कास्कीका ९५ प्रतिशत खेतमा रोपाई सकियो

गोकुल बानियाँ
पोखरा, १ साउन/ मनसुन चाडै सक्रिय हुदा असार महिना सकिदा यो बर्ष कास्कीका ९५ प्रतिशत खेतमा धान रोपाई सकिएको छ । पर्याप्त बर्षा भएकाले छिटो रोपाई सकिएको हो । बाकी ५प्रतिशत खेतमा पनि साउन पहिलो साता रोपाई सकिने जिल्ला कृषी बिकास कार्यालय कास्कीले जनाएको छ ।अघिल्लो बर्षको यहि समयमा ४० प्रतिशत खेतमा मात्र रोपाई सकिएको थियो ।

कास्कीको फेवा , कुडहर, ठुलाखेत, अर्मला, शिशुवा लगायतका धान फल्ने ठुला फाटहरुमा पूर्ण रुपमा रोपाई सकिएको कृषी प्रसार अधिकृत निलकण्ठ कोईरालाले जानकारी दिए । मनसुन चाडै सक्रिय भएको, कृषकहरुले समयमै बिउ राखेको र पानी पर्याप्त भएकाले रोपाई चाडै सकिएको उनले बताए ।

कास्कीको २७ हजार हेक्टर क्षेत्रफलमा धान खेति हुने गरेको छ भने यस क्षेत्रको उत्पादकत्व ३ मेट्रिक टन प्रतिहेक्टर रहेको छ । कास्कीमा बिशेषगरी उन्नत जातमा सुधारिएको जेठोबुढो, मन्सुली , खुमल चार, राधा ७, राधा ९, माछापुछ«े ३, बिध्यश्वरी, ताईचुङ, मकवानपुरे, र स्थानिय जातमा पहेले, बिरमफुल, अनदी , जर्नेली, गुर्दी लगायतका धानको जातहरु ल्गाउने गरिएको छ ।

त्यस्तैै पश्चिमाञ्चलको तराई क्षेत्रमा भन्दा पहाडमा धेरै रोपाई भएको छ । पहाडी क्षेत्रमा ७१ दशमलब ५४ र तराईमा ५६ दशमलब ६६ प्रतिशत रोपाई सकिएको क्षेत्रिय कृषी निर्देशनालय पोखराले जनाएको छ । औषतमा यस क्षेत्रको ६८ दशमलब ३५ प्रतिशत खेतमा रोपाई सकिएको छ । पश्चिमाञ्चलको कास्कीमा सबैभन्दा बढी ९५ प्रतिशत र सबै भन्दा कम कपिलबस्तुमा ३५ प्रतिशत रोपाई सकिएको छ । असार सकिदा नवलपरासीको ८५ प्रतिशत खेतमा रोपाई भएको छ भने बाग्लुङ, तनहु, पाल्पा र लम्जुङमा ८० प्रतिशत रोपाई सकिएको छ ।

निर्देशनालयका कृषी प्रसार अधिकृत केशब बरालका अनुसार अर्घाखाचीमा ७३, स्याङजामा ७२, पर्बत र गुल्मीमा ६०, म्याग्दीमा ५२, गोर्खामा ५५ , रुपन्देहीका ५० प्रतिशत खेतमा रोपाई सकिएको छ । तराईमा बढी पानी पर्दा डुवानको समस्याले पनि रोपाई ढिला भएको निर्देशनालयले जनाएको छ ।

कास्कीका कतिपय क्षेत्रमा लगाईएको धानमा हिस्पा , पातबेरुवा र गबारो किराको प्रकोप देखिएको जिल्ला कृषी बिकास कार्यालयले जनाएको छ । कास्कीको अर्मला, लेखनाथ तथा बिरौटा फाटमा किराको प्रकोप देखिएपछि किटनासक औषधिको प्रयोग गर्न किसनहरुलाई आग्रह गरिएको छ । यसैगरी जिंक सल्फेडको कमीले कतिपय स्थानमा खैरे रोगको प्रकोप देखिएको छ ।

सुरुवातमै धानमा देखिन सक्ने रोगको प्रकोप तथा अन्य समस्या प्रति उच्च सतर्कता अपनाउन माताहातका जिल्ला कृषि विकास कार्यालयहरूलाई क्षेत्रीय कृषि निर्देशनालय पोखराले निर्देशन दिईसकेको छ ।

कमेन्टहरु
Loading...