डागर स्मृति समाजसेवा पुरस्कारबाट साङ्पो सम्मानित

पोखरा, ११ भदौ/समाजसेवी सोनाम साङ्पो ‘डागर स्मृति समाजसेवा पुरस्कार’बाट सम्मानित भएका छन् । पोखरेली समाजसेवी राजन प्राशरको स्मृतिमा उनकी श्रीमती रमा प्राशरले स्थापना गरेको ‘डागर स्मृति समाजसेवा पुरस्कार’बाट साङ्पो सम्मानित भएका हुन् । शनिबार पोखरामा आयोजित कार्यक्रममा लायन ३२५ बि वान नेपालका डिष्ट्रिक्ट गभर्नर एमजेएफ धनराज आचार्यले उनलाई नगद १० हजार पाँच सयसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

सम्मानित साङ्पो २००९ सालमा तिब्बतमा जन्मेर होटल म्यानेजम्मेन्टमा डिप्लोमासम्मको अध्ययन गरेका व्यक्तित्व हुन् । ५३ वर्ष अगाडिदेखि पोखरामा बस्दै आएका साङपो ३५ वर्ष अगाडिदेखि विभिन्न संघसंस्था, पर्यटन व्यवसाय र लायन्स क्लबका माध्यमबाट समाजसेवा गर्दै आएका छन् ।

साङपो पश्चिमाञ्चल होटल संघ पोखरा, राइजिङ सर्कल, बुद्ध जयन्ती समारोह समितिबाट सम्मानित भइसकेका छन् । यस्तै, होटल एसोसियसनको सदस्य र पर्यटन परिषद्मा रहेर पर्यटनका क्षेत्रमासमेत काम गरेका साङ्पोले लायन्स क्लबसँग सम्बन्धित दर्जन बढी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अवार्ड प्राप्त गरिसकेका छन् । बेलायत, अमेरिका, जापान, थाइल्याण्ड, साउथ कोरिया, जर्मनीलगायतका देशको भ्रमण गरेका साङ्पो हाल लायन्स क्लब अफ पोखरा अन्नपूर्णका निवर्तमान अध्यक्ष हुन् ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन ३२५ बि वान नेपालका डिष्ट्रिक्ट गभर्नर एमजेएफ धनराज आचार्यले समाजसेवीलाई सम्मान गर्दा सिंगो समाजनै सम्मानित हुने बताए । उनले समाजसेवा नै देशको प्रगतिको द्योतक भएको पनि बताए । सम्मानित भएपछि बोल्दै साङ्पोले सम्मानले आफूलाई समाजसेवामा लाग्न थप प्रेरित गरेको बताए । उनले समाजसेवा आत्म सन्तुष्टी र आनन्दानुभुतिका लागि गर्नेगरेको बताउँदै आगामी दिनमा पनि यसलाई थप प्रभावकारी ढंगले गर्ने प्रतिबद्धता जनाए ।

प्रतिष्ठानका सदस्य फडिन्द्र अधिकारी ‘अकिञ्चन’ले स्वागत मन्तव्य राखेको कार्यक्रममा अर्का सदस्य असफल गौतमले सम्मानित साङ्पोको व्यक्तित्वमाथी चर्चा गरेका थिए । डागर स्मृति प्रतिष्ठान नेपालले साहित्य र समाजसेवाका क्षेत्रमा कृयाशिल व्यक्तित्वलाई ऋषी पञ्चमीका दिन उक्त पुरस्कार अर्पण गर्दै आएको छ । प्रतिष्ठानका सदस्य लक्ष्मी मल्लको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले यस वर्ष समाजसेवी सोनाम साङपोलाई पुरस्कार योग्य व्यक्तिको रूपमा चयन गरेको थियो ।

यस अगाडि उक्त पुरस्कारबाट साहित्यकार आरएम डंगोल, भीम रानाभाट, राष्ट्रसेवक चन्द्रा गुरुङ, समाजसेवी विश्वमोहन गौचन, रामबहादुर पौडेल, गोविन्दराज पहारी, हरिश्चन्द्र शर्मा सम्मानित भइसकेका छन् ।

कमेन्टहरु
Loading...