पोखरा, ७ माघ / पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा आयोजना भएको सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४ को प्रवेश टिकटमा राखिएको कार बम्बर उपहार सोमबार खोलिने भएको छ ।
आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेका अनुसार बम्पर कार उपहार आज साँझ पाँच बजेपछि मेला आयोजना भएको पोखरा प्रदर्शनी केन्द्रमा खोलिनेछ । मेलामा साँझ पाँच बजेपछि प्रवेश निःशुल्क गरिएको छ । पाँचबजेसम्म काटिएका टिकटहरुलाई उपहार प्रक्रियामा समावेश गरिने छ भने उपहार खोल्ने प्रक्रियालाई पारदर्शी बनाइने छ ।
हुण्डाई कम्पनीको करिब १८ लाख मूल्य बराबरको बम्पर उपहार पर्ने व्यक्तिले तीन दिनभित्र टिकटसहित आफ्नो उपहार लैजानु पर्नेछ । उपहार प्राप्त गर्ने व्यक्तिले भन्सार बाहेक लाग्ने करहरु भने आफै तिर्नुपर्नेछ । मेलाका टिकट व्यवस्थापन उपसमिति सदस्य प्रेमबहादुर भुजेलका अनुसार मेलाको लागि तयार गरिएका तर बिक्री नभएका टिकटहरुलाई बम्पर प्रक्रियामा सहभागि गराइने छैन ।
बम्बर उपहार खोल्नु अगाडि सार्वजनिक गरिएको स्टक नम्बरलाई बम्पर उपहार परे तत्कालै त्यसलाई बदर गरी नयाँ प्रक्रियाबाट उपहार खोल्ने उहाँले जनाउनुभयो । पोखराका लब्ध प्रतिष्ठित व्यक्तित्व तथा संचारकर्मीका माझ खोलिने बम्पर उपहार कार्यक्रममा सहभागी हुन उहाँले सम्र्पूण पोखरेलीहरुलाई आग्रह पनि गर्नुभयो ।
यता मेलाअन्तर्गत आयोजित विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिताको उपाधी सरस्वती विद्याश्रमकी सर्मिला तिलिजाले प्राप्त गरेकी छन् । प्रतियोगितामा सेण्ट फ्रान्सिस स्कूलकी सेजल पुन र सरगम कला केन्द्रकी सपना धाई तेस्रो भइन् । उनीहरुले क्रमशःसात, ५ र ४ हजार प्राप्त गरे । यसैगरी विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगितामा कास्की मोर्डनाइज्ण्ड, शिशु निकेतन र कुमुदिनी होम्स क्रमशः पहिलो दोस्रो र तेस्रो भए ।
प्रतियोगितामा पहिलो हुनेलाई कम्प्युटर, दोस्रोलाई २१ इञ्चको टेलिभिजन र तेस्रो हुनेलाई खेलकुद सामाग्री प्रदान गरिएको मेलाका साँस्कृतिक उपसमिति संयोजक पवनकुमार प्रजापतिले बताउनुभयो । राइजिङ स्टार, मेरिगोल्ड र युनिभर्सले नेपालको क्यालेण्डरसहित फुटबल पुरस्कारस्वरुप प्राप्त गरे ।
मेलाका प्रचारप्रसार संयोजक दामु अधिकारीका अनुसार करिब १ लाख ६० हजार जनाले मेलाको अवलोकन गरेका छन् भने ११ करोड रुपैयाँ बराबरको आर्थिक कारोवार भएको छ । मेलाको समापनको दिनमा पनि नियमित गतिविधीहरु सुचारु रहनेछ । सोमबार लोकगायकहरु चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, सुरेन्द्र गुरुङ, इन्द्रा गुरुङ, ज्योति लोहनी, लक्ष्मी बानिया, सुरज आचार्यको प्रस्तुति रहनेछ भने पपतर्फ ओम गुरुङको प्रस्तुति रहनेछ । बम्बर उपहार खोलिएपछि साँझ हुने प्रस्तुतिमा डिजे सेसन पनि समावेश गरिएको छ ।