पोखरा, ९ पुस / लक्ष्मी पोखरा राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोवाइल मेला २०७४, पोखराका स्टलहरु धमाधम बुकिङ भइरहेको आयोजक पोखरा उद्योग वाणिज्य संघले जनाएको छ । मेला यही पुस २७ देखि माघ ८ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना हुँदैछ ।
‘मेलाका रेष्टुरेण्ट तथा डोमभित्रका अधिकांश स्टलहरु बुकिङ भइसकेका छन्’, मेलाको स्टल व्यवस्थापन उपसमितिका संयोजक तथा संघको वाणिज्यतर्फकी उपाध्यक्ष विन्दु कोइराला सुवेदीले भन्नुभयो,‘मेलाका साधारण, मेड इन नेपाल तथा कृषि, हस्तकला,अटोतर्फका स्टलहरुको बुकिङ पनि उत्साहप्रद रहेको छ ।’मेलामा करिब ३ सयवटा स्टलहरु रहेका छन् ।
मेलामा यसपटक दैनिक जीवनमा अपरिहार्य देखिएको मोवाइल प्रदर्शनी तथा बिक्रीलाई विशेष प्राथमिकता दिइएकोले पनि मेलाप्रति आम पोखरेलीको चासो बढेको संघका उद्योगतर्फका उपाध्यक्ष तथा मेलाको प्रायोजक व्यवस्थापन उपसमिति संयोजक गोकर्ण कार्कीले बताउनुभयो । मोवाइलको बृहत प्रदर्शनीले मेलामा बृहत युवा सहभागिता हुने उहाँको अपेक्षा रहेको छ ।
‘राष्ट्रिय औद्योगिक व्यापार मेला सामान्य मेला मात्र नभएर औद्योगिक, व्यवसायिक तथा सूचना प्रविधीको बृहत्तर मेला पनि हो’, उहाँले भन्नुभयो,‘पोखरामा स्थापना भई राष्ट्रियस्तरमा प्रतिष्ठित लक्ष्मी ग्र्ुपले मेलाको मूख्य प्रायोजन गर्नु यसको प्रमाण हो ।’ हरेक मेलामा सक्रिय सहभागिता जनाउँदै आएको लक्ष्मी ग्रुपले यो पटक मेलाको मूख्य प्रायोजन गरेको हो ।
मेलाका साँस्कृतिक व्यवस्थापन उपसमितिका संयोजक तथा कोषाध्यक्ष पवनकुमार प्रजापतिका अनुसार मेलामार्फत अवलोकनकर्तालाई भरपूर मनोरञ्जन दिनको लागि सम्पूर्ण तयारी सम्पन्न भएको छ ।
उहाँका अनुसार मेलामा दैनिक रुपले आयोजना हुने लोकदोहोरी, हाँस्यव्यङ्ग्य,पप तथा आधुनिक गीत, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, फेसन सो र लाइभ कन्सर्टको लागि कलाकारहरु चयन भइसकेका छन् । मेलामा आवश्यकता अनुसार थप मनोरञ्जनात्मक कार्यक्रम पनि समावेश गरिने उहाँले बताउनुभयो ।
संघका महासचिव तथा प्रचार प्रसार समितिका संयोजक दामु अधिकारीका अनुसार मेला तयारीलाई तीव्रता दिने क्रममा सम्पूर्ण उपसमितिहरुले आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक अगाडि बढाइरहेका छन् । ‘मेलालाई भव्य र सभ्य बनाउन हामीले तयारीदेखि नै कुनै कसर बाँकी राखेका छैनौँ’, उहाँले भन्नुभयो,‘मेला र महोत्सवको प्रवर्तक पनि भएकोले हाम्रो अनुभव र संघको देशव्यापी सञ्जालले समेत मेलालाई देशकै उत्कृष्ट मेला बनाउन सहयोग पुगेको हामीले ठानेका छौँ ।’