विश्वकै उत्कृष्ट बस पोखरा–काठमाडौं सञ्चालनमा (भाडा दर र भिडियो सहित)

सागर राज तिमिल्सिना
पोखरा, ६ असोज/यातायातका साधनमा लगानी गर्दै आएको पोखरा जगदम्बा ट्राभल्स प्रालिले अत्याधुनिक सुविधा सहितको सुपरडिलक्स बसबाट पोखरा काठमाडौ सेवा सुरु गरेको छ । प्रालिले पोखरा काठमाडौं रुटमा शुक्रबारबाट उक्त बस सञ्चालन गरेको हो । बसको पोखरालेखनाथ महानगर पालिकाका मयेर मानबहादुर जिसीले शुभारम्ब गरे । संसारकै उत्कृष्ट स्तरको बस सञ्चालनमा ल्याएको कम्पनीको दावी छ ।

प्रत्येक सिटमा टेलिभिजन तथा खाना टेबल रहने बस २१ सिट क्षमताको रहेको छ । बसभित्रै रेष्टरुम र मिनीबारको सुविधा रहेको उक्त बस पृथ्वी राजमार्ग बस सञ्चालक समिति अन्तर्गत सञ्चालीत छ। प्रत्येक सिटमा छुट्टाछुट्टै टेलिभिजन, रिमोटबाटै सिट फोल्डिङ गरेर सुत्न सकिने, रिमोट सिस्टमबाटै मसाज गर्न सकिने सुविधा उपलब्ध रहेको प्रालिका अध्यक्ष केशब प्रसाद अधिकारीले जानकारी दिए ।

आनन्दसँग सुतेर यात्रा गर्न सकिने उक्त बसमा ब्रेकफास्ट तथा लन्चको सुविधा समेत उपलब्ध रहेको अधिकारीले दावी गरे । बस दैनिक बिहान ८ बजे काठमाडौं र पोखराबाट छुट्नेछ । यात्रुको सुविधाका लागि बस क्रियु खटिनेछिन् । दुई वटा बसमा प्रति बस करिब ४ करोड रुपैयाँ लगानी भएको अधिकारीले जानकारी दिए । अमेरिकाबाट सिट आयात गरी भारतमा टाटाको अत्याधुनिक च्यासिज प्रयोग गरी बस तयार गरिएको उनले बताए ।

बसमा यात्रा गर्न २२ सय रुपैया भाडादर कायम गरेको अधिकारीले बताए । भाडादर ६ सय ५० रुपैयाँ रहेको उक्त बसमा खाना बफेडको ५ सय ५० रुपैयाँ, खाजाको १ सय ५० रुपैयाँ, क्रियु सर्भिस शुल्क ५० रुपैयाँ, काउज सिड शुल्क २ सय रुपैयाँ, मनोरञ्जन शुल्क २ सय ५० रुपैयाँ, चिया, कफी, चिसो तथा चकलेट शुल्क २ सय रुपैयाँ, रेष्टरुम शुल्क ५० रुपैयाँ सहित जम्मा भाडादर २ हजार २ सय रुपैयाँ तय गरिएको उनले बताए । पृथ्विराज मार्ग समिति अन्तर्गत १ हजार ३ सय ५५ गाडी सञ्चालनमा छन् ।

कमेन्टहरु
Loading...