पोखरा, १४ माघ । पोखरा उद्योग वाणिज्य संघले हालै सम्पन्न ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४ पोखरा’ को प्रवेश टिकटमार्फत बम्बर कार बिजेता सन्दीप पौडेललाई कार हस्तान्तरण गरेको छ ।
आइतबार संघको सचिवालय गैह्रापाटनमा आयोजित कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विजेता पौडेललाई कारको साँचो हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा बोल्दै मेयर आफै लक्की ड्रमा सामेल भएको स्मरण गर्दै पोखरा उद्योग वाणिज्य संघले निश्पक्ष रुपले गरेको लक्की ड्र बाट अरुहरुले पनि सिक्नु पर्ने धारणा राख्नुभयो । कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकरा पालिखेले मेला सफल बनाउन सघाउनेहरुलाई धन्यवाद ज्ञापन गर्दै कार विजेता सन्दीपलाई बधाई ज्ञापन गर्नुभयो ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीले संचालन गर्नुभएको कार्यक्रम बोल्दै कार विजेता सन्दीपले कार उपहार पाएकोमा खुसी भएको प्रतिक्रिया दिए । कुस्मा नगरपालिकाका १५ वर्षीय सन्दीप त्यहीँको नमूना माविमा कक्षा ९ मा पढ्दै हुनुुहुन्छ भने उहाँका पिता नारायणप्रसाद पौडेलले प्रहरी सेवामा रहेका छन् । पिता नारायणप्रसाद पौडेलले माघ ५ गते पनि मेला हेर्न लगेका थिए । मेला हेर्न सन्दीपले काटेको टिकट नम्बर ०५४८९२ लाई कार उपहार परेको थियो । मेला पोखराको नयाँबजारमा पुस २७ देखि माघ ८ गतेसम्म चलेको थियो ।
मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले मेलाको प्रवेश टिकटमा हुण्डाइ कम्पनीको करिब १८ लाख मूल्य पर्ने इवन कार उपहार राखेको हो । मेलाको अन्तिम दिन उपहार खोलिएको थियो । पत्रकार टंक अधिकारी,नागरिक समाज कास्कीका अध्यक्ष रामबहादुर पौडेल,उच्च अदालत पोखराका बार एसोसियसनका अध्यक्ष दयाराम गौतम,पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठजिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोक सिँह कार्यक्रमका प्रमुख अतिथी पोखरा उपमहानगरपालिकाका प्रमुुख मानबहादुर जिसी उपहार सार्वजनिक गर्ने कार्यक्रममा सहभागि हुनुभएको थियो ।