अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको दोस्रो चरण सुरु

पोखरा, ११ पुस /पर्यटनका लागि सबै मौसम भन्ने मुल नाराका साथ अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वरा आयोजित अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव २०७४ को दोस्रो चरण सोमबारदेखि छोम्रोङमा सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका कास्की र पर्यटन ब्यवस्थापन उपसमिति छोम्रोङको व्यवस्थापनमा सुरु गरिएको महोत्सव १५ गतेसम्म चल्ने छ ।

ल्होसारको सन्दर्भ पारेर महोत्सवको दोसो चरण ल्होसार विशेष कार्यक्रमका रुपमा मनाइएको महोत्सव मूल व्यवस्थापन समितिका संयोजक ललित गुरुङले जानकारी दिए । महोत्सवको दोस्रो चरणको शुभारम्भ गर्दै कास्की क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य जगत विश्वकर्माले अन्नपूर्ण आधार शिविरको पदयात्रा मार्गलाई थप व्यवस्थित गरी तत् क्षेत्रको पूर्वाधार निर्माणमा विशेष पहल गर्ने आश्वासन दिए । उनले छोम्रोङ र उरी जोड्ने गरी रोप वे निर्माणका लागि अध्ययन थाल्ने योजना सुनाए ।

कार्यक्रमा कास्की क्षेत्र नं. ३ ख बाट निर्वाचित प्रदेश सभा सदस्य राजीव पहारीले विश्वकै पर्यटकीय गन्तव्य बोकेको पोखरा र यस आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । युवा तथा खेलकूद मन्त्रालयका सचिव महेशप्रसाद दाहाले खेलकूद क्षेत्र पर्यटन प्रवद्र्धनको मेरुदण्ड भएकाले यस क्षेत्रलाई ‘हाई अल्टिच्यूड’ खेलकूद केन्द्रको रुपमा विकास गर्ने सुझाव दिए ।

उनले पोखरालाई खेलकूदको राजधानी बनाउने योजना अघि बढिरहेको सन्दर्भमा यसका आसपासका पर्यटकीय क्षेत्रमा साहसिक खेलहरुको विकास गर्न सके पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

महोसत्व मूल व्यवस्थापन समितिका संयोजक ललित गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य दिपक गुरुङ, एकीकृति माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्म गुरुङ, एमाले कास्कीका सचिवालय सदस्य दिपक पौडेल, क्षेत्रीय अध्यक्ष विष्णुबहादुर के.सी., अन्नपूर्ण गाउँपालिका वडा नं. १० र ११ का वडाध्यक्षद्वय कुमार गुरुङ र हिमबहादुर गुरुङ, तमु ह्यूला छोंजधिका कार्यवाहक सचिव आशबहादुर गुरुङ, पर्यटन व्यवस्थापन समितिका अध्यक्ष किसम गुरुङ, रोधीं क्लबका अध्यक्ष पूर्णप्रसाद गुरुङ, समाजसेवी नजरमान गुरुङ, सेन्चुरी युवा क्लबका अध्यक्ष मिकास गुरुङ, छोम्रोङ आमा समूहका सचिव पूर्णकुमारी गुरुङ, महोत्सवका सहसयंयोजकद्वय भुवनेश्वर गुरुङ र क्षेत्रबहादुर गुरुङ, महासचिव दिपक गुरुङ लगायतले पर्यटन प्रवद्र्धनको विकास र चुनौतिबारे बोलेका थिए ।

यसअघि महोत्सवको प्रथम चरणअन्तर्गत अन्नपुर्ण आधार शिविरमा गत असोज २५ गते सम्पन्न भएको थियो । दोस्रो चरणको उद्घाटनका क्रममा स्थानीय कला शैली र परम्परागत संस्कृतिको विशेष झाँकी प्रदर्शनी गरिएको थियो । मंगलबारदेखि खुला महिला भलिबल प्रतियोगिता, खुला पुरुष भलिवल प्रतियोगिता, खुला बास्केटबल प्रतियोगिता, विशेषज्ञ डाक्टरहरुद्वारा वृहत् निःशुल्क स्वास्थ्य शिविर, घैंटो फुटाउने प्रतियोगिता, पर्यटन सम्बन्धी डकुमेन्ट्री प्रदर्शन, सिर्जनशिल कलाकार समुह पोखराको सहभागितामा कला कार्यशाला र बनाईएका चित्रहरुको प्रर्दशनी लगायतका कार्यक्रम सञ्चालन गरिने छ ।

कमेन्टहरु
Loading...