रक्त संकलन ? भो, रिट्विट गरिन्न

गिरीश गिरी काठमाडौं, साउन १

घटना १ (केही महिना पहिले)

फेसबुकमा रगत चाहियो भन्नुभएको रहेछ । म रक्तदान गर्न तयार छु।
फोन उठाउने – (झर्किंदै) यो के नचाहिने आइलागेको हो ? अस्तिनै पाइसकेको रगतको फोन अहिले पनि आउँदैछ । अफ गरेर राखेको फोन उठाउनेबित्तिकै फेरि त्यहि रगतै सोध्न पो आयो । अब नगर्नुस् है।

1घटना २ (केही साता पहिले)

ट्विटरमा ग्रुप मिल्दो रगत चाहियो भनेपछि म रक्तदान गर्न तयार भएँ । सामाजिक सञ्जाल मार्फत रगतको बन्दोबस्त मिलाउँदै आएका तन्नेरी जमात ‘युथ फर ब्लड’ले गरेको आह्वान थियो त्यो। समूहका सदस्यलाई आफ्नै मोटरसाइकलमा राखेर काठमाडौंको १५ किलोमिटर जति कठिन ट्राफिक छिचोल्दै बाँसबारीस्थित गंगालाल हृदयरोग उपचार केन्द्र पुगियो । सुरुमा बन्दोबस्त मिलाउनै आधा घन्टा लाग्यो । त्यसपछि क्रस म्याचिङका निम्ति लाइन लाग्यौं । त्यहाँ प्राप्त फारममा सबै विवरण भरिसकिएको थियो । एकैछिनको पर्खाइपछि झसंग हुने खबर पो पाइयो।
‘सरी है, तपाईंको ग्रुपको रगत चाहिएकै हैन,’ अघि लगेको फारम फिरफिर हल्लाउँदै आएका साथी भनिरहेका थिए, ‘डाक्टरले अर्कै ग्रुप भनेका रहेछन्, ट्विट गर्दा अर्कै ग्रुप परेछ।’
त्यसदिन बाँसबारीदेखि बालकुमारीसम्म फर्केर आउँदा झरीमा निथ्रुक्क रुझ्नुपर्‍यो।

घटना ३ (आइतबार राति)

ट्विटरमै फेरि मिल्दो रगतको माग थियो । यसपाला रिट्विट गर्ने साथी थिए, पत्रकार अर्पण श्रेष्ठ । त्यहाँ दिइएको नम्बरमा धमाधम फोन गरियो, उठाउँदै उठाएनन् । वाक्क भएर त्यो प्रयास छाडियो। अबेर राति उतैबाट फोनको घन्टी बज्यो । जम्मा एकपटक बजेर राखिएको (मिस्कल) अघिकै नम्बर थियो । त्यसमा फेरि प्रयास गर्दा घन्टी गएपिच्छे लाइन काटियो।
त्यसयता मैले सामाजिक सञ्जालमा लगातार देखापरिरहने रक्तदानसम्बन्धी सूचनाहरु बेवास्ता गर्न थालेको छु । तर, कहिलेसम्म?
मान्छेले दान नगरे त्यत्तिकै खेर जाने आफ्नो शरीरको कुनै चिज अर्काका निम्ति जीवनदान सरह हुनसक्छ । यो महत्व बुझेरै मैले १५ पटकभन्दा बढी रक्तदान गरिसकेको छु । केही वर्षयता सामाजिक सञ्जालको व्यापक प्रचलन बढेर गएपछि रक्तदानजस्तो मामलामा पनि यो अत्यधिक उपयोगी हुनसक्छ भन्नेमा दुइमत छैन । यसलाई कसरी व्यवस्थित पार्ने भन्नेमा कसैको ध्यान पुगेको देखिँदैन।
जथाभावी पोस्ट, सेयर र रिट्विट गरिने क्रमले कहिलेकाहीँ हप्तौंसम्म एउटै सूचना आदानप्रदान भइरहेको हुन्छ । एक त बिरामीको चिन्ताले आफन्तलाई त्यसै गाँजिरहेको हुन्छ । त्यसमाथि समाधान भइसकेको रगतकै कुरालाई लिएर तारन्तार फोन आइरहँदा उनीहरुलाई झर्को लाग्नु स्वाभाविक हो । उता केवल एक क्लिकका भरमा ‘समाजसेवा’ गर्न पाइने भएकाले यस्ता सन्देशहरुलाई जसले पनि सहजै सेयर वा रिट्विट गरिरहेका हुन्छन्।
सायद यस्तै समस्याले गर्दा सामाजिक सञ्जालमार्फत आएका दर्जनौं सूचना पछ्याउँदा पनि मैले आजसम्म एकपटक पनि यसमार्फत् रक्तदान गर्न पाएको छैन। जबकि यो माध्यम प्रभावकारी भइदिए अत्यन्तै सहज हुने जानकारी स्वयं यस क्षेत्रमा लागिरहेकाहरु दिन्छन्।
‘ट्विटर र फेसबुकमा थुप्रै सदस्य बनाइसकेका छौं,’ हाम्रो ब्लड डट कमका सुरज अर्याल भन्छन्, ‘तर, अहिले पनि अत्यधिक रगत जुटाउने माध्यम चाहिँ हाम्रो आफ्नै डाटाबेस र एसएमएस मात्र भइरहेको छ।’
सामाजिक सञ्जालमा आह्वान गरेर प्राप्त हुने रगतभन्दा यसबाट इच्छुक रक्तदाताको तथ्यांक संकलन गर्न मद्दत मिलिरहेको उनी सुनाउँछन् । यस्तो तथ्यांक बेवसाइटमा नियमित ‘अपडेट’ भइरहेका हुन्छन् । यस आधारमा टेलिफोन वा एसएमएस मार्फत् रक्तदातालाई बोलाएर संकलन गर्नु नै अहिले सबैभन्दा बढी प्रचलनमा रहेको अभ्यास हो । ‘जबकि यो माध्यमबाट यसभन्दा निकै बढी लाभ लिन सकिन्छ,’ उनी भन्छन्, ‘जसमा हामी मात्र होइन अरु पनि कसैले सफलता पाइरहेका छैनन्।’
केही वर्षअघि स्वयंसेवाका हिसाबले रक्त संकलन समूह स्थापित गर्दा सुरजले सामाजिक सञ्जाललाई नै रक्त संकलनको प्रमुख आधार बनाएका थिए।
‘आह्वान गरेको कुनै रगत तत्कालै पाइन्छ, कुनै केही दिनसम्मै पाइँदैन,’ उनी भन्छन्, ‘यस्तोमा कतिपयले ‘कपी पेस्ट’ गरेरै छरिसकेका सन्देशलाई हामी आफैँले ‘म्यानुअली’ डिलिट गर्दा पनि समस्या चर्किसकेको हुन्छ।’
सामाजिक सञ्जालका अनुभवीहरु यस्ता सन्देशलाई कपी गरेर पेस्ट चाहिँ कहिल्यै गर्न नहुने सुनाउँछन्।
‘सेयर वा रिट्विट मात्र गरियो भने ओरिजिनल म्यासेज डिलिट गर्ने बित्तिकै अरु पनि हराउँछन्,’ सामाजिक सञ्जालका अभ्यस्त पत्रकार अर्पण श्रेष्ठ भन्छन्, ‘कसैकसैले टाइमलाइनमा देखिएको म्यासेज कपी-पेस्ट वा आफैंले लेखेर पोस्ट गरिदिन्छन् जसलाई सन्देश प्रवाहकर्ताले चाहेर पनि मेटाउन सक्दैन।’
समस्या सन्देश प्रवाहकर्ताहरुमै पनि छ । उनीहरु एकपटक राखिसकेको सन्देशलाई रक्त संकलन भइसकेपछि नियमित मेटाउने गर्दैनन्।
‘यस्तोमा जान्नेहरुले त त्यो सन्देश कति पुरानो हो भन्ने बुझेरै सेयर वा रिट्विट गर्छन्,’ अर्पणको भनाइ छ, ‘नजान्ने सामाजिक सञ्जाल प्रयोगकर्ताहरु भने देख्नेबित्तिकै फ्याट्ट सेयर वा रिट्विट गरेर समस्या बल्झाइदिन्छन् ।’
मुलुकमै बढी रक्त संकलन र वितरणको काम रेडक्रस सोसाइटीको ‘ब्लड बैंक’बाट भइरहेको छ । काठमाडौंमै दैनिक चार सयभन्दा बढी पिन्ट रगत ब्लड बैंकबाट संकलन र वितरण भइरहेको छ । उनीहरु आज पनि रक्त संकलनको परम्परागत तरिका अपनाइरहेको र यो नै प्रभावकारी रहेको बताउँछन्।
‘कहिलेकाहीँ नेगेटिभ ग्रुपले अप्ठेरो पार्दा आधुनिक माध्यमबाट पनि रक्त संकलनका निम्ति ध्यान दिउँ कि भन्ने लागिरहेको छ,’ ब्लड बैंककी प्रमुख डा. मनिता राजकर्णिकार भन्छिन्, ‘तर, त्यो आफैं व्यवस्थित नभइसकेकाले सुरुवात गरिसकेका छैनौं।’
यस मामलामा सबैभन्दा व्यवस्थित तरिका भने अहिलेसम्म युवा स्वयंसेवी जमातकै अर्को समूह ‘युथ फर ब्लड’ले अपनाइरहेको देखिन्छ।
‘हामीले कहिल्यै बिरामी वा उनका आफन्तको नम्बर सामाजिक सञ्जालमा हाल्ने गर्दैनौं,’ समूहका रविन चापागाइँ भन्छन्, ‘हाम्रो आफ्नै नम्बर दिइने भएकाले इच्छुकहरुको फोन हामीलाई नै आउँछ र हामी अफिसबाटै त्यसलाई व्यवस्थित गरिदिन्छौं।’
यो उपाय अपनाएकै कारण कुल रक्त संकलनमध्ये १० प्रतिशत सामाजिक सञ्जालबाटै उपलब्ध भइरहेको रविन सुनाउँछन् । दुई वर्षअघि विराटनगरबाट सुरु भएको उनीहरुको यो पहलमा अहिल्यै ३ सय स्वयंसेवी जुटिसकेका छन्।
रक्तदानजस्तो संवेदनशील कुरालाई सामाजिक सञ्जालको बढ्दो प्रचलनसँग जोड्दै लैजानु जरुरी भएको सबै ठान्छन् । यसनिम्ति भरपर्दो ढंगले सूचना संकलन गर्ने र जिम्मेवारीपूर्वक प्रवाह गर्ने तरिकाको खोजी आवश्यक छ।
‘गर्नुपर्ने धेरै काम भइरहेका बेला यो पनि एउटा देखापरेको हो,’ अर्पण भन्छन्, ‘रक्त संकलन र सामाजिक सञ्जाल दुवैमा सक्रियहरु बसेरै यसबारे ठोस नीति बनाउन सके यो आधुनिक तरिकालाई भरपर्दो बनाउन सकिन्थ्यो।’
 

– See more at: http://setopati.com/samaj/2465/#sthash.XBHR5T8x.dpuf

कमेन्टहरु
Loading...