छाता बिग्रिन्छ र त भात पाक्छ

१२ साउन, काठमाडौं । वरपरका मान्छेहरु ठाँटिएर कामधन्दामा निस्केपछि कन्टुक राम भाँचिएका छाताको मुठो चेपेर कोठाबाट निस्कनुहुन्छ । ललितपुर झम्सीखेलस्थित सडकपेटीको बिजुलीपोल मुनी उहाँको आफ्नै बस्ने ठाउँ छ । ‘१० वर्ष भयो यहाँ बस्न थालेको’ कन्टुक रामले अनलाइनखबरसित भन्नुभयो ।
कामको खोजीमा गाउँका साथीहरु सहित उहाँ १२ वर्ष पहिले काठमाडौं आउनुभएको हो । ‘गाउँमा बसेर जीविकोपार्जन गर्न सकिएन, आफू र परिवार पाल्ने उपाय खोज्दै यहाँ आएँ’ उहाँले भन्नुभयो-’अरुथोक जानेको थिइन, यही छाता र जुत्ता मर्मतको काम थालें ।’
1
कन्टुक रामका साथीहरुले पनि यही काम गर्नुहुन्छ । ‘हामी चारजना सँगै बस्छौं, अरु कोही कालिमाटीमा बसेर काम गर्छन्, कोही टेकुमा ।’
आनन्दको काम
छाता बनाउने र जुत्ता सिलाउने काम हेर्दा सानो भएपनि आफूलाई भने आनन्द आउने कन्टुक रामले भन्नुभयो । ‘घामपानीमा भिज्न र दौडधूप गर्न पर्दैन’ उहाँले भन्नुभयो-’दिनभरी यहाँ बसेर कम्तीमा ५ सय त चोखो कमाई हुन्छ ।’
चिनियाँ सस्ता छाता र जुत्ताचप्पलको प्रयोग बढेकाले आफूलाई फाइदा भएको उहाँले सुनाउनुभयो । ‘उ त्यो बहिनीले ओढेको छाता छ नि, अब दुई दिन यसैगरी ओढिन् भने बिग्रन्छ’ सडक छेउमा रातो छाता ओढेर हिंडीरहेकी किशोरीलाई देखाउँदै कन्टुक रामले ठट्टा गर्दै भन्नुभयो-’यसैगरी धेरैका छाता बिग्रन्छ त मेरो घरमा भात पाक्छ, नत्र भोकै हुन्छु नि ।’
2
दिनभर सडकपेटीमा बस्दा उहाँले झण्डै २५/३० वटा छाता र १०/१२ जोर जुत्ता चप्पल बनाउनुहुन्छ । ‘घरमा जहान, केटाकेटीलाई खाना र नाना जोहो गर्ने कमाई यही हो’ उहाँले भन्नुभयो । उहाँ तीन महिनामा एकपटक घर जानुहुन्छ । ‘घर पुग्दा छोराछोरीले बा लाहूरबाट आए भन्ने ठान्छन्, उनीहरुको रहर पूरा गर्नको लागि पनि मैले कामलाई निरन्तरता दिनैपर्छ ।’
3
4

कमेन्टहरु
Loading...