मेलाको सुझाब माग्दै, सदस्यहरुको कुरा सुन्दै पोउवा संघ

पोखरा, २३ पुस/ सदस्यहरुसँग सुझाव माग्ने क्रममा पोखरा उद्योग वाणिज्य संघले चिप्लेढुङ्गा र बिरौटामा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले उद्योगी÷व्यवसायीहरुको हितको लागि संघबाट सम्पादित गतिविधीबारे जानकारी दिनुभयो ।

व्यवसायीहरुले दिएको सुझावकै आधारमा संघका गतिबिधीहरु अगाडि बढाइने जनाउँदै उहाँले विकास निर्माणका कामहरुमा समेत संघले सहयोग र पैरवी गर्दै आइरहेको बताउनुभयो । उहाँले घरभाडाको समस्या राष्ट्रिय भएको चर्चा गर्दै यसको निराकरणको लागि निरन्तर आवाज उठाउँदै आएको बताउनुभयो ।

चिल्लेढुंगामा आयोजित कार्यक्रममा आफ्ना धारणा राख्दै संघका सदस्य रमेश सापकोटाले लोपोन्मुख व्यवसायलाई संरक्षण गर्न संघले पहल गर्नुपर्ने सुभाव दिनुभयो । अर्का सदस्य नविन नापितले पोके व्यापारी नियन्त्रणको लागि संघले कडा कदम चाल्नुपर्नेमा जोड दिनुभयो । यसैगरी, केशवबहादुर खत्रीले कर प्रशासनबाट हुने अनावश्यक झमेलालाई कम गर्न संघले पहलकदमी गर्नुपर्ने बताउनुभयो ।

सदस्य बलराम गौतमले यही पुस २७ बाट माघ ८ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा आयोजना हुने सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेलाको सफलताको शुभकामना व्यक्त गर्दै त्यहाँ कर तिरेका व्यवसायीले मात्र स्टल राख्ने व्यवस्था हुनुपर्ने बताउनुभयो । अर्का सदस्य जनकराज सुवेदीले संघले संचालनमा ल्याएको जब सेण्टरमा काम खोज्न आउनेहरुलाई सीपको आधारमा बर्गिकरण गर्नुपर्ने सुझाव दिनुभयो । सदस्य नवराज त्रिपाठीले व्यापार मेला सफल बनाउन आफ्नोतर्फबाट पनि सहयोग गर्ने बताउनुभयो ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजुको धन्यवाद ज्ञापन रहेको कार्यक्रमको संचालन महासचिव दामु अधिकारीले गर्नुभएको थियो । यसैगरी, बिरौटामा आयोजित कार्यक्रममा बोल्दै खेमराज पौडेलले पोखराको अव्यवस्थालाई समाधान गर्न संघले पहलकदमी गर्नुपर्नेमा जोड दिनुभयो । अर्का व्यवसायी गोविन्दप्रसाद पाण्डेले व्यापार मेलाको बेला रातीसम्म नगरबस संचालनको व्यवस्था हुनुपर्ने बताउनुभयो । यसैगरी राजु पौडेलले सोलार लाइटको मर्मत, पोके व्यापारी नियन्त्रणको लागि संघले पहल गर्नुपर्ने सुझाव दिनुभयो ।

कमलप्रसाद न्यौपानेले चर्को घरभाडाको मारमा परेका व्यवसायीको पक्षमा उभिनको लागि संघसँग आग्रह गर्नुभयो । संघका सदस्य धनीराम बरालले मेला अवधीमा सुरक्षा व्यवस्था कडा हुनुपर्ने बताउनुभयो । शम्भुनाथ योगीले व्यापार मेलामा स्थानीय उत्पादनहरुलाई बढी महत्व दिइनुपर्ने उल्लेख गर्नुभयो । डिलबहादुर गुरुङले संघले गरेका कामहरुको मुक्तकण्ठले प्रशंसा गर्दै निरन्तरताको कामना गर्नुभयो । संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीको धन्यवाद ज्ञापन रहेको कार्यक्रमको संचालन महासचिव दामु अधिकारीले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...