एमाओवादीमा ‘हेर्डक्वार्टर’ मात्र राख्ने भट्टराईको प्रस्ताव

पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराईको ‘पदत्याग’को घोषणासँगै एनेकपा माओवादीमा चुलिएको सांगठनिक संकटको निकास अझै निस्कन सकेको छैन। साउन ४ गतेलाई बोलाइएको पार्टीको विस्तारित बैठकअगावै समस्याको निकास निकाल्न नेताहरू भने भर–मगदुर प्रयास गरिरहेका छन्।baburam-150x150

पछिल्लो पटक भट्टराईले आफूजस्तै पार्टीका अन्य पदाधिकारीले पनि ‘पदत्याग’ गर्ने र अध्यक्ष मात्र रहेको सर्वाधिकार सम्पन्न ‘हेर्डक्वार्टर’ कायम गर्ने पस्ताव गरेका छन्।

हेटौडा माहाधिवेशनपछि एमाओवादी पार्टी पदाधिकारीमा अध्यक्ष दाहलसहित उपाध्यक्ष भट्टराई अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पार्टी महासचिव पोष्टबहादुर बोगटीमात्र कायम छन्।

भट्टराईको प्रस्तावलाई श्रेष्ठ र बोगटीले ठाडो चुनौती दिएका छन्। उनीहरूले भट्टराईको पदत्याग ठिक भएको भए त्यसलाई स्वीकार गर्नुपर्ने होइन भने अरूको मानमर्दन गर्दै त्यसमा तान्न नहुने तर्क गरेका छन्।

श्रेष्ठ र बोगटीको बिरोधपछि पार्टी अध्यक्ष दाहालले पनि ‘बाबुरामको प्रस्ताव ठिक त होइन। तर, समस्या समाधानको लागि एउटा विकल्प हुनसक्छ कि भन्ने हो’ भनेर नेताहरूलाई स्पष्टिकरण दिएका छन्।

एमाओवादीका एक नेता भने दाहाल मात्र सम्मिलित शक्तिशाली हेर्डक्वार्टर बनाउने प्रस्ताव भट्टराई र दाहाल दुबैको स्वार्थअनुरूप आएको दाबी गर्छन्।

‘बाबुरामजीलाई पदत्याग ‘निल्नु न ओकल्नु’ भएको छ। अध्यक्ष कायम राखेर अरूले राजिनामा दिए आफ्नो समस्या पनि समाधान हुने प्रतिस्पर्धीको मेख पनि मारिने उहाँको ताक हो,’ ती नेताले भने।

पदत्यागका कारण पदाधिकारी बैठकमा औपचारिक रूपमा संलग्न हुन भट्टराईलाई अफ्ठेरो परेको छ। केही दिनअघि पार्टीका उच्च नेताहरू संलग्न एक बैठकमा भट्टराईले तिखो आलोचना खेप्नुपर्‍यो।

उपाध्यक्ष श्रेष्ठले ‘तपाइँले साँच्चै पदत्याग गरेको हो भने, पदाधिकारी बैठकमा तपार्इंलाई के भनेर बोलाउने? यसले तपाईंलाई पनि र हामीलाई पनि अफ्ठेरो पार्छ’ भनेका थिए। पार्टीले नै पदाधिकारीहरूले राजिनामा लिने निर्णय गरे आफ्नो पदत्याग पनि फिर्ता गर्नु नपर्ने र पार्टीको निर्णायक तहमा पनि उपस्थित हुन पाइने हुनाले अध्यक्ष दाहाललाई सोही अनुसार निर्णय गराउन भट्टराई लागि परेका छन्।

पार्टी हेर्डक्वार्टरमा शक्ति केन्द्रित गर्ने दाहालको मनसाय पुरानै हो। जनयुद्वको दौरान र पार्टी खुला राजनीतिमा आएपछि धेरै लामो समयसम्म हेर्डक्वार्टरमा दाहालको एकाधिकार थियो।

पार्टी शक्ति धेरै केन्द्रित भयो र अन्य नेताले भूमिका पाएनन् भनेर तीब्र विरोध भएपछि चार वर्षअघि एमाओवादीले पार्टीमा बहुपदको धारणा ल्याएको थियो।

बहुपद सिर्जना भए पनि यसको व्यवहारिक कार्यान्वयन नभएको भन्दै दाहालविरुद्ध भट्टराई, वैद्य र श्रेष्ठ खेमाले ‘धोबीघाट’ गठबन्धन गरेका थिए।

धोबीघाट गठबन्धनले वरिष्ठ उपाध्यक्ष मोहन वैैद्यलाई पार्टी संगठनात्मक भूमिकामा भट्टराईलाई प्रधानमन्त्रीको उमेद्वार र रामबहादुर थापालाई माओवादी लडाकुहरूको संयोजन गर्ने जिम्मा दिनुपर्ने निर्णय गरेको थियो। केही गरी एकल हेर्डक्वार्टरको निर्णय गराउन नसके भट्टराईलाई वरिष्ठ नेताको पद सिर्जना गर्ने तयारीमा दाहाल रहेको उनी निकट एक नेताले बताए।

‘बाबुरामजी पनि यसमा सिद्धान्ततः सहमत हुनुहुन्छ। तर पनि उहाँको जोड सबै पदाधिकारीले राजिनमा दिँदा नै राम्रो हुन्छ भन्ने छ,’ ती नेताले बताए ।

अध्यक्ष दाहालले अर्को विकल्प पनि सुझाएको उनले दाबी गरे – पार्टीले भट्टराईको निर्णयको स्पीरिडको सम्मान गर्दै उपाध्यक्ष पद नछोड्न निर्देशन दिने।

‘आफूले सार्वजनिक रूपमै पदत्यागको पटक–पटक बचाउ गरिसकेकोले उपाध्यक्षमा कायम रहन अफ्ठेरो हुने उहाँले बताउनु भएको छ,’ ती नेताले भने।

आज(आइतबार)विहान मात्र पनि दाहालले भट्टराईसँग समस्याको निकासबारे लामो छलफल गरेका छन्। साँझ सबै नेताहरूसँग छलफल गर्ने उनको योजना छ। ‘भोलिसम्ममा यो विषय टुङ्ग्याउने भन्ने पक्षमा अध्यक्ष हुनुहुन्छ,’ ती नेताले भने।

– See more at: http://setopati.com/raajneeti/2410/#sthash.b7byFPKp.dpuf

कमेन्टहरु
Loading...