पोउवा संघले संचालनमा ल्याएको राहतकोषमा सहयोग बढ्दो

पोखरा, ९ भदौ /  पोखरा उद्योग वाणिज्य संघले सुरु गरेको बाढी पहिरो पीडितलाई राहत प्रदान अभियानमा थप रकम जुट्दै गएको छ । संघले आह्वान गरेको मानवीय अभियानमा पोखरामा रहेका विभिन्न संघ संस्थाहरुले उत्साहप्रद सहभागिता जनाउन थालेपछि यो संभव भएको हो ।
शुक्रबार मात्रै संघले स्थापना गरेको ‘पोखरा बाढी पीडित राहत कोष ’मा चिप्लढुंगा सिद्धार्थ चोक व्यवसायी समितिबाट ५ हजार १ रुपैयाँ, पोखरा भाँडा व्यवसायी संघबाट १०हजार १ सय ५१ रुपैयाँ, अन्नपूर्ण एफएम प्रालिबाट २२ हजार, पोखरा केवल नेटवर्क प्रालिबाट ५ हजार र पोखरा इन्टरनेट प्रालिबाट ५ हजार रुयैयाँप्राप्त भएको छ । पाेखरा भाँडा व्यवसायी संघ र चिप्लेढुंगा सिद्धार्थ चोक व्यवसायी समितिको तर्फबाट अध्यक्ष डिबी भुजेलसहितको प्रतिनिधीमण्डलले सो रकम संघका अध्यक्ष विश्वशंकर पालिखेलाई हस्तान्तरण गर्नुभयो । हालसम्म सो कोषमा ९ लाख २८ हजार १ सय १७ रुपैयाँ जम्मा भएको छ ।
बाढी र पहिरोबाट सिङ्गो देश प्रभावित बनेका बेला आफ्नो दायित्ववोध मनन गर्दैै पोखरा उद्योग वाणिज्य संघले साउन ३० गते बाढी पहिरो पीडितहरुको सहयोगार्थ ‘पोखरा बाढी पीडित राहत कोष ’स्थापनाको निर्णय गरेको थियो । राहत संकलनको यो अभियानमा पोखरामै रहेको रेडियो अन्नपूर्ण, समाधान राष्ट्रिय दैनिक तथा गण्डकी टेलिभिजनले समेत सहकार्य गरेका छन् ।
सो कोषमार्फत सहयोग गर्न चाहनेहरुलाई  ओम डेभलपमेण्ट बैंकको खाता नम्बर १८०००० मा जम्मा गरी भौचरको प्रतिलिपी संघको सचिवालयमा पठाउन वा पोखरा उद्योग वाणिज्य संघको सचिवालयसहित रेडियो अन्नपूर्ण, समाधान राष्ट्रिय दैनिक तथा गण्डकी टेलिभिजनको कार्यालयमा सोझै प्रदान गर्न सकिने पोखरा उद्योग वाणिज्य संघले जनाएको छ ।
कमेन्टहरु
Loading...