पोखरामा खुल्यो ‘मिनिसो’को शोरुम

पोखरा, २८ मंसिर /बिनायक ट्रेडिङ इन्टरनेशनल प्रालि पोखराले विश्व प्रशिद्ध जापानिज ब्राण्ड ‘मिनिसोे’को शोरुम सञ्चालनमा ल्याएको छ । शोरुमको बिहीबार एक कार्यक्रमका बीच कलाकार आयुस्मान श्रेष्ठ र कलाकार तथा भलिबल खेलाडी सिपौरा गुरुङले शुभारम्भ गरेका हुन् । पोखरामा बिगत ३० वर्षदेखि बिनायक सुपरमार्केट सञ्चालन गर्दै आएको बिनायक ग्रुपले उक्त ब्राण्डलाई पोखरा भित्र्याएको हो ।

मिनिसोका दैनिक उपभोग्य सम्पूर्ण सामान पोखरा शोरुमबाट बिक्री सुरु भएको प्रवन्ध निर्देशक प्रविन पाखिलेले जानकारी दिए । पोखरामा मिनिसोका करिब ९ हजार प्रकारका सामानहरु बिक्री हुनेछन् । पहिलो चरणमा चिप्लेढुंगामा शोरुम खुलेपछि न्युरोड र लेकसाइडमा बिस्तार गरिने पालिखेले बताए । ‘यो ब्राण्डप्रति पोखरामा निकै आकर्षण देखियो,’ उनले भने, ‘धेरैको माग भएकाले हामीले पोखरामा भित्र्याएका हौं ।’ विश्व प्रशिद्ध ब्राण्डेड सामान सुपथ मूल्यमा ग्राहकले पाउने उनले बताए ।

कस्मेटिक, किचन, इलेक्ट्रोनिक्स, स्टेसनरी, गिफ्ट, सिजनल लगायत सम्पूर्ण प्रकारका दैनिक उपभोग्य सामान शोरुममा उपलब्ध हुने पालिखेले जानकारी दिए । उच्च स्तरीय जापानिज ब्राण्ड, सुपथ मूल्य लगायतका विशेषता मिनिसोका सामानमा रहेको उनले बताए । १ सय २९ रुपैयाँदेखि ७ हजार रुपैयाँसम्मका सामान शोरुमबाट बिक्री हुने निर्देशक प्रतिश पालिखेले जानकारी दिए । शोरुममा पहिलो चरणमा करिब २ करोड रुपैयाँ लगानी भएको पालिखेले बताए ।

नेपाल भित्रिएको छोटो समयमा नै मिनिसो ब्राण्ड प्रति उपभोक्ताको आकर्षण देखिएको नेपालको आधिकारिक बिक्रेता योसो इन्टरनेशनलका अपरेसन म्यानेजर शम्भु तण्डुकारले बताए । काठमाडौंको दरबारमार्ग, जावलाखेल, सुन्धारा, चाबहिल र नयाँ बानेश्वरमा मिनिसोको शोरुम छन् ।

कमेन्टहरु
Loading...