राष्ट्रिय टोली अभ्यासलाई गल्फतिर

राष्ट्रिय टोली अभ्यासलाई गल्फतिर

काठमाडौं– अर्को महिना घरेलु मैदानमा हुने साफ च्याम्पिनसिप जित्ने लक्ष्य लिएको नेपाली राष्ट्रिय टोली अन्तिम तयारीका लागि आइतबार बहराइन प्रस्थान गरेको छ। टोलीका कप्तान सागर थापाले बलियो प्रतिद्वन्द्विविरुद्ध हुने मैत्रीपूर्ण खेलबाट कमजोरी सुधार्न अवसर मिल्ने बताए। ‘हाम्रो लक्ष्य घरेलु मैदानमा साफ च्याम्पियनसिप जित्ने हो,’ उनले भने, ‘त्यसका लागि यो तयारीले मद्दत पुग्नेछ।’ भदौ १६ देखि राजधानीमा हुने साफ च्याम्पियनसिपको समूह ‘ए’ मा नेपालसँगै भारत, बंगलादेश र पाकिस्तान छन्। 
टोलीका हरेक सदस्यले उपाधिलाई एकमात्र लक्ष्य बनाएको जनाउँदै सागरले भने, ‘साफ च्याम्पियनसिपलाई हामीले दबाब होइन चुनौतिका रुपमा लिएका छौं। यसपटक अरुलाई बाहिर पार्दै जाने लक्ष्य हो। पछिल्लो संस्करणमा पनि हामीले उच्च प्रदर्शन गरेका थियौं। यसपटक तयारी अझै राम्रो भएको छ। विगतको कमजोरी यसपटक दोहोरिने छैन।’ दुई वर्षअघि भारतमा सम्पन्न सातौं साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग १–० को नतिजामा पराजित भएको थियो। 

बहराइन र कुवेतको तीन साता लामो भ्रमणमा निस्कनुअघि राष्ट्रिय टोलीका प्रशिक्षक ज्याक स्टेफानोस्कीले कठिन समूहमा परेको स्वीकार्दै भने, ‘समूह चुनौतिपूर्ण छ। हरेक खेलमा मेहनत गर्नुपर्ने हुन्छ।’  स्टेफानोस्कीले वैदेशिक भ्रमणलाई उत्कृष्ट अवसरको रुपमा लिएको जनाउँदै यसबाट टोलीमा रहेका कमजोरीमा सुधारको अवसर मिल्ने बताए। बिहीबार बहराइनको यु–२३ टोलीसँग खेल्दै नेपाली टोलीको मैत्रीपूर्ण खेलयात्रा सुरु हुनेछ। 

स्टेफानोस्कीले भ्रमण सकेर फर्केपछि २० सदस्यीय टोलीको अन्तिम छनोट गरिने जानकारी दिए। शनिबारको छनोटमा २५ खेलाडी समेटिएका छन्। बहराइन प्रस्थान गर्नेमा २३ खेलाडी, दुई प्रशिक्षक, टेक्निकल डाइरेक्टर कृष्ण थापा र टोली नेता अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष ललितकृष्ण श्रेष्ठ छन्। सेनाको आन्तरिक प्रशिक्षमा रहेका भरत खवास र इन्डोनेसियामा व्यवसायिक फुटबल खेलिरहेका रोहित चन्द भ्रमण दौरान टोलीमा आबद्ध हुने एन्फा प्रवक्ता समेत रहेका श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार नेपालले वहराइनमा २ र कुवेतमा २ वा ३ वटा मैत्रीपूर्ण खेल खेल्नेछ। वहरानबाट नेपाली टोली साउन ३० मा कुवेत प्रस्थान गर्नेछ। कुवेतबाट टोली भदौ ९ मा स्वदेश फर्कनेछ।
टोलीको विदाई गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव युवराज लामाले फुटबलमा एन्फा र राखेपलाई मात्र होइन सिंगो देशलाई जितको खाँचो रहेको बताए। ‘उपाधि नजितेको धेरै भयो, अब जित्नुपर्ने बेला भएको छ। यो सही समय हो। त्यसले दबाब पनि पर्न सक्छ,’ उनले भने, ‘गरिव देश भएकाले हाम्रा आफ्नै बाध्यता छन्। तथापि जित आवश्यक छ।’ 

सन् १९९३ मा छैटौं दक्षिण एसियाली खेलकुद (साफ) मा स्वर्ण पदक जितेयता नेपालको सिनियर टोलीले कुनै उपाधि जितेको छैन। १९९७ मा काठमाडौंबाटै सुरु भएको साफ च्याम्पियनसिपमा नेपाल अहिले सम्म फाइनल पुगेको छैन। फुटबल खेलाडी रात्रिजीवनमा मस्त रहने सुन्नमा आएको जनाउँदै व्यङ्गात्मक शैलीमा लामाले भने, ‘तपाईहरु च्याम्पियनसिप जित्नुस एन्फा अध्यक्ष र म तपाईहरुसँग राती ३ बजे सम्म बस्न तयार छौं। तर, अहिले तयारीमा ध्यान दिनुहोस्।’

साफ यु–१६ मा नेपाली टोलीले उच्च प्रदर्शन गरेको प्रसंग कोट्याउँदै लामाले देश फुटबलमय भैरहेको अवस्थामा अपेक्षा बढ्नु स्वभाविक भएको जनाए। ‘नेपालको फुटबल स्तरमा सुधार भएको छ। टिमवर्क राम्रो भएको धेरैको अनुवभ छ,’ उनले थपे, ‘साफ च्याम्पियनसिपमा नेपालको सम्भावना छ। अन्य राष्ट्रले पनि नेपाललाई बलियो प्रतिद्वन्द्विका रुपमा हेरेका छन्।’ 

एन्फा अध्यक्ष गणेश थापाले लामो समयदेखि उत्कृष्ट प्रदर्शन गरेपनि नतिजामा चुकिरहेको दोहोर्‍याए। ‘दक्षिण एसियाका सबै राष्ट्रलाई हराएका छौं। तर, एकैपटक साफ च्याम्पिसिप जितेका छैनौं,’ उनले आशा गरे, ‘हामी सधैका दावेदार हौं। वैदेशिक प्रशिक्षणमा कमी कमजोरी सुधार्नुस्। हाम्रो टोली कमजोर छैन भन्ने प्रमाणित गर्नुहोस्।’ थापाले खेलाडीलाई एक पटक साफ च्याम्पिनसिप जितेर देखाए कसैले कल्पना नगरेको सम्मान गर्ने वचन दिए। एन्फाले साफ च्याम्पिनसिप जिते हरेक खेलाडीलाई फ्ल्याट दिने घोषणा झन्डै ५ महिनाअघि गरिसकेको छ।

– See more at: http://www.nagariknews.com/sports/football/story/5302#sthash.XBmhxwKC.dpuf

कमेन्टहरु
Loading...