प्रदीप पौडेल
पोखरा, २१ साउन /पृथ्वी राजमार्ग बस सञ्चालक समिति अध्यक्षमा ऐनकुमार साई तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष र महासचिव पुरानै अनुहार छन् । समितिको ४७ औं वार्षिक साधारणसभा तथा ३४ औं अधिवेशनअन्तर्गत गए राति सकिएको मतगणनामा अध्यक्षका प्रत्यासी रमाकान्त गौतमलाई ४३० मतअन्तरले पराजित गर्दै साई निर्वाचित भएका हुन् । साईको पक्षमा ७३३ र गौतमको पक्षमा मात्र ३०३ मत परेको छ । निर्वाचनमा १ हजार ९१ मत खसेको थियो ।
आगामी २ वर्षे कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा विज्ञानप्रसाद श्रेष्ठ विजयी भए । अघिल्लो कार्यकालमा पनि महासचिव रहेका श्रेष्ठ ६९९ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी भरतकुमार मल्लले २९१ मत ल्याए । उपाध्यक्ष दुई जनामा धर्मराज अर्याल (४२५) र ओमप्रसाद कार्की (४०९) विजयी भए । पाँच जनाको प्रतिष्पर्धा रहेको उक्त पदमा ज्ञानबहादुर केसी (३५७), मोहनबहादुर कोइराला (२६७) र कृष्णबहादुर मास्कीमगर (८५) पराजित भए ।
महासचिवमा योगेन्द्रबहादुर केसी नै दोहोरिए । उनले विश्वराज बराललाई भारी मतअन्तरले पराजित गर्दा केसीको पक्षमा ७३३ र बरालको पक्षमा २७६ मत परेको छ । कोषाध्यक्षमा जसबहादुर गुरुङ (५४५) विजयी भए । उनले जयप्रकाश शर्मा (४३२) लाई पराजित गरेका हुन् । सचिवमा तीन जनाको प्रतिष्पर्धामा मेघराज त्रिपाठी (३१९) विजयी भए । रामचन्द्र लामिछाने (३१५) र प्रकाश गौतम (३०१) पराजित भए ।
सहकोषाध्यक्षमा कृष्णबहादुर बल्छ्यौली (३५३) विजयी हुँदा कमलसिंह तामाङ (३२४) र दीपकराज अधिकारी (२७२) मत ल्याए । महिला सदस्यमा आइतकुमारी गुरुङ निर्वाचित भइन् । उनले ५३६ र उक्त पदमा पराजित मनशोभा गुरुङले ३४७ मत ल्याइन् । रेशमबहादुर थापा संयोजक रहेको तीन सदस्यीय लेखा समिति सर्वसम्मत भयो । सदस्यमा सूर्यबहादुर शाही र शारदा काफ्ले छन् ।
खुला सदस्यतर्फ १९ जनाको उम्मेदवारी परेकोमा सात जना निर्वाचित भए । निर्वाचित हुनेमा अशोककुमार चौधरी (५१२), बाबुराम दवाडी साहिँला (३५१), वीरेन्द्रराज श्रेष्ठ (३५१), कृष्णबहादुर केसी (३४१), काशी शर्मा न्यौपाने (२९९), विष्णुबहादुर खड्का (२९४), रमेशकुमार श्रेष्ठ (२८८) छन् ।
क्षेत्रीय सदस्यतर्फ श्रीराम श्रेष्ठ (डुम्रे), श्यामलोचन सापकोटा (वीरगञ्ज), सन्देश रानाभाट (दमौली), प्रेमबहादुर बोगटी (गोरखा), अर्जुनकुमार श्रेष्ठ (स्याङ्जा), गोपालबाबु श्रेष्ठ (नारायणगढ), वुद्धिबहादुर घिमिरे (वेसीसहर) र खोमबहादुर थापा (काठमाडौं) निर्विरोध भएको पृथ्वी राजमार्ग बस संचालक समिति शाखा कार्यालय वालिङ शाखा प्रमुख बिमल अर्यालले जानकारी दिए ।
स्टेरिङ कमिटीको संयोजकमा प्रेमबहादुर कार्की, सहसंयोजकमा तुलबहादुर गुरुङ, सदस्यमा कृष्ण पौडेल, राजेन्द्रकुमार केसी र जीवन कायस्थ निर्विरोध भए । निर्वाचनका लागि संयोजक दामोदर अधिकारीको टोली खटिएको थियो ।