन विज्ञको सहभागीतामा उत्सव हुने छन् । नेपालमा चरा हेर्नकै लागि बर्षेनी ८ प्रतिशत पर्यटक आउने गरेको चरा गाइड समेत रहेका पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए ।
पदयात्रा र घुम्नका लागि आउने पर्यटकको भन्दा दश गुना समय र खर्च चरा हेर्न आउने पर्यटकले गर्ने भएकोले चरा पर्यटनको विकासमा राज्य र पर्यटन व्यवसायी लाग्नुपर्नेमा उनले जोड दिए ।
सात तालको शहर पोखराका ताल र सिमसार क्षेत्र सुक्दै जाँदा पानीमा बस्ने चरा लोप हुँदै गएका छन् । यहाँको सबैभन्दा ठुलो फेवाताल लगाएत ९ तालमा बर्षेनी हिउँदमा साइबेरिया देखि आउने चराको संख्या घट्दै गएको छ । फेवा सिमसार क्षेत्र मासिदै जानु, ताल पुरिनु, मानवीय आतिक्रमणका चपेटामा फेवाताल पर्नुले हिउँद महिनामा फेवातालमा हजारौको संख्यामा देखिने चरा अहिले सयको हाराहारीमा सिमित हुँदै गएको पोखरा पंछी समाजका सचिव हेमन्त ढकालले बताए ।
चराका बासस्थानको संरक्षण गर्दै चरा पर्यटनको रुपमा पोखरालाई विकास गर्ने उद्देश्यले चरा उत्सवको आयोजना गरिएको हो । उत्सवमा चरा र पर्यटन विज्ञले चराको बासस्थान संरक्षण र चरा पर्यटन विकासका बारेमा बिभिन्न प्रस्तुती दिने छन् । उत्सवमा चरा गाइडहरुलाई चरा तालिम, चरा, वातावरण तथा जैविक विविधता सम्बन्धी फोटो प्रर्दशनी, अन्तर माध्यामिक विद्यालय स्तरीय कविता प्रतियोगिता समेत हुने सचिव ढकालले बताए ।
२०१८ सालमा १० वर्गकिलोमिटरमा फैलिएको फेवाताल २०६४ को केन्द्रीय नापी विभागले गरेको सर्भे अनुसार ४ दशमलव २० वर्गा मिलोमिटरमा खुम्चिएको छ । पछिल्लो समयमा तालको मुहान क्षेत्रमा पटक पटकगएको पहिरो तालमा पस्दा ताल झनै खुम्चिएको छ । यसै कारण ताल सांगुरिनु, सिमसार क्षेत्र पुरिदै जानुले पानी चराका बासस्थान मासिदा चरा संकटमा परेका हुन् । पोखराका खाष्टे, न्यूरिनी, गुदे, मैदी लगायतका ताल पनि सुकेर पोखरीमा परिणत भएका छन् ।
चरा हेर्नकै लागी बेलायत, अमेरिकन, डेनमार्क लगायतका देशबाट दर्शक देखि पर्यटक पोखरा आउने गर्दछन् । अन्नपूर्ण पदयात्रा क्षेत्रमा जाने चरा मन पराउने पर्यटक महिनौ त्यहाँ पाइने चराको प्रजाति अनुसन्धान गरेर बिताउदै आएका छन् । पछिल्लो समयमा चरा हेर्न र तस्विर खिच्न चिनियाँ, मलेशियन र थाइल्यण्डबाट समेत पर्यटक आउने गरेको चरा गाइड शेषकान्त शर्माले बताए । चार उत्सव अन्तरगत मंगलबार चरा गाइडलाई तालिम दिएको छ भने बुधबार चराका फोटो प्रर्दशनी हुनेछ ।