चीनले नपत्याएपछि वैद्यले गुहार्न थाले ज्ञानेन्द्र

राजनीतिक टिप्पणी
८ साउन, काठमाडौं । रेग्मी सरकारसँग वार्ताका लागि टोली गठन गरेकै रात नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य र उपाध्यक्ष सीपी गजुरेल चीन भ्रमणका जानुभो । यो भ्रमणलाई चीनले वैद्यलाई अति नै महत्व दिएको रुपमा धेरैले व्याख्या गरेका थिए । तर, परिणामचाहिँ अर्कै निस्कियो । चीनबाट निराश भएर फर्किएका मोहन वैद्य यतिबेला पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्ने अभिव्यक्ति दिन थाल्नुभएको छ ।gyanendra-vs.-baidya
माओवादी सचिव नेत्रविक्रम चन्दले राष्ट्रियताका नाममा पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न सकिने अभिव्यक्ति दिएलगत्तै सो पार्टीका अध्यक्ष मोहन वैद्यले पनि ज्ञानेन्द्रले श्रीपेचको मोह त्यागे उनीसँग सहकार्य गर्न सकिने बताउनुभएको छ । गद्दीबाट झरिसकेका राजासँग राष्ट्रियताका लागि सहकार्य गर्ने माओवादी नेताहरुको अभिव्यक्तिले सबैभन्दा बढी माओवादीभित्रै तरंग सिर्जना गरेको छ ।
वैद्य र विप्लवले पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य हुन सक्छ भन्नुका पछाडि तीनवटा कारण हुन सक्छन् ः पहिलो, उनीहरुले भन्न खोजेको अर्कै थोक भए पनि मिडियामा सार्वजनिक हुँदा त्यसको भावमा तलमाथि परेको वा ‘टङस्लिप’ पनि भएको हुन सक्छ । दोस्रो, चारदललाई तर्साउन र आफ्नो शक्तिलाई मजबुद देखाउन अनि पूर्वराजावादी शक्तिलाई राष्ट्रिताका नाममा भारतविरुद्ध प्रयोग गर्ने वैद्य माओवादीले योजना बनाएको हुन सक्छ । तेस्रो, विभिन्न शक्तिलाई प्रयोग गर्ने र खेलाउने नीतिअनुरुप ज्ञानेन्द्रलाई आफूतिर तानेर प्रयोगको राजनीति गर्न खोजिएको हुन सक्छ ।
स्रोतअनुसार मोहन वैद्यको टोली र एमाले, कांग्रेसको छुट्टाछुट्टै टोलीहरु बेइजिङमा थिए । तर, तीनै दलका नेताहरुलाई चीनले अलग-अलग रुपमा घुमाएको थियो । प्रदीप ज्ञवाली र सूर्यमान गुरुङले नेतृत्व गरेका एमाले र कांग्रेसका टोलीहहरु नेपाल फर्किने बेलामा मात्रै भेटिएका थिए । वैद्यको टोलीलाई पनि चीनले एमाले कांग्रेस भन्दा अलग्गै घुमाएको थियो ।
चीनले वैद्यलाई महत्व र मेजमान जति नै दिए पनि संविधानसभाको दोस्रो निर्वाचनमा भाग लिन चिनियाँहरुले उनीहरुलाई दबाव दिएर पठाएका थिए । चिनियाँ अधिकारीहरुले वैद्यलाई पनि चुनावमा जान आग्रह गरेर उनीहरुको बहिस्कार योजनामाथि चिसोपानी खन्याइदिएका छन् । एकातिर वैद्यलाई बोलाएर चुनावमा जाऊ भन्नु अनि अर्कोतर्फ एमाले, कांग्रेसका नेताहरुसँग वैद्यबारे चासो राख्नुले चिनियाँहरुले वैद्य माओवादीलाई नपत्याएको पुष्टि हुन्छ ।
वैद्यपक्ष चुनावमा नआए पनि चुनाव गर्न सकिन्छ भन्ने सुरक्षा संयन्त्रले निश्कर्ष निकालिसकेका बेला प्रधान सेनापति गौरब समसेर जबरालाई पनि चीनले आफ्नो देशमा बोलाएर नेपालको आन्तरिक र बाह्य चुनौतीका विषयमा नेपाली सेनाको मत बुझ्ने प्रयत्न गररिरहेको छ ।
माओवादी-राजावादी सहकार्यको सम्भावित दुष्परिणाम
विप्लव र मोहन वैद्यले ज्ञानेन्द्रसँग सहकार्य हुनसक्छ भनेता पनि ज्ञानेन्द्र आफैंसँग कुनै राजनीतिक दल छैन । वैद्य माओवादीले ज्ञानेन्द्रसँग सहकार्य गर्ने हो भने कमल थापाको राप्रपा नेपालसँग सहकार्य गर्नुपर्ने हुन्छ । जबकि कमल थापा कुनै पनि खरो कम्युनिष्ट पार्टीसँग सहकायृ गर्ने पक्षमा देखिँदैनन् ।
वैद्य माओवादीले राजावादीसँग सहकार्य गर्नु वा उनीहरुलाई साथमा लिने कुरा गर्नु भनेको राजतन्त्र फर्काउन सहयोग पुर्याउनु हो । यसको फाइदा वैद्यलाई कम र राजावादीलाई बढ्ता पुग्नेछ । जसका ढाडमा टेकेर राजतन्त्र फर्किए पनि यसले चलाउने निरंकुशता नै हो । र, यसबाट लोकतन्त्र वा कम्युनज्मिलाई फाइदा हुँदैन, बरु राजावादीहरुलाई नै यसबाट सोझो फाइदा पुग्ने छ । त्यसै्रले वैद्य माओवादीका नेताहरुको पूर्वराजासँगको सहकार्यको योजनाले लोकतन्त्र र कम्युनिष्टहरुको सेवा गर्दैन ।
ज्ञानेन्द्रले यतिबेला आफूलाई जीवनभर समर्थन गर्नेहरुलाई समेत विश्वास नगरिरहेको अवस्था छ । कमल थापा, रमशेनाथ पाण्डे, तुलसी गिरी कोही पनि आफ्नो हुन सकिरहेका छैनन् । पूर्वपञ्च सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पशुपतिसमशेर जवराहरु गणतन्त्रको लाइनमा आएका छन् । यस्तो बेलामा वैद्यले ज्ञानेन्द्रसँग सहकार्य गर्ने भन्नु निकै अनौठो कुरा हो ।
विगतमा राजालाई साथ दिन गएकाहरु प्रयोगमात्रै हुने गरेका छन् । केशरजंग रायमाझी पनि मोहन वैद्यभन्दा साना कम्युनिष्ट नेता थिएनन् । पछिल्लो समयमा राजालाई सघाउन गएका राधाकृष्ण मैनाली, कमल चौलागाई र कांग्रेसका प्रकाश कोइरालाहरु यतिबेला के सोचिरहेका छन् र यिनीहरुलाई ज्ञानेन्द्रले सम्झेका छन् कि छैनन् भन्ने कुरा पनि वैद्य माओवादीका नेताहरुले पक्कै विचार पुर्याएको हुनुपर्छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...