भदौ ५ गते १८ वर्ष पुगेकाले मात्र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदान गर्न पाउने

काठमाडौं, ८ भदौ /निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यही भदौ ५ गते १८ वर्ष उमेर पुगेका र फोटो सहितको मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मात्र मतदान गर्न पाउने व्यवस्था गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहिबार​​ बसेको आयोगको बैठकले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा यही भदौ ५ गते १८ वर्ष उमेर पुगेका र फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले मात्र मतदान गर्न पाउने निर्णय गरेको हो ।

सरकारले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन आगामी मंसिर १० गते आइतबारका लागि घोषणा गरिसकेको छ ।सरकारले निर्वाचन गर्ने गरी मिति घोषणा गरेकै दिनलाई आयोगले १८ वर्ष उमेर पूरा भएको दिन मानेको हो ।मतदाता नामावली ऐन, २०७३ को दफा ६ (ख) अनुसार आयोगले १८ वर्ष उमेर पूरा भएको मिति तोक्ने व्यवस्था अनुसार मतदाताको १८ वर्ष पुगेको मिति तोकेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

आयोगले भदौ ३ गतेसम्म मतदाता नामावलीका लागि नाम संकलन/दर्ता भएका व्यक्तिको विवरण रुजु गरी मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु गर्ने निर्णय समेत गरेको उनले जानकारी दिए । यस्तै, निर्वाचन आयोगले सरकारले हालै थप गरेका दुई जिल्ला सहित मुलुकमा कायम भएका ७७ जिल्ला समन्वय समितिको निर्वाचन जिम्मेवारी पूरा गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषदको भदौ ५ गतेको बैठकले नवलपरासी र रुकुमलाई दुई/दुई जिल्ला बनाउने निर्णय गरेको थियो ।सरकारको निर्णयानुसार आयोगले प्रदेश नम्बर–४ मा पर्ने र प्रदेश नम्बर–५ मा पर्ने नवलपरासी गरी दुई तथा प्रदेश नम्बर–५ मा पर्ने र प्रदेश नम्बर–६ मा रहने रुकुम गरी कायम भएका दुई जिल्ला सहित चार जिल्लामा जिल्ला समन्वय समितिको निर्वाचन गराउने निर्णय गरेको हो ।

आयोगले उक्त जिल्लामा निर्वाचन गराउनका लागि चारजना जिल्ला न्यायाधीशको नामावली उपलब्ध गराउन कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए । उक्त जिल्लामा जिल्ला समन्वय समितिको कार्यालय तथा स्थानीय विकास अधिकारीको व्यवस्था गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पत्राचार गर्ने निर्णय पनि आयोगले गरेको छ ।

कमेन्टहरु
Loading...