जमिनदारको यौन–शोषणबाट बच्न विवाह

-शान्ता चौधरी-

shantaगाउँका अन्य कमलरी असुरक्षित देखेर आमा निकै डराउनुहुन्थ्यो । मेरी आफ्नै दिदी पनि जमिनदारको पन्जामा परिसकेकी थिइन् । त्यसैले पनि आमा चिन्तित हुनुहुन्थ्यो । उमेर पुगेकी, हुर्केकी छोरीलाई अरुको घरमा काम गर्न पठाउने इच्छा त आमालाई पनि कहाँ थियो र ? तर त्यसो नगरी बाँच्ने अर्को उपाय पनि त थिएन । त्यही चिन्ताले होला, आमा दिनदिनै दुब्लाउँदै जान थाल्नुभयो । चिन्ताले घरी–घरी बिरामीसमेत पर्नुहुन्थ्यो । मेरै कारण उहाँमा देखिएको यस्तो अवस्थाले मलाई पनि थप चिन्तित बनायो । मैले आमालाई अनावश्यक तनाव थोपरेको भान आफैंलाई भयो । त्यसैले आमालाई यस तनावबाट मुक्ति दिलाउनुपर्छ भन्ने पनि लागिरहेको थियो।

जमिनदारलाई सोधेर एक दिन आमाले मलाई घरमा बोलाउनुभयो । मेरो बिहे गर्ने कुरा गर्नुभयो । बिहे नगरेसम्म असुरक्षित रहने भन्दै उहाँले मलाई चाँडै बिहेका लागि प्रस्ताव गर्नुभयो । जमिनदारहरूको केरकार र अनुचित व्यवहारले उहाँ हैरान हुनुहुन्थ्यो । कलकलाउँदो, रहरलाग्दो हाम्रो जवानी देखेर जो÷कोहीको मन लोभिने अवस्था थियो । त्यसैले होला जमिनदारका छोरामात्रै होइन, जमिनदार स्वयम्को पनि व्यवहार अनुचित पाउँथ्यौ हामी । आमाको प्रस्ताव आए पनि मैले यति छिटै बिहे नगर्ने भनें । प्रस्ताव आउँदा भर्खर म १५ वर्षकी मात्र थिएँ । हुन त म आफंैलाई असुरक्षित महसुस भइरहेको थियो । ‘बिहे गर्दिन’ भन्ने अडान मैले लिएपछि आमाले पनि ‘जे मन लाग्छ त्यही गर’ भनेर मतलव गर्न छाडिदिनुभयो । साथीहरूको यौनशोषण भएको देखेपछि म पनि चिन्तित त थिएँ । यौन शोषणबाट बच्ने उपाय बिहे नै हो भने किन नगर्ने भन्ने पनि लाग्न थाल्यो । अनि ‘यौन शोषणबाट सुरक्षा हुन्छ भने म बिहे गर्छु’ भनेर आमालाई सुनाएँ । आमाले पनि ‘बिहे गरेपछि मात्रै तँ सुरक्षित हुन्छेस्, अन्यथा तेरो हाल साथीहरूकै हुन्छ’ भनेर धेरै पटक सम्झाउनुभयो ।

विवाह गर्ने भने पनि कोसँग गर्ने, कहिले गर्ने भन्ने न आफ्नो वशमा हुन्थ्यो न त बाबुआमाकै त्यसमा कुनै भूमिका हुन्थ्यो । मेरो विवाहको कुरा सुनेपछि जमिनदारले केटा खोजिसकेको जानकारी आमालाई दियो । पल्लो जमिनदारको घरमा कमैया बसेको हरिलाल चौधरीसँग बिहे गर्ने प्रस्ताव जमिनदारले राख्यो । म पनि हरिलाललाई राम्रोसँग चिन्थें । सँगसँगै काम गर्ने भएर होला, एक–अर्कालाई हामीले राम्ररी बुझेका पनि थियौं । हाम्रो बीचमा धेरै कुरा पनि मिल्ने गथ्र्यो । इज्जत लुटिएर पीडा सहनुभन्दा त विवाह नै गर्नु बेस होला भन्ने लागेर मैले स्वीकृति जनाएपछि हरिलाल चौधरीसँग २०५२ सालमा विवाह भयो ।

आफूले कोसँग बिहे गर्ने भन्ने निर्णय गर्ने अधिकार कमलरीलाई हुने कुरै भएन । मलाई पनि थिएन । त्यसैले जमिनदारले नै बिहे गराइदिए । तामझाम गरेर भोजभतेर गर्ने हैसियत पनि थिएन । बिहे निश्चित गर्नुअघि मलाई सोध्दा पनि सोधिएन । म अलि हकी स्वभावकी भएकाले हुन सक्छ, जमिनदारले मैले भनेको मान्दिन भनेर आमामार्फत् कुरा चलाएको । अनि जमिनदारले नै म काम गर्ने ठाउँमा हरिलाललाई पटकपटक आउजाउ गर्ने वातावरण पनि मिलाएको रहेछ । जुन कुरा पछिमात्र थाहा भयो । हरिलालकी बहिनी चमेली मेरी साथी हुन । त्यसैले आमाले चमेलीको दाइसँग तेरो बिहे गर्ने हो, असाध्यै मेहनती छ भनेर निकै सम्झाइबुझाइ गर्नुभयो । जमिनदारले पनि त्यो केटो साह«ै असल छ, बिहे गरे हुन्छ भनेर सम्झाए । त्यसपछि ठीकै छ नि त भनेर बिहे गरियो ।

बिहेअघि पनि हरिलालसँग चिनजान भएको मात्र हैन, कैयौं पटक काममा सँगै गएका थियौं । दुःखसुखका कुरा पनि भएकै हुन । तर एकापसमा बिहे गर्नेबारे भने सोचेको पनि थिइन । न उनीसँग बिताएका क्षणमा बिहे, यौन आदिबारे कुनै तरङ्ग नै सिर्जिए । तर जिन्दगी सोचेअनुसारमात्र कहाँ चल्दोरहेछ र ? आज बिहेको कुरा पक्का भयो । भोलिपल्टै डिउहारमा लगेर सिन्दुर हालेपछि बिहे सकियो । सुङ्गुरको मासु ल्याएर सानोतिनो भोज भने खुवाइयो । यसपछि सुखका थुप्रै परिकल्पना मनमा भित्रिए एकातिर भने अर्कोतिर अरुको यौन शोषणमा पर्नु नपर्ने आशा पनि वृद्धि भयो ।

साउन २ गते कमैया मुक्ति दिवसका दिन एमाले अध्यक्ष झलनाथ खनालबाट विमोचन हुने शान्ता चौधरीको किताब ‘कमलरीदेखि सभासद्सम्म’ को एक अंश। शान्ता आफैं १८ वर्ष कमलरी (जमिनदारको घरमा काम गर्न नोकर बस्ने) बसेकी थिइन्। cp. mysansar.com

कमेन्टहरु
Loading...