पोखरा, १७ असार /रूसमा जारी २१औं संस्करणको विश्वकप फुटबलमा फ्रान्स र उरुग्वे क्वार्टरफाइनलमा प्रबेश गरेका छन् ।
फ्रान्सले शनिबार अर्जेन्टिनालाई र उरुग्वेले पोर्चुगललाई हराउँदै क्वाटरफाइनलमा भेट पक्का गरेका हुन् । शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले मेसीको अर्जेन्टिनालाई ४-३ गोल अन्तरमा हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो।
फ्रान्सलाई जिताउन एम्बापेले २ तथा ग्रिजम्यान र पाभार्डले १/१ गोल गरे। अर्जेन्टिनाका लागि डि मारिया, अग्यूरो र मेराकाडोले गोल गरेका थिए। पहिलो पटक अर्जेन्टिनासँग अन्तिम १६ मा भिडेको फ्रान्सले शनिबार कजान रंगशालमा १३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेलमा अग्रता लिएको थियो।
केलियन एमबाप्पेलाई डिबक्समा लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो। एन्टोनी ग्रिजम्यानले पेनाल्टीमार्फत फ्रान्सलाई अग्रता दिलाएका थिए। खेलको ४१ औं मिनेटमा डि मारियाले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाका लागि बराबरी गोल फर्काएका थिए। एभर वेनेगाले उपलब्ध गराएको पासमा उनले करिब ३० यार्ड टाढाबाट बायाँ खुट्टाले शशक्त प्रहार गर्दै गोल गरेका थिए।
पहिलो हाफसम्म १-१ गोलको बराबरीमा रहेको खेलको दोस्रो हाफको सुरूवातमै अर्जेन्टिनाले गोल गर्दै खेलमा अग्रता लियो। ४८ औं मिनेटमा अर्जेन्टिनाले ग्याबरियल मेकाडोले गोल गर्दै अर्जेन्टिनी टोलीलाई २–१ को स्थितिमा पुर्याएका थिए। तर, खेलको ५७ औं मिनेटमा बेन्जामिन पाभार्डले गोल गर्दै खेललाई २–२ को स्थितिमा ल्याएका थिए।
त्यसपछि चार मिनेटको अन्तरमा दुई गोल गर्दै एम्बापेले फ्रान्सलाई अग्रता दिलाए। उनले ६३ औं र ६९ औ मिनेटमा गोल गर्दै फ्रान्सलाई सहज स्थितिमा पुर्याएका हुन्। त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा अग्यूरोले गोल गर्दै खेललाई ४-३ को स्थितिमा पुर्याए पनि हारलाई टार्न सकेनन् ।
यस्तै उरुग्वेले क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई २ – १ ले हराउँदै फ्रान्ससँगको भेट पक्का गरेको हो। उरूग्वेले पोर्चुगल विरूद्ध खेलको पहिलो हाफमा गोल गर्दै अग्रता लिएको थियो। उरूग्वेका लागि इडिसन काभानीले ७ औ मिनेटमा हेडमार्फत गोल गरेका थिए।
लुइस स्वारेजको क्रसफिल्डबाट उपलब्ध बललाई पोर्चुगलको जाली चुमाएका थिए । पहिलो हाफमा १-० ले पछि परेको पोर्चुगलका लागि दोस्रो हाफको ५५ औं मिनेटमा पेपेले गोल गरे।
सोचीस्थित फिष्ट ओलम्पिक रंगशालामा बराबरी गोल खाएको उरूग्वेले पोर्चुगलको बराबरीलाई धेरै बेर रहन दिएन। फेरि एकपटक गोल गर्दै काभानीले पोर्चुगललाई निराश पारे। खेलको ६२ मिनेटमा फेरि पोर्चुगलको पोस्टमा बल छिराए र अग्रतालाई २-१ पारे।
फ्रान्स र उरुग्वेबीचको क्वाटरफाइनल खेल असार २२ गते हुनेछ। क्वाटरफाइनलमा जित निकाल्ने टोलीले सेमिफाइनलमा स्थान बनाउने छ ।