अनकन्टार डाँडामा करिना कपुर

गिरीश गिरी/ पानी पनि यस्तो बेला थामियो, यो ओरालो बाटोमा अब अँध्यारोको चिन्ता सुरु भएको छ । हामी सोझै फलियागाउँ जानुपर्ने । तर, मास्तिर गाउँहरुमा पुराना लोकगीत पाइन्छ भनेर नेपथ्यका गायक अमृत गुरुङको जोड एकपटक त्यसतर्फ जाने चल्यो । त्यसले बित्थामा समय खाइदियो । म्याग्दीका यी भीरले त्यस साँझ गतिलै चुनौति दिइरहेको थियो । उक्लँदा त दम्सालै थियो, ओर्लदाचाहिँ ठाउँठाउँमा चिप्लिएर चार हातखुट्टै टेक्नुपर्‍यो।

यसरी आइपुगेको थियो हामी बास बस्ने स्थान अर्थात् विष्णु होटल, फलियागाउँ । घरको छेवैमा सानो भान्छा थियो । धुँवामात्रै पुतपुताइरहेको झ्यालबाट आधा शरीर निकालेर साहुनीले सुत्ने कोठा देखाइदिइन्।

‘ऊ त्याँ लगेर सामान राख्नुस्।’

कोप्चो सिँढीमा टाउका जोगाउँदै माथि उक्ल्यौं । कोठाको ढोका खोल्नेबित्तिकै मन ठन्डा भयो । सुविधाले होइन, भित्तामा टाँसिएका पोस्टरहरुले।

झन्डै दस दिनसम्मै खानै नपाउने डाँडाकाँडा घुमेर फर्केका हाम्रालागि केट्रिना कैफ, प्रिटी जिन्टा, रानी मुखर्जी र करिना कपुर एक से एक एक्सनमा स्वागत गरेर उभिइरहेका थिए। एक नजर सर्रर हेर्नेबित्तिकै मैले आफ्नो झोला करिना कपुर र केट्रिना कैफको ठीक मुन्तिर खाटमा फ्याँकिहालेँ । सारीले घुम्टो ओडेको अनि हातमा पूजाको थाली लिएकी यी रानी मुखर्जीहरु कुरै बुझ्दैनन् । उता करिनालाई देखेर म मनमनै द्रवित थिएँ, ठीक त्यसैगरी जसरी एक वर्षअघि हामी दुईजना नै पूर्वी नेपालतर्फको यात्रामा गएका थियौं।

त्यतिबेला ओखलढुंगाबाट सोझै दिक्तेल जाने हाम्रो योजना थियो । रुम्जाटारमा भात खाँदै गर्दा साहुजीले हामीलाई परका लहरै डाँडा देखाएर अथ्र्याइ दिए।

‘ऊ…त्यो डाँडाको ठीक पारिपट्टि हलेँसी महादेव पर्छ।’

अमृत दाइलाई अब हलेँसी नगइ भएन । हामीले पदयात्रालाई कम्तीमा दुई दिन लम्ब्याउँदै बाटो तेर्सो पा¥यौं र पूर्व नगएर दक्षिण उक्लन थाल्यौं । निसुंखेको ज्यानमारा उकालो । पारि दूधकोशी बगेको छ । त्यसमा मिल्न आतुर अरु खोलाहरु पनि यतातिर उसैगरी बगेका छन् । त्यहीँनिर माथि डाँडामा भने थोप्पै पानी छैन । नेपालका अधिकांश पहाडी भेगको साझा समस्या । यो हो रुक्मांगद् कट्वालको गाउँ, जहाँ आज पनि थुप्रै रुक्मांगद् जन्मिरहेकै होलान् । तर, ऊ रुक्मांगद् काठमाडौं पुग्यो, यिनीहरु कहिल्यै पुग्दैनन्।

डाँडाको टुप्पोमा लस्करै बसेको निसुंखेमा सबैभन्दा सुकिलो स्थान कुनै देखिन्थ्यो भने एउटा शिक्षण संस्था । कट्वालकै अर्धांगिनी उमाको नाममा स्थापित । अरुको अवस्था बारे कुरै नगरौं । हामी बसेकै घरमा पनि कसरी रात काट्ने भन्ने समस्या थियो । म त झप्पै रक्सी खाएर तलतिरै स्लिपिङ ब्यागमा घुस्रिने योजनामा थिएँ । तै नाक थुन्दै कोठामा पुगेपछि राहतका केही सामग्री फेला परे । कोठाभरि लहरै पोस्टर । अरुको सम्झना छैन, करिना कपुरचाहिँ सबैभन्दा लोभलाग्दी थिइन्।

मैले करिनाको ठीक तल खाटैमा झोला फ्याँकिहालेँ । स्तनका कोणहरु चिन्न क्यामरालाई सजिलो परोस् भन्ने उद्देश्यका साथ हल्का घोप्टिएकी । उहिले जमानामा मिनी स्कर्ट आउँदा तहल्का मच्चिएको थियो । निसुंखेमा अरु आधुनिकता नभित्रिए पनि करिनाले भने मिनीभन्दा पनि झन् खतरनाक ‘माइक्रो स्कर्ट’ भित्र्याइदिएकी रहिछन् । त्यो पनि ‘गोडाफार पोजिसन’मा।

त्यस रात झुम्म परेर जसै माथि उक्लेँ, मैले करिनाबाहेक केही हेर्दै हेरिनँ । शौचालय नरहेको त्यस घरमा बच्चाले माथि नै दिसा बसिरहेका थिए । त्यसको गन्ध बेग्लै थियो । त्यहाँमाथि बग्रेल्ती उडुसको टोकाइ । म जतिपटक उठेँ, टर्च बालेर करिनालाई हेरेँ र हेर्‍या हेर्‍यै सुतेँ।
….

अब फेरि आउनुस् पश्चिम नेपालको म्याग्दीतिरै । यहाँ पनि ठीक त्यही अवस्था । भित्ताभरि टाँसिएका पोस्टर।

यसरी ट्रेकिङमा हिँडेको बेला जब जब म यी पोस्टरहरु देख्छु, मेरा सामुन्ने सिंगो पहाडी भेगको समाजशास्त्र पल्टिन थाल्छ । केही नभएको ठाउँमा पोस्टर जाबोले पनि कति काम गरिरहेको हुन्छ । डाँडालाई जताततै तछारेर मौसमी मोटर सडक खनिएका, मोबाइल चलाउनका निम्ति स्क्रिनमा नेटवर्कको संकेत पर्खेर बस्नुपर्ने र चिनियाँ सोलारले धिपधिपे बत्ती बालिरहेका।

केही अघिसम्म पनि गाउँ गाउँ पुगेका वस्तुमध्ये रक्सी, बियर, चाउचाउ, खैनी र पराग मात्र देखिन्थ्यो । हिजोआज अर्को थपिएको छ, रिचार्ज कार्ड । गाई बाँधेको टहराको माथि पनि एउटा सूचना ठोकिएको हुन्छ, ‘यहाँ रिचार्ज कार्ड पाइन्छ।’

गोठाला गएकाहरु मोबाइलमा जिस्किरहेको दृश्य हिजोआज आम भइसकेको छ। सडक र सञ्चारले विश्वसँग जोड्न खोजिरहेको यहाँका युवा पुस्ता यस्तोमा कसरी आफूलाई ‘अपडेट’ गरुन्?

विष्णु होटलका साहुनी मन्सरा भण्डारीका अनुसार उनका तीन छोरी र एक छोरामध्ये सदरमुकाम बेनी बसेर पढ्नेले यस्ता पोस्टर ल्याउने गरेका छन्। हिन्दी चलचित्रका स्टारहरुलाई विविधतामा फैलनुपर्ने एक किसिमको रमाइलो बाध्यता छ । एकातिर उनीहरु ‘ग्लेज्ड म्यागाजिन’का पानामा लस एन्जलसकै स्टारहरुको हाराहारी उभिन खोज्छन् भने अर्कातर्फ यस्ता पोस्टरहरु जहाँ नितान्त ग्रामीण परिक्षाबाट पनि उनीहरु गुज्रनै पर्छ । चट्किला पोशाक अनि पक्का ‘राजाबाबु’ हाउभाउमा।

तस्बिर खिँच्दा भलै पृष्ठभूमिको भाग स्पष्टै पोस्टर टाँसिएको देखियोस्, तर स्विट्जरल्यान्डतिरकै दृश्य चाहिन्छ । फोटो खिच्दा ध्यान नगए के भो ? फोटोसपको सहायताले अस्वाभाविक आकारमा भए पनि एउटा गितार र मोटरसाइकल छेउमा टाँसिनैपर्ने।

जे होस्, गाउँ यसैगरी रमाएको छ र रमाउने गरेका छौं हामीजस्ता यदाकदा पुग्ने यात्रीहरु पनि।

फलियागाउँको बेलुकी जसै हामी भान्छातिर लम्क्यौं, त्यहाँ अर्को पोस्टरले फेरि झसंग पार्‍यो ।

पोस्टरमा एकातिर दुबई, कतार, मलेसिया र बम्बईजस्ता सहरका ‘ल्यान्डमार्क’ सहित अजंगका घर छन् । बीचमा डुब्न लागेको रातो सूर्यलाई छेक्नेगरी उडिरहेको विमान । अनि अर्को कुनामा घोप्टो परेर कसैको यादमा विलौना गरिरहेकी महिलाको दृश्य । महिलाको वरिपरी फूलैफूलको बगैँचा देखिन्छ।

यसरी चिटिक्क सजिएको पोस्टरको माथिल्लो भागमा लेखिएको छ, ‘तुम कब आओगे?’

सुरुमा त आँट भएन । अलिबेरपछि साहुनी मन्सरा भण्डारीलाई जिज्ञासा राखेँ।

‘मेरा श्रीमान् हरि भण्डारी कमाउन साउदी अरब जानुभएको छ,’ उनी भनिरहेकी थिइन्, ‘छोरीहरुले बजारबाटै ल्याइदिएको यो पोस्टर चाहिँ म काम गरिरहने भान्छामै टाँसिदिएका हुन्।’

चुलोमा चिसो दाउरा कोच्दै फुकिरहेको बेला अनुहारमा हल्का लज्जा र मुस्कान दुवै देखिन्थ्यो।

– See more at: http://setopati.com/samaj/2383/#sthash.OFLquKms.dpuf

कमेन्टहरु
Loading...